
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) पनि बजेटको पक्षमा उभिएको छ । बुधबार बसेको जसपाको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न सर्वसम्मत निर्णय गरेको हो ।
जसपाले सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ । जसपाका प्रमुख सचेतक प्रदीप यादवले सबै सांसदलाई बजेटको पक्षमा उभिन ह्वीप लगाइएको जानकारी दिए ।
यसअघि जसपाले बजेट यथास्थितिमा पारित हुन नसक्ने बताएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले नै बजेट विभेदकारी भएको भन्दै यथास्थितिमा पारित गर्न नहुने बताएका थिए ।
संसदमा जसपाका १२ सांसद छन् ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यसअघि नै बजेटको पक्षमा उभिन सांसदहरुलाई ह्वीप जारी गरिसकेका थिए । जसपा पनि बजेटको पक्षमा उभिएसँगै बजेट पारित सहज बनेको छ ।
वि.सं.२०८० असार १३ बुधवार १४:३२ मा प्रकाशित