Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

चिडिया घरका कैदी चराहरु हेरेर रमाउँछन् हाम्रा नाती, नातिना



dinanayh-sharma

माटो बसाउँछ उतातिर । पुर्खाको पसिना पोखिएको छ । पसिनाको पौरखमा पौडी खेल्दा कसलाई आनन्द नहोला । घचघुरो सहनु पर्दैन कसैको । सामाजिक सद्भाव सहयोग र मायाको कञ्चन भावना निसेचन हुन्छ गाउँबस्तीमा । दुःख सुख साझेदारी गरेर बस्न सिपालु नेपाली समाजको विशेषता मौलिक र उन्नत छ । मानवीय मूल्य र सम्मानको जगमा खडा भएको नेपाली समाजमा प्रदुषण भित्रिदै छ आजभोलि । अरुको सम्मान गरेर सम्मानित हुने संस्कृति हो हाम्रो । पुर्खाले जोगाएको पौरख हो यो । मेरो गाउँको संस्कार मेरो सभ्यता र संस्कृति गर्व गर्न लायक छ मेरा लागि । मेरो बिहानीले छरेको सन्देश ।

अटल चाँदीका चुचुरोमा सुनको जलप लगाएर उदाउँछ मेरो बिहान । डाँफेका भाले पोथीको खुशी पोखिन्छ तल कछारतिर । सुनौलो बिहानीको सुमधुर गीत गाउँदै चुरीफुरी गर्छ चिवेचरी तल गाउँघरतिर । परेवाको जोडीले प्रेम साट्छ एकाबिहानै घरको धुरीमा बसेर । बिहानलाई ब्युँझाउने कर्तव्य निर्वाह गर्छ कागले प्रत्येक बिहान । चिलाउनेको झोपिलो फुर्कोमा गुँड बनाएर वर्षौदेखि वचेरा हुर्काउँदै आएको छ कागको जोडीले । जुठेल्नोको थाँक्रोको टुप्पोमा बसेर दिनको जोखना हेर्दै आङ् तान्दैछ गौंथलीको जोडीले ।

उता मधेशतिर मयुरका भालेपोथी सडक किनार नचरी लगाउँदै निस्केर सडक किनारतिर नियाली रहेछ अभ्यागतको स्वागतका लागि । मेरो बिहान । सुन्द रबिहान । शान्त बिहान । मेरो जीवनको बिहानी । मेरो बालकालको बिहानी । मायाप्रिती गाँस्ने जवानी हो बिहानी । मलाई बिहानी सित पोइल जाउँजाउँ लाग्छ । पिछा गर्छु अलि परसम्म तर सधैं फिसलेर जान्छ नेटो काटेर । बाटो कुरेर टोलाउँछु हारेको सिपाही जस्तै । बिहानीलाई मनभित्र सजाएर राख्छु माया गर्छु तर मायालुलाई समाएर राख्न सक्दिन । पापी समयले रिस गर्छ । मलाई पर पन्छाएर लुछेर लग्छ मेरो दिलबाट ।
बिहानीको गीत गाउने धेरै होलान । बिहानीसित माया प्रिती गाँसेर फुर्सद छैन कतिलाई । विचरा । बिहानीको सौन्दर्य कहिले देखेन लोखर्केले । मैले सानैमा पढेको कथाको अल्छी लोखर्के । दैलोबाट चियाएको बिहानीको स्वागत गर्न कहिले ब्यूँझेन मारो । पुगिसरी आउनेहरुलाई उठ्नु छैन बिहानमा । रातिको धन्दाले मनग्य पुगेको छ उनीहरुलाई । बिहानीसित प्रमेख गर्नुपर्छ भन्ने पनि छैन सबैले । मेरो त मुटु नै चारेको छ सुन्दर बिहानीले । मलाई मुटु साट्नु छ बिहानी सित । म पनि बिहान बन्न चाहन्छु सधैं । मेरो समर्पण र साधना बिहानी बन्नका लागि हो । मेरो तपस्या कहिले पुरा हुने हो थाहा छैन । तपस्या भङ्ग गर्न धेरै अड्चन अगाडि आइरहेछन् । मेरो अविराम यात्रा जीवन पर्यन्त रोकिने छैन ।
