back
CTIZAN AD

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

वि.सं.२०८३ साउन ३० शनिवार

12 

shares

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। काठमाडौंमा शुक्रबार सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष जिश्वा तुलाधर श्रेष्ठ, महासचिव युविका भण्डारी र पूर्वकार्यसमिति सदस्य भरतजंग पाण्डेको नेतृत्वमा तीनवटा प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए। अन्तिम मतपरिणामअनुसार पाण्डेले १८८ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा युविका भण्डारीले १५८ र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। मतदानमा कुल ४५३ मत खसेको थियो।

निर्वाचनमा भरतजंग पाण्डेको समूहले पदाधिकारीका सबै पदमा प्यानलसहित विजय हासिल गरेको छ। कार्यसमिति सदस्यतर्फ पाण्डे समूहबाट पाँच जना र युविका भण्डारी समूहबाट तीन जना निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।

आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमिति सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गरुड, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल रहेका छन्।

निर्वाचन सम्पन्न भएपछि नाट्टाको निर्वाचन समिति तथा प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। त्यसपछि उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

वि.सं.२०८३ साउन ३० शनिवार १७:०० मा प्रकाशित