काठमाडौं । पेशागत महासंघ नेपालले भदौ १० गते रसुवालगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोबाट दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
बिहीबार बसेको महासंघको स्थायी समितिको विस्तारित बैठकले बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रारम्भिक अनुमानमा दुई खर्ब रुपैयाँभन्दा बढीको धनसम्पत्ति तथा भौतिक संरचनामा क्षति पुगेको जनाएको हो।
महासंघका महासचिव राजन रेग्मीद्वारा जारी विज्ञप्तिमा रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपरासीलगायतका जिल्ला बाढी तथा पहिरोबाट प्रभावित भएको जनाइएको छ। बैठकले प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ।
बाढी तथा पहिरोका कारण सडक, पुल, आवास, सार्वजनिक तथा निजी संरचना र विभिन्न आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै महासंघले दुःख व्यक्त गरेको छ।
विपद्मा ज्यान गुमाएका श्रमिक, पेशाकर्मी तथा सम्पूर्ण नागरिकप्रति महासंघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजी तथा उद्धार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
महासंघले आफ्ना आबद्ध तथा सम्बद्ध सम्पूर्ण राष्ट्रिय घटक संगठन, प्रदेश तथा जिल्ला समिति एवं सदस्यहरूलाई विपद्पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि क्षमता र सामर्थ्यअनुसार आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
यसै क्रममा महासंघले प्रारम्भिक सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
खोज, उद्धार तथा राहतका लागि समन्वय समिति
प्रभावित क्षेत्रका समितिहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न महासंघले वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ।
समितिमा उपाध्यक्ष रामप्रसाद रिमाल, उपाध्यक्ष किशोर नेपाली, महासचिव राजन रेग्मी, उपमहासचिव पूर्णबहादुर बुढा, कोषाध्यक्ष ध्रुव पौडेल, सल्लाहकार भक्तिमान शुब्बा तथा प्रचार विभाग सचिव वासुदेव अधिकारी सदस्य रहेका छन्।
महासंघले उक्त समन्वय समितिसँग सहकार्य गरी राहत तथा उद्धार कार्यमा सक्रिय हुन आफ्ना आबद्ध तथा सम्बद्ध घटक, प्रदेश तथा जिल्ला समिति र सम्पूर्ण सदस्यहरूलाई आह्वान गरेको छ।
विपद्को यस विषम परिस्थितिमा सम्पूर्ण पेशाकर्मी, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपद्पीडित नागरिकको सहयोगमा एकजुट हुन महासंघले आग्रह गरेको छ।
साथै, बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित श्रमिक तथा पेशाकर्मीहरूलाई उचित क्षतिपूर्ति, राहत तथा पारिवारिक भरणपोषणको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार २०:५३ मा प्रकाशित





























