back

डडेल्धुरा, देउवा र ठगिएका जनता

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

3K 

shares

लखर-लखर डुल्ने क्रममा हालै म फेरि एक पटक डडेल्धुरा पुगेँ। पहिलो पटक डडेल्धुरा यात्रा गरेको पनि झन्डै दुई दशक भन्दा बढि भइसकेछ। डडेल्धुरा पुग्दै गर्दा स्वाभाविक रूपमा शेरबहादुर देउवाको अनुहार सम्झनामा आउँछ, जसरी झापा जाँदा खड्ग प्रसाद शर्मा ओली झल्किन्छन्। बालुवाटारबाट बाल-बाल ज्यान जोगाएर सैनिक हेलिकोप्टरबाट भगाइएका ओली र बुढानिलकण्ठबाट ‘जेन-जी’ ले गल्हत्याउँदै अपमानपूर्वक निकालिएका देउवा। यी दुई नेता, देउवा र ओली, नेपाली राष्ट्रिय राजनीतिका अत्यन्त चतुर खेलाडी हुन्। काङ्ग्रेस र एमालेका एकाधिकार जस्तै प्रभाव जमाएका नेता। आफ्नै बलियो व्यक्तिगत निर्वाचन क्षेत्र भएका। देउवा डडेल्धुरा-१ मा, ओली झापा-५ मा। लामो समयदेखि संसदिय राजनीतिमा कलाकारिता देखाउँदै आए पनि आफ्नै स्थायी निर्वाचन क्षेत्र बनाइराख्न नसक्ने नेता हुन्- प्रचण्ड । ‘चलायमान’ चरित्रले उनलाई एउटै ठाउँमा उमेदवार हुन नदिएको होला।

साडे तीन दशकदेखि उनीहरूले आलो-पालो सत्ता चलाएका छन्। भाग-बण्डा, गठबन्धन- जसरी पनि सत्त्ता स्वाद लीइरहने एक सूत्रिय लक्ष अनुसार  उनीहरूले राज्यसत्तामा आफ्नो पहुँच जोगाइरहे। विगत १७ वर्षदेखि माओवादी पनि यही भागबण्डामा गर्वसाथ सहभागी छ। ऐतिहासिक जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी पार्टीले आफ्नो गच्छेअनुसार निरन्तर सत्ता भोग गर्दै आएको छ। अर्थात्, नेपालमा सत्ताको घेरा धेरै वर्षदेखि तीन शक्तिहरूमै घुमिरहेको छ- कांग्रेस, एमाले र माओवादी।

डडेल्धुरा जस्तो तुलनात्मक रूपमा बिकट र विकासको अवसर कम पुगेको ठाउँमा जन्मे–हुर्किएका शेरबहादुर देउवाको राजनीतिक पृष्ठभूमि जुझारु छ। उनको यात्रा नेपाल विद्यार्थी संघको अध्यक्षबाट सुरु हुन्छ। त्यसपछि उनले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेले। देउवा जेल बसेर मात्र नेता बनेका होइनन्; उनी संघर्ष र संगठन हुँदै नेतृत्वमा उभिएका व्यक्ति हुन्।

आठ दशक बढि उमेरका देउवा “पुरानो पुस्ता” र “परम्परागत नेताका प्रतिनिधि” मानिन्छन्। आसन्न फाल्गुणमा हुने भनिएको चुनावमा उनी फेरि “अन्तिम पटक उमेद्धवार” हुने रहरमा छन्। उनको यो “अन्तिम रहर” पनि पूरा हुनेछ। डडेल्धुरा-१ का मतदाताहरूले फेरि देउवा दाइलाई मत दिएर आफूलाई गौरवान्वित हुने अवसर पाउनेछन।

आज भन्दा ३४ वर्षअघि नै उनी शक्तिसाली मन्त्री भइसकेका थिए र करिब ३० वर्षअघि पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको जन्म जिल्ला डडेल्धुरा- जसले उनलाई लगातार सात पटकसम्म सांसद जिताएको जनसमर्थन दियो। यही जनादेशले उनलाई पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्ने अवसर दिलायो। साढे तीन दशकदेखि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका शेरबहादुर देउवाको जन्म जिल्ला डडेल्धुरा कति विकसित छ भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठ्छ। शक्ति र स्रोतमा बलियो पकड भएका नेताको जन्मस्थलले अपेक्षाकृत तीव्र विकास पाउनु पर्ने सामान्य बुझाइ छ। तर यो बुझाइ व्यवहारमा कती अनुवाद भएको छ?

