१३ कात्तिक, वेलिङ्टन । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीले बताएका छन् ।
वेलिङ्टनमा संसद्को बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए ।
अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ ।
प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भू–भागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गर्नुभएको छ । गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए । उनले संसदको कारवाहीलाई केही समयका लागि रोकिएको जानकारी दिए । न्यूजिन्यान्डमा प्रत्येक वर्ष १५ हजारसम्म भूकम्पका झट्का अनुभव हुने गर्दछ ।
वि.सं.२०७५ कात्तिक १३ मंगलवार १८:१५ मा प्रकाशित




























