“देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।” यो नियम धर्ममा मात्र होइन खेलकुदमा पनि उत्तिकै लागू हुने रहेछ। विश्वकप फुटबल सुरु हुनासाथ हाम्रो समाजमा एउटा अद्भुत आध्यात्मिक जागरण देखापर्छ। आफ्नो हजुरबा वा हजुरआमाको नाम थाहा नहुनेहरू अर्जेन्टिनाको चौथो रोजाइको डिफेन्डरको तीन पुस्तासम्म कण्ठस्थ गर्न थाल्छन्।
मानिस खेलप्रति कति अन्धभक्त हुन्छ भन्ने कुरा मैले नाइजेरियामा बस्दा राम्ररी बुझेको थिएँ। त्यतिबेला युरोपमा युरोकप फुटबल चलिरहेको थियो। मेरो डेरामा सुरक्षा गर्ने म्याथ्यु नामका भाइ झन्डै तीन घण्टा ढिलो ड्युटीमा आइपुगे। कारण सोध्दा थाहा भयो— अबुजा नजिकैको डुत्से गाउँमा युरोपका दुई फुटबल टोलीका समर्थकबीच झडप हुँदा सात जनाले घटनास्थलमै इहलीला समाप्त गरिसकेछन्। त्यसको असरले बाटो अवरुद्ध भएकाले उनी ढिलो पुगेका रहेछन्।
त्यहाँ फुटबल खेल टेलिभिजन वा ठूलो पर्दामा देखाइने ठाउँहरूमा जेलमा जस्तै फलामका बार लगाइएका हुन्थे। अझ रोचक कुरा त के भने एउटै अफ्रिकी देशका नागरिक भए पनि युरोपका फरक-फरक टोलीका समर्थकहरूलाई छुट्टाछुट्टै बारभित्र राखिन्थ्यो। कारण, दुई पक्षबीच झडप नहोस् र अर्को महादेशका खेलाडीहरूको प्रेममा परेर आफ्नै ज्यान नजाओस् भन्ने थियो।
कस्तो विडम्बना! जन्मभूमि नाइजेरियाको दुर्गम गाउँमा, भावना युरोपमा, र झगडा र कुर्वानी भने आफ्नै गाउँको चोकमा।
मानिसलाई कुनै न कुनै कुरामा आस्था चाहिन्छ भन्ने कुरा मनोविज्ञानका किताबहरूले भन्दा विश्वकप फुटबलले बढी प्रमाणित गरिदिएको छ। आफैले चिन्दै नचिनेको, जीवनमा कहिल्यै टेक्न नपाएको, आफ्नो गोरु बेचेको समेत साइनो नभएको देशका खेलाडीहरूप्रति यति अगाध प्रेम र श्रद्धा कसरी जाग्दो हो?
खेल मन पराउनु राम्रो कुरा हो। कुनै खेलाडीको सीप, कुनै टोलीको खेलशैली वा कुनै कलाकारको कला मन पर्नु स्वाभाविक कुरा हो। तर कतिपय समर्थकहरूको भक्तिभाव देख्दा लाग्छ मानौँ उनीहरू कुनै खेल प्रतियोगिताका होइनन् बरु धार्मिक सम्प्रदायका सदस्य हुन्।
आफूले समर्थन गर्ने टिम उनीहरूका इष्टदेवता हुन्। कप्तान कुल्यानका पूजारीजस्ता हुन्छन्। प्रशिक्षक गुरु वा धर्माचार्यको स्तरमा पुगिसकेका हुन्छन्। जर्सी धार्मिक पोशाक हो, झण्डा पवित्र ध्वजा हो र स्टेडियम आधुनिक तीर्थस्थल। यी भक्तजनहरूको दैनिक जीवन पनि कम रोचक हुँदैन। सामान्य अवस्थामा बिहान आठ बजे उठ्न नसक्ने मानिसहरू रातको दुई, तीन र कहिलेकाहीँ चार बजेसम्म जागाराम बसिरहेका हुन्छन्। बिहान उठेर आँखा राताम्मे भए पनि अनुहारमा एउटा दैवी चमक देखिन्छ। कारण, हिजो राति उनीहरूको “देश” ले जितेको हुन्छ। त्यो देशसँग न नागरिकता छ, न भिसा, न जग्गा-जमिन। तर खुसी भने आफ्नै छोराले वर्डकपको गोल्डेन बुट जिते जस्तो। हारे भने अवस्था झन् दर्दनाक हुन्छ। मानौँ परिवारमा कुनै अप्रिय घटना घटेको हो। खाना रुच्दैन। फेसबुकमा स्टाटस आउँछ—”आज मन भारी छ।” हेर्दा लाग्छ, बैंकले ऋण नतिरेको कारण घर लिलाम गरिदिएको होला। पछि थाहा हुन्छ, “आफ्नो” टिमले सिल-टिमुर खाएछ।
