काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको काठमाडौं–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालन सहज भएको छ। धादिङको बैरेनी बजार क्षेत्रको करिब एक किलोमिटर सडकखण्डबाहेकका स्थानमा सडक दुईतर्फी सञ्चालनमा आएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीदेखि गलौदीसम्म विभिन्न स्थानमा ठूलो मात्रामा लेदो, माटो र ढुंगा थुप्रिएको थियो। सडक अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सडक विभागका टोलीले एक्स्काभेटरलगायत उपकरण प्रयोग गरी सडक सफा गरेका थिए।
सडक विभागका अनुसार बाढीले बैरेनीदेखि गलौदीसम्म करिब १३ किलोमिटर क्षेत्रमा लेदो थुपारेको थियो। त्यसलाई हटाउन ठूलो संख्यामा उपकरण परिचालन गरिएको थियो। लेदो हटाउँदै गएपछि शुक्रबार साँझदेखि यातायात क्रमशः सञ्चालनमा ल्याइएको थियो।
हाल धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकमा मात्र एकतर्फी यातायात सञ्चालन भइरहेको छ। उक्त क्षेत्रमा बाँकी रहेको लेदो तथा माटो हटाउने काम जारी रहेकाले पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गर्न केही समय लाग्ने बताइएको छ।
बाढीका कारण गल्छी, बैरेनी, जहरेखेत, बाँगेमोड, गलौदीलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको थियो। कतिपय स्थानमा सवारीसाधन लामो समय होल्डमा राखिएका थिए भने अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स तथा उद्धारका सवारीलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको थियो।
सडक सञ्चालनमा आए पनि बाढीपछि सडकमा बाँकी रहेको लेदो, क्षतिग्रस्त सडक संरचना र सवारीको चापका कारण यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। विशेषगरी बैरेनी क्षेत्रमा एकतर्फी सञ्चालन भएकाले सवारीको गति नियन्त्रणमा राख्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
यसअघि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति, यात्रु आवागमन तथा धादिङसहित पश्चिमतर्फ जाने यातायातमा ठूलो असर परेको थियो। राजमार्गलाई राजधानीको ‘लाइफलाइन’का रूपमा समेत लिइन्छ।
यद्यपि, भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार रसुवागढीदेखि मलेखुसम्म करिब ४० किलोमिटर सडकमा क्षति पुगेको र ४१ वटा पुल प्रभावित भएका छन्। त्यसैले काठमाडौं–मुग्लिङ सडक सञ्चालनमा आए पनि बाढी प्रभावित जिल्लाका अन्य सडक तथा पुलको पुनःस्थापना चुनौतीपूर्ण देखिएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार ०९:२१ मा प्रकाशित






























