नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो आज जनमत निर्माण गर्ने सबैभन्दा प्रभावशाली सार्वजनिक चौतारी बनेको छ। राजनीतिक दल, सरकार, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारण नागरिक सबैको आवाज एकै ठाउँमा मिसिने यो डिजिटल संसारमा एउटा रोचक मनोवैज्ञानिक प्रवृत्ति देखिन्छ। सरकारको आलोचना गर्दै कुनै पोस्ट लेखियो भने केही मिनेटमै दुई प्रकारका प्रतिक्रिया देखापर्छन्। एकथरीले वर्तमान सरकारलाई असफल प्रमाणित गर्न खोज्छन् भने अर्काथरीले ३५ वर्षसम्म पुराना दलहरूले के गरे ? ! सय दिनमै के गर्न सकिन्छ ? राणा शासनले देशलाई कहाँ पुर्याएको थियो ? २०४ वर्षे राजतन्त्रको विरासत के थियो ? भन्ने तर्क प्रस्तुत भैहाल्छ ।
पहिलो नजरमा यो सामान्य राजनीतिक बहस जस्तो देखिए पनि यसको गहिराइमा नेपाली समाजको मनोविज्ञान, अपेक्षा, निराशा र इतिहासप्रतिको नकारात्मक दृष्टिकोण लुकेको छ। वास्तवमा सामाजिक सञ्जालमा देखिने अधिकांश राजनीतिक विवाद विचारधाराभन्दा बढी मनोवैज्ञानिक अवस्थाको अभिव्यक्ति हो। मानिसको मस्तिष्कको एउटा स्वाभाविक विशेषता भनेको सकारात्मकभन्दा नकारात्मक कुरालाई छिटो ग्रहण गर्नु हो। मनोविज्ञानमा यसलाई “नेगेटिभिटी बायस” भनिन्छ। अर्थात् दसवटा राम्रो काममध्ये एउटा खराब घटना भयो भने मानिसको ध्यान त्यही खराब घटनामा केन्द्रित हुन्छ। यही कारणले एउटा नयाँ सडक बनेको समाचारभन्दा सडकको खाल्डोको तस्वीर बढी भाइरल हुन्छ। हजारौं सेवाग्राहीले सेवा पाएको समाचारभन्दा एउटाले दुःख पाएको भिडियो धेरै मानिसले हेर्छन्।
हिजोको संघर्षको कथा नयाँ पुस्तालाई सुनाऔं। जब हामी इतिहासलाई आत्मसात् गरेर अगाडि बढ्छौं, तब मात्र अनावश्यक महत्वकांक्षा र अराजकता हटाउन सक्छौ। धरातल बनाएर मात्र विदेशजस्तो किन भएन भन्ने प्रश्न बढाउन सक्छौं त्यसले मात्र आत्मविश्वास हाम्रो बढाउछ ।
सामाजिक सञ्जालको एल्गोरिदमले पनि यही मनोविज्ञानलाई अझ बलियो बनाउँछ। आक्रोश, रिस, असन्तोष र विवाद उत्पन्न गर्ने सामग्रीले बढी प्रतिक्रिया पाउँछ। बढी प्रतिक्रिया पाउने सामग्री धेरै मानिससम्म पुग्छ। परिणामतः असन्तोषको आवाज उपलब्धिको आवाजभन्दा धेरै ठूलो सुनिन थाल्छ। यही कारण आज नेपालमा मात्र होइन, विश्वभर सामाजिक सञ्जाल हेर्दा समाज वास्तविकताभन्दा बढी संकटग्रस्त, निराश र असफल देखिन सक्छ। किनकि सकारात्मक अनुभवहरू सामान्य मानिन्छन्, तर नकारात्मक अनुभवहरू विशेष सामग्री बन्छन्।
नेपालको सन्दर्भमा यो मनोविज्ञानलाई राजनीतिक इतिहासले पनि प्रभावित गरेको छ। दशकौंसम्म संघर्ष, आन्दोलन र परिवर्तनको नाराले समाजलाई अगाडि बढाएको थियो। प्रजातन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र अधिकारका लागि भएका आन्दोलनहरूले जनतामा परिवर्तन सम्भव छ भन्ने विश्वास पैदा गरे। तर यही प्रक्रियाले नागरिकको अपेक्षालाई पनि असाधारण रूपमा बढायो । विशेषगरी सशस्त्र द्वन्द्वपछिको नेपालमा “नयाँ नेपाल” भन्ने अवधारणाले मानिसहरूको कल्पनामा तीव्र आशा