जसले जीवनमा कहिल्यै ब्युनस आयर्स देखेको छैन, स्पेनी भाषामा “बुएनोस दिआस” सम्म भन्न जान्दैन ऊ पनि अर्जेन्टिनाको हारमा तीन दिनसम्म शोक मनाउँछ। मानौँ आफ्नै गैरिखेत बाढीले बगाएको हो। अचम्म त के छ भने ती देशहरूसँग उसको न कुनै साइनो छ, न भाषा मिल्छ, न संस्कृति, न नागरिकता। तर समर्थनको स्तर हेर्दा लाग्छ मानौँ त्यो देशको संविधान लेख्ने समितिमा ऊ पनि निर्णायक सदस्य थियो।
विश्वकपसँगै “मेसीवादी” र “रोनाल्डोवादी” जस्ता सम्प्रदायहरूको जन्म हुन्छ। एकथरीलाई लाग्छ संसारको सृष्टि नै लियोनल मेसीको देब्रे खुट्टाबाट भएको हो। अर्कोथरीलाई विश्वास छ- क्रिस्टियानो रोनाल्डोले नै पृथ्वीको भार थामिरहेका छन्।
फरक-फरक टिमका अनुयायीहरूबीचको बहस झन् रोचक हुन्छ। त्यहाँ तथ्य, तर्क र तथ्याङ्कभन्दा भक्तिभावको बोलवाला हुन्छ। अझ रमाइलो कुरा त के भने जीवनमा कहिल्यै फुटबल मैदान नटेकेको मानिसले खेलाडीको फिटनेस, प्रशिक्षकको रणनीति र टिम व्यवस्थापनमाथि यति खरो टिप्पणी गर्छ कि मानौँ फिफाले अर्को विश्वकपमा उसैलाई मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको हो।
समर्थकहरूबीचको सम्बन्ध पनि कुनै राजनीतिक दलका कट्टर कार्यकर्ताभन्दा कम हुँदैन। “तेरो टिम” र “मेरो टिम” भनेर सुरु भएको बहसले कहिलेकाहीँ पारिवारिक संकटसमेत निम्त्याउँछ। श्रीमान् अर्जेन्टिनाका समर्थक, श्रीमती ब्राजिलकी समर्थक, छोरा घानाको समर्थक र छोरी पानामाकी समर्थक। अब आफैँ कल्पना गर्नुस् त्यो परिवारको अवस्था कस्तो होला! एउटा कोठामा निलो-सेतो झण्डा, अर्कोमा पहेँलो-हरियो। एकले गोल हुँदा खुसीले कराउँछ, अर्कोले अनुहार बिगारेर मोबाइल चलाउन थाल्छ। कहिलेकाहीँ त बोलचाल नै बन्द हुन्छ।
टिम छनोटका आधारहरू झन् अनौठा हुन्छन्। एकजना साथीलाई सोधेँ- “तिमी किन फ्रान्सको समर्थक?” उत्तर आयो- “मलाई मन नपर्ने मान्छे ब्राजिलको समर्थक रहेछ। त्यसैले म फ्रान्स।” अर्थात् खेलप्रेम होइन, व्यक्तिगत रिसको अन्तर्राष्ट्रियकरण। अर्का साथीको तर्क झन् वैज्ञानिक थियो- “मलाई निलो रङ मन पर्छ त्यसैले अर्जेन्टिना।” कसैलाई खेलाडीको कपाल मन परेको हुन्छ, कसैलाई दाह्री, कसैलाई अनुहार, कसैलाई छालाको रङ। एउटी युवतीले भनिन्- “म त्यो खेलाडी धेरै ह्यान्डसम लाग्छ त्यसैले म त्यही टिमको समर्थक।”