प्रत्येक बिहान सयौं पंक्षीहरुको सुमधुर कलवरले गुञ्जयमान हुन्छ मेरो परिवेश । बिहानीको आगमनमा नाच्छन् गाउँछन् रमाउँछन् । बिहानीको हार्दिक स्वागत गर्छन् र दिनचर्यामा जुट्छन् । मलाई रहर लाग्छ बिहानीमा पंक्षी बनेर डाली डाली चहार्न । बरण्डाको बगरमा बसेर भँगेरीले मलाई गिज्याउँछ झ्यालबाट नियाल्दै । उतै नाच्न, गाउन, रमाउन आमन्त्रण गर्छ पंक्षीहरुको संसारमा । आफ्नो आफ्नो संसार । मानिसलार्ई र्फुद छैन बिहानीको बहारसित रमाउन । धोविनी जोडी देख्दा रहर लाग्छ । शान्तिका प्रतिक परेवाका जोडीको माया प्रिति कति गहिरो छ । जुरेलीको जोडीले पुच्छर हल्लाई हल्लाई खिजाएको देख्दा उडुउडु हुन्छ । मेरो देश । मेरो परिवेश मेरो बिहानीको बहार देख्दा खुशीले गद्गद् हुन्छु उडुकी बुडु हुन्छ सुन्दर बिहानीको शीतल र शालिन अनुहार देखेर । भवरा बनेर फूलसित मितेरी गाँस्न रहर लाग्छ । प्रेमको पाराग साटेर नयाँ फूल फूलाउन औधी मन लागेको छ । दैवले किन बिर्से होला मलाई माहुरी बनाउन । दिक्क लाग्छ आज भोलि बिहानीले आँखा तरको देख्दा ।
मेरो गाउँको बिहान सधैं ब्यूँझिन्छ भालेको डाँकोसित । झिसमेसेमै बुहारीहरु गाउरी बोकेर पँधेरामा पुग्छन् । साजी जलले दैलो पोतो पवित्र पारिन्छ घरलाई प्रत्येक बिहान घरका जहान सुतेकै छन् जाँगरिली बुहारीले घर आँगन सफा गरिसक्दा पनि । गाईभैंसीले दाम्लो छिनाल्दै छन् उता गोठमा खाना मागेर ।अँगेनोमा कुँडो बसालेर घाँस पराल दिन कद्छिन् उनै । गोठमा छिरिसकेपछि गोबर नफाली फर्कन मन हुँदैन उनलाई । कुँडो पानी दिएर भैंसी दुहुने काम पनि उनैको थाप्लोमा ठोक्किएको छ परिवारमा । उता सासुससुरालाई तातोपानी र परिवारको विछ्यौनामा चिया पुर्याउन ढिला हुनुहुँदैन । गाउँकी बुहारीको यो बुहार्तन युगौंदेखि चलेको छ मेरो देशको गाउँबस्तीमा । सबै बुहारीले यो परीक्षा उत्तिर्ण गर्नुपर्छ । मेरो हजुरआमा, आमा र श्रीमतीले यो बुहार्तन भोग्दैआए । यो दिनचर्याको दास बनेका छन् कर्री सासुका निरिह बुहारीहरु । विचरा । बुहारीहरुले बिहानीको बहारमा रमाउन कहिले अवसर पाएनन् । कामले थिचेको छ बुहारीको बिहान । फुर्सद छैन एकैछिन सुस्ताएर सुन्दर बिहानीको दर्शन गर्न उनलाई ।
