
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ऐतिहासिक बनाउन जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । बिहीबार शीतल निवासमा अन्तरिम सरकार र अभियन्ताहरूसँगको छलफलमा उनले भ्रष्टाचार, नातावाद र पक्षपातमुक्त देश निर्माणका लागि यो निर्वाचनलाई महाअभियान बनाउन जोड दिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, युवा आन्दोलनको बलमा नयाँ निर्वाचन घोषणा भएको हो । पौडेलले निर्वाचनलाई राष्ट्रको काँचुली फेर्ने अवसरका रूपमा लिन आग्रह गर्दै असल र इमानदार नेतृत्व चयन गर्न युवाहरूलाई प्रोत्साहन गरे ।
उनले भ्रष्ट र अनैतिक व्यक्तिहरूलाई पराजित गरी सुशासन र न्यायको बाटोमा देश अघि बढाउनुपर्ने बताए । साथै, युवाहरूको विदेश पलायन रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको आग्रहलाई मार्मिक र भावुक भन्दै उनको अनुभव र सङ्घर्षको सम्मान गर्न आग्रह गरिन् । जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध भएको, तर संविधान र लोकतन्त्रविरुद्ध नरहेको स्पष्ट पारे ।
उनीहरूले माग पूरा भएपछि निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापालगायत अभियन्ताहरू सहभागी थिए ।
वि.सं.२०८२ असोज ३१ शुक्रवार ०७:१४ मा प्रकाशित