back

जेन-जी आन्दोलनको प्रभाव: अन्धभक्तको नर्क कि चेतनाको स्वर्ग?

वि.सं.२०८२ असोज २६ आइतवार

3.4K 

shares

संविधान भनेको राष्ट्रको मूल कानुन हो। यो देशको शासन प्रणाली, अधिकार, कर्तव्य र नागरिक-राज्यबीचको सम्बन्ध निर्धारण गर्ने सर्वोच्च दस्तावेज हो। राज्यको संरचना र सञ्चालनको आधारभूत स्तम्भ यही हो। नेपालको संविधान २०७२ हजारौं सहिदहरूको रगतले लेखिएको दस्तावेज हो। यो कुनै लेखकले कल्पना गरेको दन्त्यकथा होइन। कसैको निगाहबाट प्राप्त भएको पनि होईन। यो देशी-विदेशी शक्तिकेन्द्रहरूको संघर्षको मूल सम्झौता हो, जसमा “सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” लेखिएको छ।

संविधान देशको मेरुदण्ड हो। तर, अपसोच! हाम्रो देशको मेरुदण्डलाई बङ्गाउने, कुप्राउने र त्यसै माथि चढेर हुल्ली खेल्ने गर्ने कार्य हुँदै आएको छ। यसलाई सत्ता र शक्ति कब्जा गर्ने औजार बनाइएको छ। पर्दा पछाडिबाट संविधानका मूल्य र सिद्धान्तहरूको बलात्कार गरिएको छ।

अहिले देशमा “नागरिक सरकार” छ। पहिले पनि नेपाली नागरिकता भएका वा नागरिकता लिएका मानिसहरुकै सरकार हुन्थ्यो। नागरिकता त कागजमा हुन्छ, तर मान्छेको मन, मस्तिष्क र चेतनामा नहुन पनि सक्छ। पहिले जसरी पनि चुनाव जितेर वा कृपादृष्टि परेर मन्त्री बन्थे। अहिले आन्दोलनको राप-तापले बनेको “संवैधानिक सरकार” छ। “संवैधानिक” यस अर्थमा कि यो सरकार संविधानकै हुल्ली खेलेर बनेको छ। जेन-जी आन्दोलनका माग संम्बोधन गर्न नमिल्नु यो सरकार संबैधानिक भएको प्रमाण हो। संविधानले त्यसो गर्न दिदैन रे। यो सरकारको फरमान हो। लुटपाट, आगजनी र सरकारी हात हतियार खोस्नेहरुलाई पनि कार्यवाही गर्न मिल्दैन। संविधानमा कार्यवाही गर्नु भनेको छेन रे। संविधानले आफूलाई सरकारमा जान दिने, तर जेन-जीका माग पूरा गर्न नदिने रहेछ! जनताले चिन्दै नचिनेका मानिसहरूले गरेको व्याख्या ! यो यस्तो संवैधानिक सरकार हो जसले आफु संविधानको कुन धारा अनुसार गठन भएको हो त्यो पनि थाहा पाउनु पर्दैन र आन्दोलनको आदेश पनि मान्नु पर्दैन। त्यसैले यो संवैधानिक सरकार हो।

के आन्दोलनको माग चुनाव थियो ? के आन्दोलनको माग कसैलाई मन्त्री वा प्रधानमन्त्री बनाउनु थियो ? के आन्दोलनको माग भ्रष्टाचारिहरुलाई सुरक्षा र संरक्षण गर्नु थियो ? के आन्दोलनको माग दलहरूप्रति अघोषित प्रतिबन्ध लगाउनु थियो ? आन्दोलन वा क्रान्तिको ज्वारभाटा कुनै सिमा तोक्दैन । तर, फेरि सिमा तोकियो, काईते!