नाङ्ले कान्छाको अँध्यारो खोरमा भाले बास्छ एकाबिहानै । गाउँ ब्यूँझन्छ । भालेसित घडी छैन । प्रकृतिको घडी हो भाले । उज्यालो भएको घोषणा गर्न प्रकृतिले सिकाएको छ । प्रकृति नीतिनियममा चल्छ । अनुशासनमा चलेको छ विश्व ब्रमाण्ड । अस्ताचलबाट चन्द्रमा कहिले उदाएन । अरुणाचलले पर्खीबसेको हुन्छ सूर्यको आगमन । भाले मामुली पंक्षी हो । भाले नबासेको संसार सायदै होला । मानिसले प्रकृतिबाट सिकेन । नियम र अनुशासनमा बस्न सकेन ।
उज्यालो मन पर्दैन अभाव र गरिबीलाई । सुन्दर बिहानीको दर्शन गर्न सक्दैन नाङ्ले कान्छाका भाले पोथीले । भाले नबासी दिए हुन्थ्यो भन्छन् उनीहरु । छेवैमा पल्टेका आधादर्जन बर्साउँते चिचाभूँडीले हाडछाला भएको छ उनीहरुको । भालेको डाँकोसितै आँ गरेको भुराभुरीको मुखमा चारो हाल्न सकेको होइन रातदिन काम गर्दा पनि । बिहानीको उज्यालो मन पर्दैन गरिब बस्तीलाई । उसको घरभित्र सँधै अँध्यारो छ । मनभित्रको लोडसेडिङ झन डरलाग्दो छ । गरिबी र अभावको अँध्यारोले डेरा जमाएको छ भाले बासिसक्दा पनि । कहिले उज्यालो नभैदिए हुन्थ्यो भन्नेको खोरमा झन चाँडै भाले बासेको छ । काटेर छाक टार्ने आँट छैन भाकलको भाले ।
प्रत्येक बिहान बुद्ध बनेर उदाउँछ । प्रत्येक साँझ मानिस बनेर अस्ताचलबाट ओरालो लाग्छ । बुद्ध मानिस बने । मानिस बुद्ध बन्न सकेन । बुद्ध छैनन यो संसारमा । तर बुद्धत्वको खेती मौलाएको छ संसारमा । मानिस जिवितै छ । मानवत्व हराएको छ । बुद्धको देशमा बुद्धत्वको खडेरी पर्दैछ । इतिहास भन्छ, हिमवतखण्ड पौराणिक कालदेखि ज्ञानविज्ञानको उद्गम स्थल हो । ज्ञान चेतनाको पालुवा पलाएन शताब्दियौं बितिसक्दा पनि । मेरी आमाको कोखले समुत सन्तान पर्खेको छ । मेरो सुकिलो बिहान सबल सन्तान ।
माथि लेकतिर सेतै छन् धुपीका बोटहरु । गिरिराजसित सापट लिएर राम्रा परिधनमा सजिएका छन् सालिल प्रकृतिका परिदृश्यहरु । तल दुवोको पातमा मोती टल्किन्छ पहिलो किरणमा । कलिलो घाम छिरेर रोमाञ्चक बनाउँछ धुपीको वनभित्र । रापिलो घाममा आखिर पानी बनेर टपटप कल्किन्छि भुईंको पातमा । मेरो सुन्दर बिहान । मेरो सुन्दर धरती । मेरो सुन्दर बिहान सौन्दर्यको अद्भूत आत्मिक आनन्द । शान्त बिहान । वनभरी बिहान पोखिएको मेरो पोल्टामा । मनभरी बिहानको बिस्कुन पोखिएको छ ।
सपना ब्युँझन्छ झुल्के घाममा विपना बनेर । इतिहास ब्युँझन्छ बिहानीमा सभ्यता र संस्कृति बोकेर । दिनभरीको यात्रा लखतरान परेर फर्किन्छ यात्री साँझपख गोठमा । दिन मैलो छ । धुँवा, धुलो र तुँवालोले मन मैलाई दिन्छ दिनभर शहरबजारतिर । यो भिडभाड यो प्रदुषण शहरको । सभ्यता र संस्कृतिको गीत गाइन्छ यसैको । पैसाको प्यासले आँत जलेको छ हरहरी । दाउपेच लगाइन्छ पद र प्रतिष्ठाका लागि । मानिस यतै कुदेको छ । यतै भुलेको छ । आफनो धरातल भुलेर धुरी चढ्न दौडेको छ मानिस । बिहान देख्न सक्दैन मइ अन्धो मानिस ।
