हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र हो सोलुखुम्बु जिल्लाको नेचासल्यान ।चिसापानी पोखरी, फुर्के पोखरी, पंचमी डाँडा र स्थानीय मठ-मन्दिर तथा साँस्कृतिक स्थलहरूले यस क्षेत्रलाई आन्तरिक पर्यटन, पदयात्रा र प्राकृतिक अवलोकनका लागि आकर्षक स्थलका रूपमा चिनाएका छन्। जसरी चिसापानी पोखरी, फुर्के पोखरी, पंचमी डाँडाले यस क्षेत्रलाई साँस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनाएका छन त्यसैगरी त्यहाँ अवस्थित शहीद कुसुम स्मृति प्रतिष्ठानले यस क्षेत्रलाई शहीद भुमिका रूपमा पहिचान दिएको छ।
शहीद कुसुम स्मृति प्रतिष्ठान नेपाल
तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) ले अढाइ सय बर्षदेखि शासन सञ्चालन गरिआएको सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी, समतामूलक समाजको निर्माण गर्ने उद्धेश्य सहित शुरू गरेको महान जनयुद्दको क्रममा उच्च साहादात प्राप्त गर्नुभएका त्यस क्षेत्रका लोकप्रिय र प्रतिभावान व्यक्तित्व भरत कुमार राउतको स्मृतिमा स्थापना भएको प्रतिष्ठान हो- शहीद कुसुम स्मृति प्रतिष्ठान नेपाल।संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा २०७२/०८/१५ गते ४८१ नं. मा दर्ता भएको यस प्रतिष्ठानले स्थापनाको छोटो समय अर्थात २०७२/०९/२२ गते नै ४२५८८ नं. बाट समाज कल्याण परिषदमा आवद्धता जनायो।साविक नेचाबेतधारी-२ राउतगाउँ, हालको नेचासल्यान गाउँपालिका वडा नं. ३ सोलुखुम्वुमा यस प्रतिष्ठानको केन्द्रीय कार्यालय रहेको छ।हाल प्रतिष्ठानमा मानार्थ सदस्य, सल्लाहकार सदस्य, यशस्कर सदस्य, संरक्षक सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य र साधारण सदस्य गरी सात किसिमका सदस्यहरू रहेका छन।
प्रतिष्ठानको लक्ष्य तथा उद्धेश्यहरूः
तत्कालीन सामन्ती, निरंकुश राज्यसत्ताका विरूद्ध प्राण उत्सर्ग गरेका महान शहीद भरत कुमार राउत अर्थात क. कुसुमको नाममा स्थापित यस प्रतिष्ठानको उद्धेश्य इतिहासका विभिन्न कालखण्डमा भएका सबै खाले मुक्ति आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान शहीदहरूको त्याग, तपस्या र बलिदानको सम्मान र स्मरण गर्ने रहेको छ।प्रतिष्ठान एक मुनाफारहित संस्था भएकाले जनहित नै यसको उद्धेश्य रहेको छ। जसले शहीद र उनीहरूको परिवारलाई सम्मान गर्ने, शिक्षा र रोजगारीका अवसरहरू उपलब्ध गराउने लक्ष्य लिएको छ।अहिलेको युग सूचना तथा प्रविधिको युग हो त्यसैले प्रतिष्ठानले सूचना तथा सञ्चारको क्षेत्रमा आम नागरिकहरूको सहभागीता खोज्ने र पहुँचमा विस्तार गर्ने लक्ष्य बोकेको छ। प्रतिष्ठानले सबैको लागि शिक्षा र स्वास्थ्य भन्ने नाराका साथ मोवाइल मेडिकम एम्वुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य एवम् उद्धेश्य लिएको छ।जसका लागि सबैबाट यथाशक्य श्रमदान, दान र सहयोगको अपेक्षा पनि राखेको छ।
प्रतिष्ठान मानव अधिकार र मौलिक हकका विषयमा गम्भीर छ। यसले महिला हिंसा, बाल अधिकार, बालशोषण र जनस्वास्थ्यका क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै मानव अधिकार, दिगो शान्ति र न्यायका क्षेत्रमा कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य एवम् उद्धेश्यहरू लिएको पाइन्छ।