जन्मायो। धेरैले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धि, रोजगारी, सुशासन र सामाजिक न्याय छिट्टै प्राप्त हुने अपेक्षा गरेका थिए। तर राजनीतिक परिवर्तनको गति र सामाजिक आर्थिक रूपान्तरणको गति समान हुँदैन। संविधान लेख्न सकिन्छ, व्यवस्था परिवर्तन गर्न सकिन्छ, तर अर्थतन्त्र, प्रशासनिक संस्कार र सामाजिक संरचनालाई परिवर्तन गर्न दशकौं लाग्न सक्छ। जब अपेक्षाको गति यथार्थको गतिभन्दा छिटो हुन्छ, त्यहाँ निराशा जन्मिन्छ। आज सामाजिक सञ्जालमा देखिने धेरै असन्तोष यही निराशाको परिणाम हो।
अर्को महत्वपूर्ण पक्ष तुलना गर्ने मनोविज्ञान हो। विगतका पुस्ताले आफ्नो अवस्था अघिल्लो पुस्तासँग तुलना गर्थे। आजको पुस्ताले आफ्नो अवस्था विकसित देशहरूसँग तुलना गर्छ। फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामले संसारका सम्पन्न समाजहरूलाई हाम्रो मोबाइलको स्क्रिनमा ल्याइदिएको छ। जापानको रेल, सिंगापुरको सडक, युरोपको सार्वजनिक सेवा र अमेरिकाको आर्थिक अवसर चीनको तरक्की दैनिक देख्ने मानिसले स्वाभाविक रूपमा आफ्नो देशलाई त्यही मापदण्डमा नाप्न थाल्छ। तुलना विकासका लागि प्रेरणा बन्न सक्छ। तर जब तुलना इतिहास, भूगोल, अर्थतन्त्र र सामाजिक अवस्थाको सन्दर्भबिनै गरिन्छ, तब त्यो प्रेरणाभन्दा बढी निराशाको स्रोत बन्न सक्छ। किनकि मानिसले आफ्नो समाजले हासिल गरेका प्रगतिभन्दा आफूले प्राप्त नगरेका कुरालाई मात्र देख्न थाल्छ।
यही कारण आज सामाजिक सञ्जालमा एउटा रोचक विरोधाभास देखिन्छ। नेपालमा विद्युत् पहुँच, सडक सञ्जाल, सञ्चार सुविधा, शिक्षा, स्वास्थ्य सेवा, महिला सहभागिता, स्थानीय सरकार, समावेशी प्रतिनिधित्व र लोकतान्त्रिक अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। तर सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्न सक्छ कि देशमा केही पनि भएको छैन। यसको कारण तथ्यको अभाव होइन, टाढाको सपना हो। मनोविज्ञानले भन्छ—मानिसले जे कुरामा ध्यान दिन्छ, उसलाई संसार त्यहीजस्तो देखिन्छ। यदि ध्यान केवल समस्यामा केन्द्रित भयो भने संसार समस्याले भरिएको देखिन्छ। यदि ध्यान केवल उपलब्धिमा केन्द्रित भयो भने कमजोरीहरू ओझेलमा पर्छन्। स्वस्थ समाजले यी दुवैलाई सन्तुलनमा राख्नुपर्छ।
यदि विगतका संघर्ष र उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गरियो भने समाज आफ्नो सामूहिक स्मृतिबाट टाढा जान्छ। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, समावेशी प्रतिनिधित्व र नागरिक अधिकारहरू सहज रूपमा प्राप्त भएका होइनन्। तिनका लागि हजारौं मानिसले संघर्ष गरेका थिए। ती उपलब्धिलाई नदेख्नु इतिहासप्रतिको अन्याय हो। तर अर्कोतर्फ, विगतका उपलब्धिको नाममा वर्तमान समस्यालाई बेवास्ता गर्नु पनि उत्तिकै गलत हुन्छ। नागरिकले रोजगारी, सुशासन, गुणस्तरीय सेवा र आर्थिक अवसर खोजिरहेका छन्। इतिहासले मात्र वर्तमानको समस्या समाधान गर्दैन। त्यसैले आलोचना पनि आवश्यक छ।
