२३ जेठ, काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
शुक्रबार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीको पद सम्हाले लगत्तै बहुराज्यको स्थपनाको आन्दोलनको तयारीमा आफू लाग्ने भन्दै दिएको अभिव्यक्तिका कारण चौतर्फि आलोचना भएपछि उनले शनिबार बेलुका प्रेस विज्ञप्ति नै जारी गरेर आफ्नो अभिव्यक्तिलाई गलत तरिकाबाट प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतमा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्दिप्रति आस्थावान रहि एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मासात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग समुदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय अभिव्यक्त गरेको हुँ ।’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘यो संविधानमा हाम्रा रहेका असन्तुष्टि सम्बोधन गर्न शंसोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौं ।’
उपप्रधानमन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डता र रािष्ट्रय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै यसबारेमा कसैलाई अन्यथा भ्रम नहोस भन्ने प्रष्ट पारेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वि.सं.२०७८ जेठ २३ आइतवार ०९:२३ मा प्रकाशित






