प्रतिष्ठानले गरेका केहि महत्वपूर्ण कार्यहरूः
स्थापनाकालदेखि नै प्रतिष्ठानले गाउँदेखि राष्ट्रिय स्तरसम्ममा विभिन्न बहस कार्यक्रमहरू सञ्चालन गरेको कुरा मार्क्सिय गुरूकुल सँग मिलेर आयोजना गरेको “ मार्क्सवाद र एशियाली दर्शन” बहस कार्यक्रमले स्पष्ट गर्छ।स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय जीवनका विख्यात व्यक्तित्वहरू राम कार्की, घनश्याम भुसाल र प्रदिप गिरीको सहभागीतामा वौद्धिक बहस सञ्चालन गर्नुलाई महत्वपूर्ण उपलब्धको रूपमा लिन सकिन्छ। प्रतिष्ठानले आफ्नो लक्ष्य तथा उद्धेश्य हासिल गर्नका लागि शहीदहरूको त्याग, तपस्या र बलिदानीको सम्मान र स्मरण गर्ने, स्मृति दिवस मनाउने, एम्वुलेन्स सेवा सञ्चालन गर्ने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्ने, प्रकाशन सम्बन्धि कार्य गर्ने, विधुतीय संचार माध्यममा आम नागरिकको पहुँच अभिवृद्धि गर्न सामुदायिक रेडियो संचालन गर्ने काम र योजन तय गरेको छ।
प्रतिष्ठानले त्यस क्षेत्रको विकास र पहिचानको क्षेत्रमा काम गर्ने लक्ष्य एवम् उद्धेश्य हासिल गर्ने सन्दर्भमा त्यस क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासका लागि श्रव्य दृश्य, वृतचित्रहरू निर्माण गर्ने, विभिन्न महोत्सव, गोष्ठी, अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ भने मानव अधिकार तथा लैंगिक न्यायलाई आफ्नो लक्ष्य मानेको प्रतिष्ठानले लक्ष्य हासिल गर्नको लागि महिला, जनजाति, दलित, सीमान्तकृत, उत्पीडित, अपाङ्ग, अल्पसंख्यक र पिछडिएको क्षेत्रलाई समाजको मूलधारमा ल्याउन सशक्तिकरण कार्यक्रम एवम् युवा जागरण तथा चेतनामूलक लगायतका कार्यक्रम तय गरेको छ।
प्रतिष्ठानले विगत वर्षहरूबाट विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने नेचासल्यानका अमर शहीदहरूको सम्झना र सम्मानमा स्मृति दिवस मनाउन सुरू गरेको पाइन्छ। प्रतिष्ठानले बैशाख ७ गते शहीद दिपक कामी स्मृति दिवस, बैशाख १७ गते शहीद रोशन (जितेन्द्र राई)स्मृति दिवस, भाद्र ५ गते सोलुखुम्वु जिल्लाकै प्रथम शहीद विनोद(सोमराज पराजुली) स्मृति दिवस, भाद्र २९ गते केदार स्कूल हत्याकाण्डमा शाहादात प्राप्त गर्ने शहीदहरू क्रमश शहीद आस्था (तिलकुमारी गिरी), शहीद रविन(आइकम राई), शहीद क्रान्ति (उर्मिला राई), शहीद अजय (भुपेन्द्र कार्की), शहीद पेम्वा( पेम्वा शेर्पा)स्मृति दिवस, भाद्र २९ गते शहीद कोमल( रमेश कट्टेल), कार्तिक ७ गते शहीद नविन(उत्तर कुमार कार्की), मंसिर ७ गते शहीद कुसुम (भरत कुमार राउत), फाल्गुण २६ गते शहीद युवा(गणेश कुमार राई) स्मृति दिवस मनाउने गरेको छ।यसैगरी प्रतिष्ठानले परिवारसँग तिथिमिति एकिन गरी वि.सं. २०१८ सालमा तत्कालीन पंचायती व्यवस्थाको विरोधमा आन्दोलनमा शाहादात प्राप्त गर्ने शहीद नरनाथ कट्टेलको पनि स्मृति दिवस मनाउने निर्णय गरेको पाइयो।
प्रतिष्ठानको भवनः