समस्या आलोचनामा होइन, आलोचनाको स्वरूपमा छ। सामाजिक सञ्जालले तर्कलाई भन्दा प्रतिक्रिया, विश्लेषणलाई भन्दा उत्तेजना र समाधानलाई भन्दा ध्रुवीकरणलाई बढी प्रोत्साहन गर्छ। मानिसहरू आफ्नो विचार मिल्ने समूहभित्र सीमित हुन थाल्छन्। त्यसपछि उनीहरूले सुन्न चाहेको कुरा मात्र सुन्छन् र विश्वास गर्न चाहेको कुरा मात्र विश्वास गर्छन्। यसले समाजलाई तथ्यभन्दा भावनाले चलाउने जोखिम बढाउँछ।
आज नेपाली समाजमा बढ्दो असन्तोषको एउटा कारण वास्तविक समस्या हो भने अर्को कारण असन्तोषको निरन्तर पुनरुत्पादन पनि हो। जब मानिसले दिनभरि सामाजिक सञ्जालमा केवल भ्रष्टाचार, असफलता, संकट र नकारात्मक समाचार मात्र देख्छ, उसले देशलाई वास्तविक अवस्थाभन्दा बढी संकटग्रस्त ठान्न थाल्छ। यसलाई मनोविज्ञानमा “परसेप्सन ग्याप” अर्थात् वास्तविकता र अनुभूतिबीचको दूरी भनिन्छ। यसको अर्थ समस्या छैन भन्ने होइन। समस्या धेरै छन्। तर समस्याको निरन्तर चर्चा मात्र गरेर समाधानतर्फ नजाने संस्कृति पनि समस्या नै हो। यदि समाजले आफ्ना उपलब्धि देख्न छोड्यो भने आत्मविश्वास हराउँछ। यदि कमजोरीहरू देख्न छोड्यो भने सुधारको सम्भावना हराउँछ। त्यसैले आजको आवश्यकता कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा उभिनु मात्र होइन, सामाजिक सञ्जालको मनोविज्ञानलाई बुझ्नु पनि हो। हामी किन निरन्तर असन्तुष्ट भइरहेका छौं ? किन उपलब्धिभन्दा कमजोरी बढी देख्छौं ? किन इतिहासलाई पूर्ण असफलता वा पूर्ण सफलता बनाउने प्रयास गर्छौं ? यी प्रश्नहरू राजनीतिकभन्दा बढी मनोवैज्ञानिक प्रश्न बन्दैछन ।
हाम्रो असन्तोषको कारण न्यायोचित पनि छन । सरकारले गरेको घोटाला, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा देखिएको गुणस्तरको कमी, पलायनको विवशता जस्ता नकारात्मक तथ्यहरूबाट मुख फर्काउन सकिँदैन। गालीले संघर्षको महत्त्व बिर्साउँछ र संघर्ष बिर्सने समाजले कहिल्यै दिगो विकास प्राप्त गर्न सक्दैन।
अन्त्यमा
सामाजिक सञ्जालको टिप्पणी संसारकै सबैभन्दा खुला प्रजातान्त्रिक अभ्यास बनेको छ । हरेक नागरिकले सुख, दुख, रिस, आक्रोश पोख्न पाउनु ठूलो कुरा हो। तर हामीले हरेक टिप्पणीमा एउटै भाष्य दोहोर्याइरहनुले अर्को चरम जन्माउँछ उदासीनता, निराशा र अन्ततः अराजकताप्रतिको आकर्षण। हामीसँगै इतिहासको पाना पल्टाऔं, पुरानो पीडा देखाएर मात्रै राजनीतिक फाइदा लिने प्रवृत्तिलाई चुनौती दिऔं। हामी माग गरौं, आलोचना गरौं, तर हरेक सानो सकारात्मक परिवर्तनलाई पनि पहिचान दिऔं। किनभने ‘जग’ तल बनिसकेपछि माथि उठ्न त्यति धेरै समय लाग्दैन। हामीले अब पुरानो इट्टा गन्न छोडेर नयाँ भित्ता बनाउन ध्यान दिनुपर्छ। हिजोको संघर्षको कथा नयाँ पुस्तालाई सुनाऔं। जब हामी इतिहासलाई आत्मसात् गरेर अगाडि बढ्छौं, तब मात्र अनावश्यक महत्वकांक्षा र अराजकता हटाउन सक्छौ। धरातल बनाएर मात्र विदेशजस्तो किन भएन भन्ने प्रश्न बढाउन सक्छौं त्यसले मात्र आत्मविश्वास हाम्रो बढाउछ ।
वि.सं.२०८३ जेठ २३ शनिवार १६:२९ मा प्रकाशित






