कतिपयलाई लाग्छ आफूले समर्थन गरेको टिम जित्दा त्यसमा आफ्नो पनि विशेष योगदान पुगेको छ। खेलअघि विशेष आसनमा बसिन्छ, भाग्यमानी टी-सर्ट लगाइन्छ, कसैले खेलभरि उठेर पानीसमेत पिउँदैन। कारण आफू उठ्नेबित्तिकै टिमले गोल खान सक्छ भन्ने गहिरो मनोविज्ञान! टिम जित्यो भने- “हामी जित्यौँ।”हार्यो भने- “उनीहरूले राम्रो खेलेनन्।” जित्दा “हामी”, हार्दा “उनीहरू”। यो भाषिक चमत्कार समाजशास्त्रको नयाँ सिद्धान्त बन्न योग्य छ। सबैभन्दा रमाइलो त त्यो बेला लाग्छ जब नेपालको कुनै गाउँमा बस्ने समर्थकले हजारौँ किलोमिटर टाढाको खेलाडीलाई गाली गर्दै लेख्छ- “हाम्रो इज्जत डुबायौ!” बिचारा खेलाडीलाई न नेपालको नाम थाहा छ न त्यो गाउँको। तर उसको गल्तीले यहाँ कसैको आत्मसम्मानमा चोट पुगेको हुन्छ।
कुनै समय मानिसहरू देवता, राजा र विचारधाराका लागि युद्ध गर्थे। आधुनिक युगमा भने जर्सी र झण्डाका लागि फेसबुकको कमेन्ट बक्समा युद्ध लडिन्छ। शब्दका बाण चल्छन्। इमोजीका मिसाइल प्रहार हुन्छन्। अन्त्यमा सबैले एकअर्कालाई “अनफ्रेन्ड” गरेर विश्वशान्ति कायम गर्छन्।
बिचरा खेलाडीहरूले हाम्रा अनुयायीहरूबारे के सोच्दा हुन्? पाराग्वे वा उरुग्वेका खेलाडीलाई के थाहा बागलुङको भुजीखोलाको चिया पसलमा उनका दुई नेपाली समर्थकहरू बोलचाल बन्द गरेर बसेका छन्। जर्मनीका स्ट्राइकरलाई के थाहा नेपालमा उनका समर्थक र विरोधी श्रीमान्-श्रीमती सम्बन्धविच्छेदको तहसम्म पुगेका छन्। विडम्बना के छ भने सबित्रा भण्डारी (साम्बा) वा रोहित चन्दको नाम थाहा नहुनेहरू फ्रान्सको बेन्चमा बस्ने खेलाडीको तिनपुस्ते नामसम्मको जानकारी राख्छन्।
अफ्रिकाकै अब्बल प्रशिक्षक ओमर अर्टन अमेरिका प्रवेश भिसा नपाएर फुटबलको कुम्भमेलामा सहभागी हुन नपाएको समाचार समर्थकहरूको चासोको विषय बन्दैन। तर कुनै खेलाडीले शरीरमा कुन टाटु बनायो भन्ने कुरा राष्ट्रिय बहसको विषय बन्न पुग्छ। योभन्दा वैरागलाग्दो कुरा अरू के हुन सक्छ?
अन्ततः संसार बदलिएको छ। देवताहरूको रूप फेरिएको छ। भक्तिभाव उस्तै छ। केवल मन्दिरको ठाउँ स्टेडियमले लिएको छ। आरतीको ठाउँमा भुभुजेला बज्न थालेको छ र इष्टदेवताहरूले जर्सी लगाउन थालेका छन्।
त्यसैले खेल हेर्नुहोस्, रमाउनुहोस्। कुनै खेलाडीको सीप वा कुनै टिमको खेलशैली मन पराउनुहोस्। तर जब समर्थन विवेकभन्दा माथि पुग्छ तब खेल कम र सम्प्रदाय बढी बन्छ। त्यहाँ तर्कभन्दा भावना, खेलभन्दा अहंकार र रमाइलोपनभन्दा कट्टरता हावी हुन थाल्छ।
यदि तपाईं अलौकिक शक्तिमा विश्वास गर्ने धार्मिक मानिस हुनुहुन्छ भने विदेशी जर्सीलाई आफ्नो कट्टरपन्थी पोशाक नबनाउनुहोस्, विदेशी झण्डालाई पवित्र ध्वजा नबनाउनुहोस्, स्टेडियमलाई मन्दिरको स्थानमा नराख्नुहोस् र आरतीको ठाउँमा भुभुजेला(एक प्रकारको लामो, प्लास्टिकबाट बनेको बाजा) नबजाउनुहोस्।
तपाईंले समर्थन गरेको देश र टिमले जितोस् र विजयको गौरवले तपाईंको नाक साउनको घिरौँलाजत्रो फुलोस्। विश्वकपमय शुभेच्छा!”
वि.सं.२०८३ जेठ २९ शुक्रवार १६:५१ मा प्रकाशित






