देउवाले आफु जन्मे–हुर्केको भूभाग, जसले बारम्बार उनको ‘रहर’ पुरा गरेर निर्वाचित गराई सत्ता दिलाएको छ, त्यहाँका जनतालाई वास्तविक रूपमा कस्तो प्रतिफल प्रदान गरे? वर्षौँसम्मका चुनावी आश्वासन, भौतिक संरचना निर्माण, शिक्षा–स्वास्थ्यमा लगानी, सडक सञ्जाल, रोजगारीका अवसर- यी सबै सूचकले कस्तो अवस्था देखाउँछन्? के डडेल्धुरा साच्चिकै “नमुना जिल्ला” बन्न सफल भयो? विकासका सूचकाङ्क, सेवा–प्रवाह, प्रशासनिक पहुँच, र स्थानीय नागरिकको जीवनस्तरले के भन्छन्? यसका अतिरिक्त, राष्ट्रिय तहमा बलियो राजनीतिक हैसियत भएको नेताले आफ्नो निर्वाचन क्षेत्रको दीर्घकालीन रूपान्तरणमा कस्तो प्रभाव पार्छ? के शक्तिशाली नेतृत्व स्वतः प्रभावकारी विकासको ग्यारेन्टी हो? यि र यस्तै प्रश्नहरुको सेरोफेरोमा थोरै चर्चा गरौ।

जनता सोझा छन्। धर्ममा विश्वास गर्छन्। कसैको सित्तैमा खान मन पराउँदैनन्। तर भोटको राजनीति सरल छ- कसम खुवाएर भात खुवाएपछी उनीहरू त्यो व्यक्ति वा पार्टीलाई नै भोट हालिदिन्छन्। यसैलाई नेताहरूले ‘प्रतिवद्धता’ भनेर उपयोग गर्छन्।

हुन त हलेदो भनेर चिनिसकेपछी त्यसलाई कोट्याउनु पर्दैन। देउवा दम्पतिले चुनावी अभियानमै एउटा रोचक उर्दी गरेका थिए-“हेलिकप्टर लिएर डडेल्धुरा आउन सक्ने हैसियत भएकालाई भोट दिनु।” यसको स्पष्ट संकेत के थियो? उनीहरूका अनुसार आर्थिक हैसियत बलियो भएको व्यक्तिले मात्र जनप्रतिनिधि बन्ने योग्यता राख्छ। अर्थात्, नेतृत्वको मापदण्ड ‘सेवा क्षमता’ नभई ‘धन–सम्पत्ति’ नै हो भन्ने बुझाइ झल्किन्छ। जेन–जी आन्दोलनमा जलेको नगद र नष्ट भएका अमूल्य खर–खजाना हेर्दा उनिहरुको मापडण्ड र योग्यता पुरा भएको प्रष्ट देखियो।

अमरगढी नगरपालिका (डडेल्धुराको सदरमुकाम र देउवाको निर्वाचन क्षेत्रभित्र पर्ने केन्द्रिय पालिका) को प्रोफाइल अनुसार ४–१४ वर्ष उमेर समूहको जनसंख्या ५०% छ। यसले के देखाउँछ? अत्यधिक उच्च जन्मदर। काम गर्ने उमेरका मानिसको कमी। निर्भरता अनुपात असामान्य रूपमा उच्च। यस्तो उमेर संरचनाले दिगो आर्थिक योजना लगभग असम्भव बनाउँछ। शिक्षा, स्वास्थ्य, पोषण र आधारभूत सेवामा ठूलो लगानी नगरेसम्म यो बाल-बहुल संरचना पछि गएर भारी बोझ बन्छ। डडेलधुराको विगत र वर्तमान मात्रै होईन भविष्यपनी निरासाजनक देखिन्छ।

कुरा यतिमै सीमित छैन। झन् विचलित पार्ने तथ्याङ्क जीवन औसत आयु हो। जिल्लाको अन्य स्थानभन्दा सेवा-सुविधा सहजै उपलब्ध हुने मानिने सदरमुकाममै करिब ९१% मानिस ६१औँ जन्मदिन मनाउन नपाउँदै मृत्यु हुन्छन्। त्यस्तै, ७० वर्ष वा माथि बाँच्ने जनसंख्या जम्मा ४.१३% मात्र छ। अर्थात, करिब ९५.८७% मानिस ७० वर्ष नपुग्दै जीवन गुमाउँछन्। यसले एउटा कटु तस्वीर देखाउँछ- शेरबहादुर देउवाको उमेर समूह (८०+ वर्ष) स्थानीय जनसंख्याको सम्भवतः १% भन्दा पनि कम हुन सक्छ। अर्थात, १% ले ९९% उमेर समूहको प्रतिनिधित्व गरिरहेको विसंगत अवस्था बनेको छ। यो केवल जनसांख्यिक तथ्य होइन। यो बिसौँ वर्ष सत्तामा बसेर पनि जनताको जीवनस्तर सुधार गर्न नसकेको असफल राजनीतिक नेतृत्वको बैरागलाग्दो जिवित उदाहरण हो।