शहीद कुसुम स्मृति प्रतिष्ठान नेपाल निर्माणका लागि शहीद भरत कुमार राउतको (क. कुसुम) परिवारले तत्कालीन बजार मुल्य अर्थात २०७२ सालको मूल्यलाई आधार मान्दा दश लाख मूल्य बरावरको नेचाबेतघारी -२ सोलुखुम्वुमा रहेको ६३५ वर्ग मिटर जग्गा उपलब्ध गराएको थियो।ई. रोहित बाँस्तोलासमेतको प्राविधिक टोलीले तयार पारेको आर्टिटेक्च ड्रइङ डिजाइन अनुसार निर्माण कार्य सुरू गरिएको यस प्रतिष्ठान निर्माणका लागि २, १९,६१,७२६/- लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो।
कुल ६३५ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको यस प्रतिष्ठानको पक्कि भवनको २ तला निर्माण सम्पन्न भई सकेको छ भने तेस्रो तला पिल्लर उठाएर राखिएको छ।प्रतिष्ठानको भवन सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू संचालनका लागि जिल्ला भरीकै सुविधा सम्पन्न भवनका रूपमा लिइन्छ।करिव २५० जनालाई एकसाथ सहभागि गराउन सकिने डिस्प्ले वोर्ड, प्रोजेक्टर, साउण्ड सिस्टम सहितको सभा कक्ष, बैठक कक्ष, आवासिय सुविधा, सभा हलमै खाना बनाउन सकिने सुविधा सम्पन्न किचनको व्यवस्था, पार्किङगको सुविधा सहितको यो भवन प्रतिष्ठानको मात्र होइन, सोलुखुम्वु जिल्लाकै सम्पत्ति र पहिचानका रूपमा रहेको छ।
प्रतिष्ठानलाई केही सुझावहरूः
प्रतिष्ठान आफै मुनाफारहित सामाजिक संस्था हो। नेपाल र नेपाली जनताको मुक्तिका लागि जीवन वलिदान गर्ने महान शहीद क. कुसुमको स्मृतिमा स्थापना भएको यस प्रतिष्ठानले शहीदको सपना पुरा गर्नका लागि स्थापनाका लक्ष्य र उद्देश्य अनुरूपका काम र गतिविधिहरू निरन्तर रूपमा जारी राख्नु पर्छ।निर्माणाधिन अवस्थामा नै रहेकोले सरकारी, गैर सरकारी तथा निजि व्यक्तिको साथ र सहयोगमा निर्माण कार्य सम्पन्न गरी प्रतिष्ठानलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकसित गर्नुपर्ने देखिन्छ।प्रतिष्ठानले विभिन्न आन्दोलनमा शाहादात प्राप्त गर्नुहुने सोलुखुम्वुका शहीदहरूको विवरण सहित प्रकाशन गर्ने, नेचासल्यानको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई झल्कने गरी प्रकाशनहरू गर्ने, व्यवस्थित पुस्तकालयको स्थापना गरी प्रतिष्ठानलाई अध्ययन केन्द्रको रूपमा विकसित गर्ने, सोलुखुम्वु जिल्ला र नेचासल्यानको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय विकासका लागि नियमित रूपमा वौद्धिक बहस र विमर्शका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, शहीदहरू केवल इतिहासका पात्र मात्र होइनन्, उनीहरू राष्ट्रका प्रेरणाका स्रोतहरू पनि हुन।उनीहरूले देखाएको साहास, समर्पण र संघर्षको मार्गले वर्तमान र भावी पुस्तालाई देशप्रेम, कर्तव्यनिष्ठा र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउँदछ।शहीदहरू राष्ट्रक अमर दीप हुन, जसको बलिदानीले स्वतन्त्रता, न्याय र समृद्धिको मार्ग बनाइरहन्छ।अपेक्षा गरिएको छ- महान जनयुद्धका महान शहीद कुसुमले देखाएको अग्रगमनको बाटोमा नेपालको राजनीतिक, सामाजिक र लोकतान्त्रिक आन्दोलन सदैव अगाडी बढ्नेछ। अमर शहीद कुसुम लगायत सम्पूर्ण शहीदहरूमा श्रद्धा सुमन।
वि.सं.२०८३ जेठ १६ शनिवार १७:१९ मा प्रकाशित






























