काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रेस नोट जारी गर्दै बाढीबाट वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका हुन्।
मन्त्री लम्सालका अनुसार गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ। यस्तै, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुलमा भएको ठूलो क्षतिका कारण रसुवा लगायत प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना चुनौतीपूर्ण बनेको छ।
सरकारसँग हाल ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज रहेको जानकारी दिँदै मन्त्री लम्सालले आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए।
सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र त्यसपछि रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्री लम्सालले बताएका छन्।
सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारीतर्फबाट उपलब्ध गराइएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ।
मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सेवा पुनःसञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ। बाढीले सडक पूर्वाधारमा पुर्याएको क्षतिको पुनःनिर्माणका लागि तत्कालीन उद्धारसँगै वैकल्पिक सडक तथा बेलिब्रिजमार्फत सम्पर्क पुनःस्थापनाको तयारीसमेत अघि बढाइएको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार २०:२८ मा प्रकाशित






