दिन तुहेर जान्छ महिना र वर्षहरु । समयको सीमा छैन । मानिस झरेर जान्छ पाकेको फलझैं । अस्ताचलमा डुवेको घामझैं डुब्छन् उसका सपनाहरु । बिहानले दिनको संकेत गर्छ भन्छन् । उ एउटा जीवित सत्य हो र उसको बिहान उसको वर्तमान हो । सुन्दर बिहानीलाई काखी च्यापेर साइत गरेकाहरुले नै जीवनको सयौं परीक्षामा उत्तीर्ण भएको छ । त्यसैले मेरो लेकतिरको बिहान मेरो गाउँघर तिरको बिहानको खोजीमा फर्कन र उतै रमाउन मन छ । शहरको प्रदुषणले शरीर शिथिल बनेछ । खुट्टा लाग्न छाडेछ गाउँ घर फर्कन । उतै पाखातिर मेरो बिहानीले मेरो बाटो हेरेका होला भालेको डाँकोसित ।
मलाई माटो बर्साउँथ्यो बिहानमा । मेरै मड्केल्नाको रातो माटो मेरो आमा र श्रीमतीले प्रत्येक बिहान पोतेको दैलो र मजेरीबाट आएको बासनाले परिवारको स्वास्थ्य सवल राख्यो । त्यतिकै असि काटेनन् होला हजुरबा हजुरआमाहरु । डाक्टर अस्पतालको नाम नसुनेका थिएनन् तिनीहरु । घर वरपरको घोरटार्पे, गुँदेलगानो, मालटाटो, कालोहलेदोले निको पाथ्र्यो रोगहरु । दूध, घिउ, दही मह र मोही खाएर बलिष्ठ बनेका थिए । मुरीको थैलो एकहातले उठाएर काँधमा राख्ने तिनै हुन् । बिहानीसित मितेरी गाँसेका थिए उनीहरुले । मुलको पानी खाएका थिए कुलकी बुहारी ल्याएका थिए । मौसमअनुसार घरवरपर फूल्ने फूलहरुको बासना सञ्जिवनी बनेको छ गाउँलेका लागि अझैपनि । मलाई मेरै परिवेशको बिहानमा रमाउन मन छ ।
माटो बसाउँछ उतातिर । पुर्खाको पसिना पोखिएको छ । पसिनाको पौरखमा पौडी खेल्दा कसलाई आनन्द नहोला । घचघुरो सहनु पर्दैन कसैको । सामाजिक सद्भाव सहयोग र मायाको कञ्चन भावना निसेचन हुन्छ गाउँबस्तीमा । दुःख सुख साझेदारी गरेर बस्न सिपालु नेपाली समाजको विशेषता मौलिक र उन्नत छ । मानवीय मूल्य र सम्मानको जगमा खडा भएको नेपाली समाजमा प्रदुषण भित्रिदै छ आजभोलि । अरुको सम्मान गरेर सम्मानित हुने संस्कृति हो हाम्रो । पुर्खाले जोगाएको पौरख हो यो । मेरो गाउँको संस्कार मेरो सभ्यता र संस्कृति गर्व गर्न लायक छ मेरा लागि । मेरो बिहानीले छरेको सन्देश ।
शहरको बसाई । मानिस बसेकै छन् रमाएकै छन् । यतै बसाई सर्ने धरैको रहर छ मलाई पनि उतिबेला यस्तै लाग्थ्यो । आजभोलि मन फूकाएर देख्न पाइन्न बिहान । दैलामुनी बारीको डिलभरी सयपत्री बाह्रमासे, गोदावरी फूलेको यता कतै देख्न पाइएन । चराहरुको कलवरमा रमाउन बानी नियाश्रो भएको छ । न्याउलीको बिरह लाग्दो भाखा यता कहाँ सन्नु । कोकले, कल्चुँडो, टुकटुकेको दर्शन नपाएको दशकौं भएछ । प्रत्येक बिहान मेरो आँगनको छेउछाउ आएर मलाई दर्शन दिने ती विचरा पंक्षीहरु मेरै बाटो पर्खेका होलान उता गाउँघरतिर ।
