काठमाडौं । कोकाकोलाले महिला सशक्तीकरण र लैंगिक समानता सम्बन्धी धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलतापश्चात कोकाकोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीलाई १ दिने तालिममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीपहरू सिकाइ सुदृढ एवं सशक्त गर्ने उद्देश्यले सक्षम २.० को शुरूआत गरिएको कोकाकोला कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरूको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो । कार्यक्रममार्फत १००० भन्दा बढी महिला व्यवसायीहरूले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसाय सम्बन्धी चुनौती र अवसरहरू पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए ।
प्रगतिशील समाजको निर्माणका लागि महिलाहरू नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरूले यस्ता किसिमका व्यवसाय सञ्चालन गर्दै पनि आइरहेका छन् भन्ने चेतनामूलक सन्देश दिनको लागि सक्षम २.० ल्याइएको हो । जुन यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको थिम ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी’लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धी क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोकाकोला कम्पनीले जनाएको छ ।
यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायीलाई आफ्नो व्यावसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरूको व्यावसायिक क्षमता निर्माण गर्न कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
सक्षम २.० बारे बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले भने, ‘सक्षम कार्यक्रममार्फत हामी किराना पसल र साना खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरूको सीप विकास र क्षमता अभिवृद्धिमार्फत उनीहरूलाई सशक्तीकरण र सुदृढीकरण गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । धेरै जना महिला व्यवसायीहरू हुनुहुन्छ, जसले आफ्नै लगानीमा व्यवसायको शुरूआत मात्र गर्नुभएको छैन, त्यसलाई राम्रोसँग सञ्चालन गर्दै विस्तार पनि गर्न सफल हुनुभएको छ । हाम्रो प्रशिक्षणले उहाँहरूलाई अझै सुदृढ र सक्षम बनाउनेछ भन्ने हामीले आशा लिएका छौं । साथै म आशा गर्दछु कि सक्षम २.० का सबै सहभागीहरूले उपलब्ध स्रोत र सञ्जालहरूको अधिकतम उपयोग गर्नुहुनेछ ।’
वि.सं.२०७९ फागुन २५ बिहीवार ०८:११ मा प्रकाशित




























