काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईले विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
कम्पनीका अनुसार यस सुविधाबाट विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी व्यक्तिले सहज रूपमा नेपालमा आर्थिक सहयोग पठाउन सक्नेछन्। त्यस्तै, नेपालभित्रबाट पनि **‘खल्ती बाइ आइएमई’**मार्फत सरकारी कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आह्वान गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सरकारलाई सहयोग गर्न कम्पनीले अपिल गरेको छ।
यसैबीच, आइएमई ग्रुपले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीबाट प्रभावित परिवार तथा नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सबै पक्षबाट सक्दो योगदान आवश्यक रहेको जनाएको छ।

वि.सं.२०८३ भदौ १२ शुक्रवार १०:२३ मा प्रकाशित






