निशान्त सडकमा एक्लै निस्किन्छु बिहानीको दर्शनका लागि । रानीवनको फेरो मारिसक्दा पनि आवाज सुन्न सक्दिन कतै । माटो बसाउँदैन यहाँ । ढलको गन्ध सुँघेर बाँच्न विवस छ मानिस । बिहानीको सौन्दर्यानुभूति गर्नुपर्दैन कसैलाई । रसिक र हराभरा छैन बिहान । त्यसैले होला मानिसका मन रुखिएका छन् बाँझिएका छन् यतातिर । छलकपटको व्यापार हुन्छ शहरमा । नाफा नोक्सानको हिसाबकिताब हुन्छ साँझबिहान । आत्मा साटिन्छ पैसासित । कतिको बिक्रि हुँदैछ विदेशी बजारमा । यसैलाई आधुनिक सभ्यता भनिन्छ युगको । समयले ल्याएको रोग ।
यता शहरतिर निस्कृय अनुहार बोकेर आउँछ बिहाना । प्रकृति रोएको छ मानिसको अतिक्रमणले । सम्पदा मासिँदै छन् विकासको नाममा । बासस्थान छैन प्रकृतिको यतातिर । चिडिया घरका कैदी चराहरु हेरेर रमाउँछन् हाम्रा नाती, नातिना । गुडिया देखाएर चिनाइन्छ डाँफेर मयुरलाई । प्लाष्टिकका फूल सजाएर रमाउँछ मानिस । प्लाष्टिकको मन बोकेर बाँचेको छ मानिस । रस छैन । जीवन छैन ।
बिहान उठ्नु पर्दैन बुहारीहरु । दैलो कुचाको लेठो छैन । कर्री सासुहरु कुनातिर थन्किसके । चुलोचौकोमा मात्रै सीमित गर्ने युग सकियो । दूध समयमै आइपुग्छ दैलोमा । गोठको कामबाट मोक्षभयो मानिस । खेतीबारीको टन्टा छैन । निधारमा लगाउने माटो छैन । खेतबारीमा टेक्नु पर्दैन । मन्त्री गमलामा धान रोप्छन् । नरहे बाँस नबजे बाँसुरी । दिनगन्ती गरेर थापेको ज्याला सधैं टिपाटिम सधैं तानतुन । छोटिदै जान्छ व्यवहार । तुहिँदै जान्छ विचार । टाठाँबाठाँले हात मार्छ । सास फेर्न धौधौ हुन थालेको छ प्रदुषणले ।
मेरो बिहान त्यतिकै झरेर जान्छ आज भोलि । बिहानीको राम्रो वैंश आउने छाँट छैन यतातिर । विधवाको बिहान झैँ बौलाएको परिवेश । रसिक र हराभरा बनाउन प्रयत्न हुँदैछ । मौसमले साथ दिँदैन । बिहानको तिर्सना मेट्न एकमुठी चारो लिएर छटमा चढ्छु । साथी बनेका छन् परेवाहरु । चारैतिर घेर्छन् । चारो टिप्न हतार छ । एकैक्षण उनीहरुको कचकच सुनेर रमाउँछु । चारो पोख्छु । टिप्ने प्रस्पिर्धा हुन्छ । एउटा अशक्त डुँडो छ । सबैले त्यसैलाई ठुँग्छन् । निर्धोलाई हेपेको देखेर झोँक चल्छ । नजिकै चारो छरेर बोलाउँछु । मेरो भाका बुझ्छ उसले । अलिबेर रमाउँछु । भुर्र उडेर जान्छन् एकैछिन पछि । मेरो मन पनि परेवासित उडेर जान्छ । अर्को बिहान फेरि भेट हुन्छ ।
