काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाकाे एकता र फुटबारे नयाँ खुलासा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा लोककृष्ण भट्टराईद्वारा लिखित निर्वासन पुस्तक लोकार्पण कार्यक्रममा सम्मानित अतिथि रहेका प्रचण्डले पशुपतिको होटेलमा साँठगाँठ गरेर ओलीले नेकपा फुटाएको खुलासा गरेका हुन् ।
उनले नेकपा एकता जोगाउने प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन् । ‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पु¥याइदिएका थिए,’ उनले भने, ‘तर टिकेन । प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ, ओलीजीलाई । मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् पनि भनेको थिएँ ।’ प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो । तर, केही दिनमै परिस्थिति उल्टिएको समेत उनले बताए । उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको पनि बताए ।
“म अहिले पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, प्रचण्डले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पनि उनले बताए ।
“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष प्रचण्डले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।” कार्यक्रममा प्रचण्डले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध संघर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए । अध्यक्ष प्रचण्डले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नटिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए । “आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने । सरकार दलाल नोकरशाही पुँजिवादको संक्रमणमा रहेको बताउँदै निजामति बिधेयकमा कुलिंग पिरीयडमा खेल र झेलको प्रसङ्ग बताए ।
कार्यक्रमका अर्का सम्मानीत अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता पुर्व प्रधानमन्त्री झलनाथ खनालले भावनाले मात्रैले कम्युनिष्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताए । “अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, साङ्गठनिक पुनःगठन आवश्यक छ, बलियो कम्युनिष्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छ” ।
उनले चीनसँग सन्तुलन नमिलाई भारतसँग सुपुदर्गी सन्धि गर्न नहुने, कोशि उच्च बाँधमा राष्ट्र हित बिपरीत समझौता हुन दिन नहुने र आमाको नामबाट ४० हजार तिब्बतीयनलाई नेपाली नागरीकता दिने कुरो रोकीनुपर्ने बिषयमा गम्भिर बन्न प्रतिपक्षहरुलाई अपिल गरे ।
एकताका बिषयमा उनले भने ‘कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो । तर भावनाले मात्रै एकता पक्कै हुँदैन । सही विचार नभइकन एकताबद्ध गर्न सकिँदैन । सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हो । माक्र्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो ।’
कार्यक्रममा सम्मानीत अतिथिको रुपमा आमन्त्रीत पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी अस्वस्थताको कारण उपस्थित हुन नसकेका भन्दै उनको सन्देश पढेर सुनाईएको थियो । उनले पुस्तकभित्रका सामाग्रीले सर्वहारावर्गका महान नेताहरु सहित पुष्पलाललाई जीवन्त बनाएकोमा लेखक लोककृक्ष्ण भटराई धन्यवादको पात्र उल्लेख गरकी थिइन् ।
कार्यक्रमका अर्का अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बिचार, निष्ठा र त्यागका बिषयलाई एकताको आधार बनाउन सके एकताको अर्थ हुने बताए । उनले निर्वासन पुस्तक भित्रका सवल र दुर्वल पक्षका सामाग्रीको चर्चा गर्दै लोककृष्ण आफैमा संगठन भएको बताएका थिए ।
यसैगरी पुस्तकमाथि टिप्पणी गर्ने क्रममा नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले घटना र ईतिहासको बस्तुनिष्ठतामा ध्यान दिन जरुरी रहेको बताए भने नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले पुष्पलालका बिषयमा अध्ययन अझै बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा टिप्पणीकार रहेका एमाले नेता कैलाश ढुङ्गेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताएका थिए । उनले ब्यक्तिगत महत्वकांक्षाले पार्टी फुटाउन नहुने बताउदै नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
पुस्तकका टिप्पणीकार प्राध्यापक हेमनाथ पौडेलले पुस्तकमा गहन बिषय भएकाले पाठकहरु लाभदायी हुने जनाएका थिए ।
कार्यक्रममा पुस्तकका लेखक लोककृष्ण भटराइले अहिले पनि कम्युनिष्टहरुको एकता जरुरी रहेको र बाम लोकतान्त्रिक मोर्चा पनि आवश्यक रहेको बताउँदै बाँचुन्जेल यो कर्म गरिहने प्रतिबद्धता जनाए ।
निर्वासन पुस्तकका प्रकाशक तथा कोशेली प्रकाशनका अध्यक्ष आनन्द ध्वजुले प्रेस र छापाखाना, पुष्पलाल र बनारस तथा लेखक र पुस्तकका प्रसङ्गहरु जोडेका थिए । कार्यक्रमको सभापतित्व गरेका बाम चिन्तक हिरन्यलाल श्रेष्ठले पुष्पलाललाई जोडेर प्रकाशनको श्रृखला थपिने बिश्वास ब्यक्त गरे भने स्वागत मंतब्य राख्ने क्रममा बाम नेता देवशंकर पौडेलले बाम एकताका लागी भावनात्मक कुरा समेत महत्वपुर्ण हुने उदाहरणहरु राखे ।
पुष्पलालका कान्छा भाई विजयलाल श्रेष्ठ, बाम नेताहरु अमृत कुमार बोहोरा, गोपी रमण उपाध्याय, पेशल खतिवडा, नारायण शर्मा, आरबी भण्डारी, मुकुन्द आचार्य एकराज भण्डारी, अशोक सुवेदी, कृष्ण आचार्य, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र बिभिन्न राजनैतिक दलका नेता तथा बुद्धिजीवीहरुको ब्यापक उपस्थिति रहेको सो कार्यक्रममा संचालक नीलकण्ठ तिवारीले पुष्पलाल अध्ययन समाज सबै बामहरुको साझा मंचका रुपमा क्रियाशिल रहेको बताएका थिए ।
वि.सं.२०८२ साउन ११ आइतवार १२:३२ मा प्रकाशित




























