९ पुस, भक्तपुर । औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् ।
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो ।
क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी (एमडिआर) का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो ।
काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरे । दुई सातादेखि ‘क्यानामाइसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए । ललितपुरको भैँसीपाटीबाट उपचारमा आएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए ।
राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ ।
केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करीब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ ।
औषधि अभावले यो क्षयरोग बिग्रिएमा एसडिआर हुने र बिरामीको उपचार असम्भव हुने तथा बिरामीको ज्यानै जानसक्छ । क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रुपमा बिरामीलाई यो औषधि प्रयोग गरिन्छ ।
‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार पिस औषधि मगाए पनि तीन हजार २०० पिस मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गरे । उनले भने, “क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो, यसको सट्टामा केन्द्रले ‘एमिक्यासिन’ नामक औषधि मगाएका छौँ , भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौँ ।”
उनले ‘क्यानामाइसिल’ले बिरामीमा राम्रो काम नगरेपछि अर्को औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने बिरामीलाई ‘एमिक्यासिन’ नामक औषधि दिने बताए । औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउँदै उनले कुनै पनि बिरामी औषधिबाट वञ्चित नभएको दाबी गरे ।
तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ । सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ ।
यो औषधि नेपालका औषधि पसलमा नपाइने भएकाले बाहिर किनेरसमेत प्रयोग गर्न नपाएको बिरामीको गुनासो छ ।
वि.सं.२०७६ पुस ९ बुधवार १४:३१ मा प्रकाशित






