विकास र निर्माणमा पछि परे पनि अमरगढी पारिवारिक संख्याका हिसाबले भने “धनी” देखिन्छ। यहाँ अझै २८% घरधुरीमा परिवार संख्या ६ वा सोभन्दा धेरै छ। कुल घरधुरीमध्ये ३५.३०% ले अझै कच्ची घरमै जीवन बिताइरहेका छन्। यति धेरै कच्ची संरचना हुनु आफैँमा विकासको कहालीलाग्दो सूचक हो। त्यति मात्र होइन, ३६.९७% जनता बेरोजगार छन्। यसले श्रम बजारको कमजोरी मात्र होइन- स्थानीय अर्थतन्त्रको जरा नै खोलेर देखाउँछ। यस्तो अवस्थाले चुनावको गणित पनि फेरिन्छ। बेरोजगारको भोटले मात्र पनि चुनाव जित्न सकिने यथार्थ झल्किन्छ। यो परिस्थिति कुनै संयोग होइन- नियोजित जस्तो देखिन्छ। किनकि बेरोजगारलाई एक छाक खाना, सानो सहयोग, वा चुनावी वाचा देखाएर सजिलै मतमा रूपान्तरण गर्न सकिन्छ। अनि यिनै असहाय अवस्थालाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्ने संस्कृतिले दशकौँ देखि जरा गाडेर बसेको छ।

भन्न त देउवा राष्ट्रिय राजनीतिका ठूला खेलाडी हुन्। उनले आफ्नो जिल्ला मात्र हेर्ने सानो सोच राख्दैनन् भन्ने तर्क पनि गर्न सकिन्छ। यही आधारमा धेरैले उनलाई ‘महान’ नेताको दर्जा दिन खोज्छन्। तर प्रश्न हो – आफ्नै क्षेत्रका जनताको चिसो चुलो, नाङ्गो शरीर, रोग-व्यथाले थिचिएको जीवन र बिपन्नताले चिथोरिएको अवस्था सुधार्न नसक्ने, वा सुधार्न नचाहने नेता कसरी ‘राष्ट्रिय नेता’ कहलिन सक्छ? यहीँ झल्किन्छ राष्ट्रिय नेताको वास्तविक खोक्रोपन।

जनता सोझा छन्। धर्ममा विश्वास गर्छन्। कसैको सित्तैमा खान मन पराउँदैनन्। तर भोटको राजनीति सरल छ- कसम खुवाएर भात खुवाएपछी उनीहरू त्यो व्यक्ति वा पार्टीलाई नै भोट हालिदिन्छन्। यसैलाई नेताहरूले ‘प्रतिवद्धता’ भनेर उपयोग गर्छन्। अमरगढीमा सरकारी र निजी गरेर जम्मा ११ विद्यालय छन्। तर सार्वजनिक मठ-मन्दिरको संख्या ५७ छ। धार्मिक संरचनाको यो घनत्वले शिक्षा र चेतनामा भएको कमी झनै स्पस्ट देखाउँछ। जनताको विपन्नता, शिक्षाको कमी, र अवसरको अभाव, यी सबै नेताहरूका लागि राजनीति गर्ने औजार बनेका छन्। विपन्न जनसमूहलाई मद्दत, राहत, भजन-भक्ति वा भोजनका आधारमा ‘प्रभाव’ राख्न सजिलो हुन्छ। देउवा जस्ता राजनीतिका पुराना खेलाडिले यसको भरपुर उपयोग गरेकाछन।

सम्पन्नता- विपन्नता तथ्यांक अनुसार ८०.६६% जनताको अवस्था कमजोर वा अत्यन्त कमजोर छ। यी तथ्यांक केही पुरानो भए पनि, बीचमा कुनै ठूलो चमत्कार नभएकाले स्थिति धेरै नबदलिएको अनुमान गर्न सकिन्छ। अर्थात, बहुमत नागरिक अहिले पनि आर्थिक, शैक्षिक र सामाजिक रूपमा कमजोर श्रेणीमै अड्किरहेका छन्।

यी त केही तथ्यांक मात्र हुन्। म केही हिमाली जिल्लाहरू बाहेक नेपालका अधिकांश जिल्ला सदरमुकाममा पुगेको छु। भौतिक पूर्वाधार र विकासको हिसाबले अन्य जिल्लाहरूमा देखिने प्रगतिलाई तुलना गर्दा, अमरगढी आज पनि हिजोको अवस्थामा जस्तै देखिन्छ। यो स्थान एक प्रकारको पुरातात्विक अवशेष जस्तो देखिन्छ। यहाँ “हिजोको अवस्था” भन्नुको तात्पर्य तुलनात्मक रूपमा हो। सडक, ढल, बिजुलीका तार, फोहोर व्यवस्थापन, अव्यवस्थित बसोबास यी सबै पूर्वाधारले २० वर्षअघि जस्तै अवस्था देखाउँछन्। पूर्वतिर कम्तीमा भ्यु टावरहरु देखिन्छन। तर डडेल्धुरामा बिकास भएको भनिएको निजी घरहरु र आयातित पेय पदार्थ हुन।

