१९ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा शिक्षक फ्रयाक्सनका इन्चार्ज मणि थापाले ३० वर्ष पढाएका शिक्षकहरु रित्तो हातमा हुनुपर्ने र ५ वर्ष पनि राजनीतिमा नलागेकाहरु मालामाल भैरहेको बताएका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनद्धारा शनिबार आयोजित बनभोज कार्यक्रममा राजनीतिमा विकृत पुँजीवाद हावी भएको बताउँदै यसलाई बदल्न पनि शिक्षकहरुको थप सक्रियता जरुरी रहेको उनले बताएका छन् । श्रोत साधन लुट्नकै लागि राजनीतिको प्रयोग गरिएको कारण विचलनहरु देखा परेको समेत उनले बताएका छन् । राजनीतिलाई निष्ठाको अभ्यास र रुपान्तरणको माध्यम बनाउन विचारले लैस शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै थापाले समाजवादी अभियानका संवाहकका रुपमा लाग्न शिक्षकहरुलाई अनुरोध गरेका छन् । शिक्षकका समस्या जहाँको तहि रहेकोमा खिन्नता व्यक्त गर्दै नेता थापाले एकतावद्ध संगठनबाट हल गर्न सकिने धारणा समेत राखेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले प्रहरी, प्रशासन, सेना र न्यायालय पुरानै परम्परामा रहेकाले समाजवादको अधार बन्न कठिनाई भएको बताएका छन् ।

शिक्षकहरुलाई राजनैतिक अधिकार मात्र होइन, क्रान्तिको बाँकी काम गर्नुपर्ने थप अभिभारा रहेको बताउँदै नेता पोखरेलले राष्ट्रियता संकटमा परेको बेला शिक्षकहरु अझ बढी गम्भीर हुनुपर्ने बताएका छन् । एमसीसीमार्फत् अमेरिकी छातामुनि राख्न गरिएको पछिल्लो प्रयासलाई विफल बनाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने पनि उनले बताएका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पेशागत पार्टी जिल्ला इन्चार्ज केशव नेपाल, पेशागत जिल्ला सचिव तथा नेपाल वुद्धिजीवी संगठनका सहसंयोजक कृष्ण केसी, संगठनका अध्यक्ष शंकर अधिकारी, पूर्वअध्यक्ष रत्न बहादुर वली, कुल प्रसाद खतिवडा, निम बहादुर केसी, लगायतका वक्ताहरुले शिक्षकको पेशागत क्षेत्र र राजनैतिक दायित्व बारे धारणा राखेका थिए ।

संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षता, रामकाजी विष्टको स्वागत मन्तव्य र भीम प्रसाद पोखरेलको संचालनमा सम्पन्न सो बनभोज कार्यक्रममा नेपाल वुद्दिजीवी संगठनका निलकण्ठ तिवारी, लक्ष्मि पंडित, भीमसेन गौतम, मनहरि तिमिल्सीना, शिक्षक, नेताहरु पुष्प न्यौपाने, झंक चौलागाई, सर्वराज सिंह, कृष्णकाजी महर्जन, सरस्वती रेग्मी तथा कर्मचारी नेताहरु प्रकाश अवाले, र श्रीहरि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ माघ १९ आइतवार १७:१९ मा प्रकाशित






























