आर.एन.ए.सी को विमान चढेर पटनाबाट काठमाडौँ विमानस्थलमा आइपुग्यौँ । परिवारका सदस्य र जयप्रकाशजी सहित ठूलो सङ्ख्यामा मेरा मित्रहरु विमानस्थलमा हामीलाई बिदाई गर्न आएका थिए । हामीमध्ये धेरैका आँखा रसाएका थिए । म प्रति देखाइएको यत्रो ठूलो स्नेहले मेरो मनलाई साह्रै छोयो । अघिल्लो दिन पटना आइपुगेदेखि नै थुप्रै मित्र र शुभेच्छुकहरु मलाई भेट्न आइरहेका थिए । काठमाडौँ पुगेपछि भविष्य अनिश्चित र चिन्ताजनक हुन्छ भन्ने कुरा थाहा पाएर उनीहरु चिन्तित थिए । सुशीलालाई बितेका धेरै दिनदेखि ठूलो पीडा भइररहेको थियो । उनलाई सजिलै भक्कानो छुट्छ । आफ्नो स्वास्थ्यमा असर नपारिकनै उनी यो कष्ट पार गर्न सकून् भन्ने कामना गर्छु । उनी उच्च रक्तचापबाट नराम्रोसँग पीडित छिन्, जसले उनको मुटुमा समेत केही असर पारिसकेको छ ।
काठमाडौँ विमानस्थल आइपुगेपछि हाम्रो विमानलाई धावनमार्गको टाढाको कुनातिर लगिन्छ । त्यहाँ हामी -जीएम ( गणेशमान सिंह), शैलजा, नीलाम्बर पन्थी, रामबाबु, खुमबहादुर र म लाई ओरालिन्छ । हामीहरुका लागि बनाइएको एउटा पालमा विमानस्थलका औपचारिकताहरु पूरा गरिन्छन् । त्यसपछि हामीलाई छुट्याइन्छ । म र जीएमलाई प्रहरीको जीपबाट सुन्दरीजल शिविर ल्याइन्छ ।
शलैजालाइ अर्को जीपमा लगियो । लगिँदै गर्दा उनले बिदाइको हात हल्लाइन् । अरुहरुलाई एउटा अर्कै जीपमा लगियो । सुन्दरीजल बन्दीगृहमा फेरि आइपुग्यौँ । बन्दीगृहमा नयाँ रंग लगाइएको थियो । यसमा सेतो रंग लगाइएको थियो । हामीलाई सैनिकको जिम्मा लगाइएयो । फेरि उही पुराना रमाइला दिनहरुमा हामी फर्कियौँ । यो वातावरणमा मलाई हलुङ्गो अनुभव हुन्छ । यो कुरा जीएमलाई भन्छु ।
इन्दिरा –गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्यौलपूर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङ्गो भइरहेको छ । हामी नेपाल फर्किएबाट हाम्रा भाबी कदमका बारे रहेको अनिश्चयको अन्त्य भएकोले पनि आनन्द महसूस भएको हो । अब पछाडि फर्कने कुरा छैन् ।
सैनिक र निजामती अधिकृतहरुका साथ एकजना अञ्चलाधीश आउँछ र केही प्रश्नहरु गर्छ । अञ्चालाधीशले नेतृत्व गरेको टोलीमा सैनिक र प्रहरी अधिकृतहरु सामेल गरिनु अनौठो लाग्छ । उनीहरुलाई किन सामेल गरियो ? हाम्रो बयान ( हामीले दिएका जवाफहरु) को टेप रेकर्ड गरिनु अर्को अनौठो कुरा थियो ।
हामीसँग सातवटा जति प्रश्नहरुे गरिए । जवाफ दिनु अघि मैले अञ्चलाधीशलाई मेरो वक्तव्यको एउटा प्रति दिएको थिएँ । आफ्नो नेपाल फिर्ताको उद्धेश्य खुलाइएको त्यो वक्तव्य मैले गोप्य रुपमा छापी वितरण गरेको थिएँ । हामीलाई सोधिएका प्रश्नहरु नेपालको अस्तित्वमाथिको खतराबारे हामीले उठाएका चिन्ताहरु र भारतका खेलका बारे सम्बन्धित थिए । एउटा प्रश्न भारत र चीनसहित विश्वले राजाको शान्तिक्षेत्रको प्रस्तावलाई दिने मान्यताका बारे थियो । अर्को प्रश्न चाँहि भारतमै छोडेर आएका गिरिजाका बारे. थियो— कतै मैले वैकल्पिक कदमका निम्ति गरेको रणनीति त होइन भनेर । अनि अर्को प्रश्न –विमान अपहरण, ३०,००,००० -तीस लाख रुपैयाँ र ओखलढुङ्गा कारबाहीका बारे थियो । सातौँ प्रश्न थियो— के मेरो आगमनले नेपाललाई खतरा पुग्दैन भन्ने । मैले भने हामी देशको हितका निम्ति राजनीतिक समझदारी कायम गर्न राजासमक्ष आफूहरुलाई प्रस्तुत गरेर आएका हौँ । अहिले पुरानो कुरा कोट्याउने र ए-अर्कालाई आरोप लगाउने बेला होइन ।
उनीहरुले हामीसँग राम्रै व्यवहार गरिरेहेका छन् । अहिले साह्रै जाडो छ । म आठ बजेतिर सुत्न गएँ । तर राम्रोसँग निदाउन सकिनँ । शैलजालाई पनि राम्रै व्यवहार गरिएको होला भन्ने आशा गर्छु । उनी कुनै कारागारमा एक्लै छिन् । मैले अञ्चलाधीशसँग उनको बारेमा सोधेँ । उनको राम्रो हेरविचार गरिएको र मैले चिन्ता लिनुपर्दैन भनेर मलाई जवाफ दिए ।
क्याम्पमा हाम्रो बन्दोबस्त भइसकेपछि र अञ्चलाधीश गइसकेपछि आफूलाई विमानस्थलको (सुरक्षा) प्रमुख डी.एस्.पी. भनेर चिनाउँदै एकजना भीमकाय मानिस आधा दर्जनजति हठ्ठाकठ्ठा केटाहरुका साथ आउँछ । डी.एस्.पी. अग्लो र केही मोटो थियो । उसका औँलाहरु साना र बलिष्ठ थिए विमानस्थलमा हराएका मेरा पञ्जाहरु पाइएन भन्न ऊ आएको थियो । तर किन छ जना मानिसहरुका साथ ? हामीलाई उनीहरुसँग चिनाउन ?
(प्रस्तुत १६ पुष २०३३ को सामाग्री जगदम्बा प्रकाशनद्धारा २०६३ मा पकाशित र राजेन्द दाहालद्धारा सम्पादीत ‘फेरी सुन्दरीजल’ भन्ने जेल डायरीबाट मेलमीलाप स्मरणका लागी लिइएको हो । )
वि.सं.२०७७ पुस १६ बिहीवार १३:११ मा प्रकाशित





