बिहानी सौन्यर्कको कति खबाख गरिरहनु यसको पनि सीमा होला । मलाई सीमा मिचिदिन मन लाग्छ । बिहानी सौन्दर्यको गिरिनिम्नगा बनिदिन्छ मनको तलाउमा । बाफ बनेर उडिदिन्छ माथि माथि । चैत मध्यधुपमा डाँडाको झोपिलो पीपलको छहारीमा सुस्ताएको बेला सौन्दर्यको अनुपम अनुभुति गर्न सकिन्छ । पसिना पुच्दै । आत्मिक आनन्दाको अनितम अभिव्यक्ति हो सौन्दर्य । युद्ध सौन्दर्यको अनुभव गर्न पाउने भाग्यमानी मध्य म पनि एक हुँ । शान्तिको सम्वाहक बन्ने अवसर पाउने अवसर पनि चुकेन । बिहानी मन भए पुग्छ सौन्दर्यानुभूतिका लागि । सुख बाहिर बजारमा किन्न पाइने माल होइन । सम्पन्नता मात्रै सौन्दर्यको परिभाषा हुन सक्दैन । अँध्यारोमा बाटो देखाउन जुनकिरीको पिलीपिली पनि पर्याप्त छ ।
बिहानीपख बैशालुका लागि झन मिठो र रोमाञ्चक हुन्छ । न्यानो अँगालोमा कसिएको माया प्रिति अलग हुन धौधौ भएको छ । झन पछि झन कसिँदै छ माया । झस्काइदिन्छ पापी भालेको डाँकोले । भाले नबासी दिए हुन्थ्यो भनेर टाँसिएको मन अलग हुन धौधौ हुन्छ । पाखुरामा समाएर तान्छन् मायालुले । नाई भन्न मन छैन । सासुससुराको खाँक्कखुक्कले तर्साउँछ विचरीलार्ई । फेत्केर निस्किन्छिन् उनी । बिहानीको पीडा भोगेका युगल जोडीले मौका पर्दा रोदीमा यसरी पोख्छन् ः झन मायाँले झन च्याप्यो झन बिरामी पख मायालु । बिहानीप्रति मेरो कुनै गुनासो छैन । बिहानको रातो घाम परिवर्तन र विकासको सम्वाहक भन्छन् । रातो घाम मन पर्दैन विरोधीलाई । घरामा सुनको जलप लगाएर मानव मनमा उर्जा भरिदिन्छ बिहानले । बिहानी देख्न नचाहनेको मनमा उर्जा चार्ज हुन पाउँदैन चार्ज सकिएको ब्याट्री बनेर फालिएको छ कति । छकालमा उठेर आङ् तान्नेका लागि बिहानीको बखान भालुलार्य पुराण सरह हुनेछ । बिहानी जीवन हो र जीवन बिहानी । मलार्य सधैं बिहानी बनेर उदाउन मन लाग्छ । बिहानी ट्रेन नपक्डनेहरु समयमै गन्तव्यमा पुग्न सम्भव छैन ।
मेरो बिहान । मेरो प्यारो बिहान । बिहानीसित मेरो प्रेम साटिएको छ । बिहानको स्वागतका लागि भालेको डाँको र कागको का का सँगै ढोका खोलेर बाहिर निस्कन्छु । चिसो हावाले स्पर्स गर्छ खुला पाखुरामा । म रोमाञ्चक र प्रफुल्ल मन बोकेर सडकमा पोखिन्छु । म अरु थुप्रैको अगाडि पछाडि छु तर मेरो बिहानी संसार अलग्गै छ । आला चाँदीका चुचुरा देख्न पाईदैन यता । चन्द्रगिरी र नागार्जुनको फेरो मारेर आँखा रसाउँछ सेनलाई सम्झेर । खकिलाभित्र सेनलाई लुकाएर सम्झना दिलाई राख्ने चन्द्रागिरी युगयुग बाँचिरहनेछ । समयले बिहानीलाई बिदा गर्छ । म समय सित खेल्छु । बस ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको