फागुन ६, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको सुरक्षामा कटौती गर्ने निर्णय गरेसँगै नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वजनमुक्ती सेनाको टोली खटिन थालेको छ । प्रचण्डको सचिवालयले जानकारी दिएअनुसार प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा टोली खटिएको हो ।
पाण्डे पूर्वलडाकु हुन् । उनी जनयुद्धका बटालियन कमाण्डर हुन् । सेना समायोजन हुँदा उनले स्वेच्छिक अवकाश रोजेका थिए ।
यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमाण्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमाण्डमा ४६ जना गरी ७३ जना सुरक्षाकर्मी खटिएका थिए । गृहमन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जना मात्र सुरक्षाकर्मी दिईने उल्लेख छ ।
जुन मापदण्डअनुसार नै प्रचण्डको लागि खटिएका सुरक्षाकर्मीको टोली कटौती गरिएको हो । गृहको मापदण्ड लागु भएसँगै प्रचण्डको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता भएका छन् ।
प्रचण्ड सचिवालयले जनाएअनुसार सुरक्षाकर्मी फिर्ता भएसँगै उक्त ठाउँमा पूर्वजनमुक्ती सेनाको टोली खटिएको हो । जसले अगुवा स्कर्टिङ र कार्यक्रमस्थलमा व्यवस्थापनलगायतको काम गर्नेछ ।
उनको सुरक्षामा खटिएको पूर्वलडाकुलाई ‘ड्रेस कोड’ तोक्ने तयारी पनि गरिएको छ । जनाइएअनुसार सुरक्षामा खटिएको टोलीसँग कुनै पनि खालको हातहतियार भने हुनेछैन् ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १२:४६ मा प्रकाशित






