पाँच पटक देशको प्रधानमन्त्री र सात पटक जनप्रतिनिधि निर्वाचित भइसकेका नेता शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा राजनीति र नेतृत्वप्रति गहिरो निराशा र घृणा उत्पन्न हुन्छ। डडेल्धुराका जनताको अवस्था र भौतिक पूर्वाधारको अवलोकनबाट गरिबी र पछौटेपनलाई नेताहरूले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि कसरी हतियार बनाउँछन् भन्ने प्रष्ट देख्न सकिन्छ। यसको सबैभन्दा जीवित उदाहरण भनेको डडेल्धुरा र त्यहाँका ‘नायक’ शेरबहादुर देउवा हुन्।

भन्न त देउवा राष्ट्रिय राजनीतिका ठूला खेलाडी हुन्। उनले आफ्नो जिल्ला मात्र हेर्ने सानो सोच राख्दैनन् भन्ने तर्क पनि गर्न सकिन्छ। यही आधारमा धेरैले उनलाई ‘महान’ नेताको दर्जा दिन खोज्छन्। तर प्रश्न हो – आफ्नै क्षेत्रका जनताको चिसो चुलो, नाङ्गो शरीर, रोग-व्यथाले थिचिएको जीवन र बिपन्नताले चिथोरिएको अवस्था सुधार्न नसक्ने, वा सुधार्न नचाहने नेता कसरी ‘राष्ट्रिय नेता’ कहलिन सक्छ? यहीँ झल्किन्छ राष्ट्रिय नेताको वास्तविक खोक्रोपन।

बिगत ३४ वर्षमा पाँचौँ पटक प्रधानमन्त्री हुँदा पनि देउवाले गर्न नसकेका जनताका काम अहिले अचानक हुनेवाला छैन। उमेरले ८० वर्ष नाघिसकेका, ‘जेन-जी’ ले भौर्तिकरुपमै गिजोलिएका, सम्पत्तिको केही भाग गुमाएको पीडा बोकेर एक वा अर्को पार्टीको टेको बनिरहने देउवा जस्तालाई नेता मानिरहने हामी जनताहरूको चेत कहिले आउला?

नेताहरू जनतालाई दास बनाउन सबैभन्दा पहिले उनीहरूको अभाव, निराशा र कठिनाइलाई राजनीतिक पूँजी बनाउँछन्। रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा जानाजान कमजोरी छाडिन्छ ताकि जनता सधैं नेताको ढोका ढकढकाउन बाध्य बनून्। विकास होइन राहत र अनुदान भुलाउदछन। क्षणिक सहानुभूति बेचेर “हामी नभए तिमीहरू चल्दैनौ” भन्ने निर्भर मानसिकता जन्माउदछन। जात, क्षेत्र, धर्म र पार्टीगत भावनालाई उचालेर जनतालाई टुक्र्याइन्छ, ताकि उनीहरू संगठित भएर प्रश्न गर्न नै नसकुन।

सूचना र प्रचारलाई नियन्त्रण गरिन्छ। असफलता लुकाइन्छ र जनतालाई भ्रम, आधा-सत्य वा असत्यमा बाँच्न बाध्य पारिन्छ। चुनाव आउँदा फेरि मासु-भात, रागा, खसीजस्ता सस्ता चमक-दमक देखाएर पाँच वर्षको म्यान्डेट किनिन्छ। सबैभन्दा ठूलो कुरा, चेतना बढाउने र नागरिकलाई जागरूक बनाउने काम कहिल्यै गरिँदैन। किनकि चेतनशील जनता दास बन्ने होइन; प्रश्न गर्ने बन्छ। यही कारणले नेतृत्वले जनतालाई कमजोर, निर्भर र मौन राख्न खोज्छ। यही मौनतामै उनीहरूको सत्ता सुरक्षित रहन्छ। दडेल्धुरामा यी र यस्तै हठकण्डाहरुको कुशलतापुर्वक प्रयोग भएको देखिन्छ।

अन्ततः, विकल्प दुईवटा मात्रै छन्- चालबाजी, छलछाम र असफल नेतृत्वको दास बन्ने कि चेतनाले प्रश्न गर्ने? स्वाभिमानी र सक्षम प्रतिनिधि रोज्ने कि फेरि उही भर्ममा रमाइरहने? रोजाई जनताको हो।

 

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:२० मा प्रकाशित

Himalayan Life AD
स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

कर्मचारी भनेको राज्यको नीतिगत निर्णयलाई व्यवहारमा उतार्ने, संविधान र कानुनको...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...