देशमा कुशासन थियो। भ्रष्ट र दुष्टहरूले रजाइँ गरेका थिए। जनतालाई रैतिको व्यवहार गर्थे। सरकारी संयन्त्रमा पंन्चायती गाउँ-खर्कका मनोनयनहरू जस्तै हावी भएका थिए। सिन्डिकेट चलाएर ब्रह्मलुट मच्चाएका थिए। सेटिङले देश चलाएका थिए । कुनै कानुनले होइन, कुनै मूल्यले होइन, केवल मिलेमतो, सिफारिस र सौदाबाजीले। यस सेटिङ प्रणालीले देशलाई संस्थागत दुर्बलतामा धकेल्यो। योग्यतालाई पछाडि धकेल्यो, चाकरी र चाप्लुसिले स्थान पायो। यो कुनै व्यक्ति वा दलविशेषको चरित्र मात्र थिएन; सबैको साझा चरित्र थियो र अझै छ। यस दुश्चक्रले सबैलाई बिटुलो बनायो।

जेन-जी आन्दोलनले देशका नीतिकृष्ट, नालायक र भ्रष्टहरूको बहिर्गमनले जनतामा, एकछिनका लागि भए पनि, आशाको झिल्को पलाएको छ। तर नेताको पतनसँगै सिङ्गो पार्टी प्रणालीलाई दोष दिनेहरू पनि कम छैनन्। त्यो भनेको आँप बिग्रिएपछि बोट जलाउने जस्तै हो , मूर्खता हो, बुद्धिमत्ता होइन।

राजनीतिक दलहरू कुनै नेताको अहंकारमा होइन, राजनीतिक दर्शन, आदर्श र सिद्धान्तमा टेकेर बनेका हुन्। नेताहरू बाटो चिप्लिए भनेर दलहरूको औचित्य समाप्त हुँदैन। किनकि अझै पनि देशभर लाखौं इमानदार कार्यकर्ताहरू छन्, जसले राजनीति केवल पेशा होइन, जीवनपद्धति मानेका छन्।

यीमध्ये कतिपयले अझै आफूलाई झोले, हुक्के वा हनुमान बन्न अस्वीकार गरेका छन्। हिजो भैरवनाथ गणको राइफल अगाडि टाउको नझुकाउनेहरू आज पनि आफ्नो आदर्श अगाडि ढल्दैनन्। हवेली र महलमा राजनीतिक सिद्धान्त मर्छ, तर झुपडी र बस्तीमा अझै बाँचिरहेको हुन्छ- धुलोमा, पसिनामा र भोकमा पनि।

यो देश केवल जेन-जी पुस्ताको मात्र होइन। देश कुनै एक पुस्ताको स्वामित्वमा हुँदैन।  यो त समय-समयमा जन्मिने चेतनाको साझा मञ्च हो। आजको जेन-जी पुस्ता एकदमै फरक रूपमा अघि आएको छ। उनीहरू केवल प्रयोगकर्ता होइनन्; व्यवहारका गुरु र नैतिक सल्लाहकार भएर उदाएका छन्।

समस्या नेतामा मात्र होइन नेत्रित्वलाई देवत्वकरण गर्ने झोले र हनुमानहरु, आफ्नो स्वार्थको रोटी सेक्ने चैतेहरु, त्याग, योगदान र बलिदानबाट होईन कृपा र अनुग्रहबाट जिविकोपार्जन गर्नेहरु पनि उत्तिकै जिम्मेवार छन।  तिनले पार्टीलाई पारिवारिक कम्पनी बनाए। केही थान लोग्ने-स्वास्नी, छोरा-बुहारी, साला-भिनाजु, दाइ-भाउजु, संम्धी-ज्वाईं आदिलाई पाखा लगाउन सकिए, बाँकी राजनीति आफैं ठीक हुनेछ। राजनीतिक आदर्श फेरि सफा भएर उठ्नेछ, झुपडीबाट, सडकबाट र जनताको मनबाट।

आफ्नो घर, सम्पत्ति, पार्टी, यहाँसम्म कि आफ्नै ज्यानसमेत जोगाउन नसक्ने पानीमरुवा, हुतिहारा, भ्रष्ट र दुष्टहरूले देश, जनता र पार्टीको रक्षा गर्छन् भनेर अब विश्वास गर्ने कुनै आधार बाँकी छैन।  यिनै अक्षम र नालायक समूहहरूले दशकौंसम्म राष्ट्र र जनताको ढुकुटी रित्तो पारेर आफ्नै ढुकुटी भरिरहेका थिए। बुढानिलकण्ठतिर पुत्ताई रहेको धुवाको मुस्लो त्यसको जिवित प्रमाण हो।

आज ती हवेलीमा बस्ने, लुटको धनमा रत्त्यौली नाच्ने नेताहरूको घोक्रेट्याकको बेला आएको छ। जनताको धैर्य टुटेको छ। दर्शन र वर्गीय पक्षधरता जप्दै जसरी पनि धन, पद र सत्ता कमाउनेहरू अब जनताको अदालतमा उभाउने बेला आएको छ।

जनताले अब प्रश्न सोध्न थालेका छन्- “तिमी आफ्नै घर, पार्टी, निष्ठा र आफ्नै ज्यानसम्म जोगाउन सकेनौ, तिमीले देशको रक्षा कसरी गर्छौ?” तिमीहरूका गफ, भाषण र नाटकले अब कसैको विश्वास जगाउँदैन। देशलाई अब भाषण होइन, इमान चाहिएको छ; नारा होइन, निष्ठा चाहिएको छ। जसले देश र जनता बेचेर हवेली बनायो, उसलाई हवेलीमै थुन्ने समय आएको छ। अब हिसाब-किताब हुनेछ। वर्गीय पक्षधरताको माला जप्नेहरूको मात्र होइन, देशभक्तिको मुखौटा लगाउनेहरुको पनि। त्यो हिसाब-किताब कहिले होइन, यही पुस्ताले गर्छ-जुन पुस्ताले अब डर होइन, सत्य बोल्न सिकिसकेको छ।

जेन-जी आन्दोलनले पार्टीभित्र आत्मपरीक्षण र शुद्धिकरणको दुर्लभ अवसर दिएको छ। यो केवल एक आन्दोलन होइन, राजनीतिक संस्कृतिको पुनर्जागरण हो। असल र खराबबीचको सीमारेखा फेरि स्पष्ट हुन थालेको छ। यो आन्दोलनले राजनीतिक आदर्श र सिद्धान्तलाई फेरि धारिलो बनाउने मौका दिएको छ, ती आदर्शहरू जसले कहिल्यै सत्ताको लोभमा सम्झौता गर्न सिकेनन्।

जेन-जी आन्दोलनले भ्रष्ट र दुष्टहरूलाई रछ्यानमा फाल्ने अवसर दिएको छ। लामो समयदेखि आदर्शका खोल ओढी स्वार्थको व्यापार गर्नेहरू अब जनताको आँखाबाट बच्न सक्दैनन्। जेन-जी पुस्ताले देखाइदिएको छ कि अब राजनीतिमा नाटक होइन, नैतिकता चाहिन्छ; व्यवहारिक इमानदारी चाहिन्छ।

जेन-जीको चेतनाले हरेक कार्यकर्तालाई सन्देश दिएको छ- कुनै व्यक्ति वा समूहको झोले, द्वारे, बैठके र हुक्के बन्न अस्वीकार गर। पार्टीभित्रको निष्ठा व्यक्ति होइन सिद्धान्त र जनताप्रतिको हो।अब समय आएको छ वर्गीय हितका नाममा भएका टुटफुटमा वेल्डिङ्ग गर्ने। राजनीति अब दलालहरूको खेल होइन; यो पुस्ता आफ्नो भविष्य सौदाबाजीमा बेच्न तयार छैन। जेन-जी आन्दोलनले देखाएको दिशामा यदि दलहरूले हिँड्न सके, राजनीति फेरि जनताको हातमा फर्कनेछ। यदि अस्वीकार गरे, इतिहासले तिनलाई त्यहीँ पुरिदिनेछ  जहाँ पुराना सबै स्वार्थी युगहरू अन्त्य भएका छन्।

यो देश केवल जेन-जी पुस्ताको मात्र होइन। देश कुनै एक पुस्ताको स्वामित्वमा हुँदैन।  यो त समय-समयमा जन्मिने चेतनाको साझा मञ्च हो। आजको जेन-जी पुस्ता एकदमै फरक रूपमा अघि आएको छ। उनीहरू केवल प्रयोगकर्ता होइनन्; व्यवहारका गुरु र नैतिक सल्लाहकार भएर उदाएका छन्। उनीहरूले आचरणमा प्रश्न उठाएका छन्, व्यवहारमा खबरदारी गरेका छन्। अहंकारी र भ्रष्टहरूलाई झस्काईदिएका छन। पुरानो शैलीका उरेन्ठेउला बिचौलियाहरू  जसले राजनीतिक र सामाजिक जगत दुवैलाई सौदाबाजीको बजार बनाएका थिए, आज ती जेन-जी पुस्ताका अगाडि बिजोगको प्रतीक बनेका छन्।

जेन-जीले देखाएको सत्य सरल छ- नैतिकता र जिम्मेवारीको । अझै पनि केही मानिसहरू छन् जो पिठाधीश र भजनमण्डलीका अन्धभक्तहरुको भक्त बनेर तिनैलाई मण्डलेश्वर ठानी आरती गर्दैछन।  नर्कतर्फको बाटोमा हिँडिरहेका छन्। उनीहरू अझै पनि आलोचनालाई अपवित्रता ठान्छन् र प्रश्नलाई अपराध मान्छन्।

अब प्रश्न हो -यो देश फेरि पनि पुरानै चक्रमा फर्काउने कि जेन-जी पुस्ताले देखाएको चेतनाको बाटो समात्ने ? उनीहरूले पद होइन, पारदर्शिता मागेका छन्; सत्ता होइन, प्रणाली सुधार मागेका छन्। उनीहरूकै आवाजले राजनीतिक वर्गको कृत्रिम गुम्बज हल्लिएको छ। वर्गीय पक्षधरताको माला जप्नेहरूको मात्र होइन, देशभक्तिको मुखौटा लगाउने सबैको हिसाब-किताब खोजेको छ।

जेन-जी आन्दोलनले बाटो देखाईदिएको छ। अब रोजाइ हामी सबैको हो- फेरि अन्धभक्तको भीडमा हराउने कि चेतनाको स्वर्गमा उठ्ने। दुई मध्ये एक रोज्ने – अन्धभक्तको नर्क कि चेतना र आत्मसम्मानको स्वर्ग।

 

 

 

 

 

 

 

 

 

वि.सं.२०८२ असोज २६ आइतवार ११:२० मा प्रकाशित

Himalayan Life AD
के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

एकै किसिमको स्वाद, गन्ध र स्वरूप भएका मुलामा तात्विक भिन्नता...

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

खाद्य तथा पोषण मानव जीवनको लागि अति महत्वपूर्ण वस्तु हो...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...

बिहारको निर्वाचन र नेपालमा प्रभाव

बिहारको निर्वाचन र नेपालमा प्रभाव

भारतको बिहार राज्य अहिले पुनः एउटा निर्णायक राजनीतिक मोडमा प्रवेश...

यी हुन् गरिबी निवारणका उपायहरु

यी हुन् गरिबी निवारणका उपायहरु

गरिबी एक अर्थराजनीतिक तथा सामाजिक अवधारणा हो जुन सामाजिक–आर्थिक प्रगतिको...

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् । जनयुद्धको...