काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौं फर्किएपछि अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्।
आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्नुका साथै प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष जानकारी लिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत “अवस्था अझै चुनौतीपूर्ण छ। राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्” भन्दै अहिले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको र आज मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको उनले जानकारी दिएका छन्।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ।
तत्काल राहतका लागि रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत राहत सामग्री १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको तथा थप सामग्री हेलिकप्टरमार्फत पुर्याउने काम भइरहेको उनले बताएका छन्।
स्वास्थ्यतर्फ वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर र ट्रमा सेन्टरमा १०० / १०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। प्रभावित तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गरिएको प्रधानमन्त्रीले बताएका छन्।
यसैगरी, राहत सामग्रीको आपूर्ति सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक तथा धादिङको बैरेनी ब्यारेकलाई प्रयोग गरिएको छ।
प्रधानमन्त्रीका अनुसार बाढीपहिरोका कारण नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावररसाइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री प्रभावित क्षेत्रमा पठाएर दूरसञ्चार सेवा पुनःस्थापनाको काम भइरहेको छ। प्रभावित नागरिकलाई निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको पनि उनले बताएका छन्।
सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारजस्ता अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकनसमेत भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको शाहले बताएका छन्।
उनले राहत तथा उद्धारलाई प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने, मृतकको पहिचान तथा शव व्यवस्थापनलाई व्यवस्थित गर्ने काम भइरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्। विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको र भारतबाट राहत सामग्री प्राप्त भएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत तथा सुरक्षित बसोबास र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको बताएका छन्।
उनले सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको रउद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिइने उल्लेख गरेका छन् ।
“हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्,” प्रधानमन्त्री शाहले भनेका छन्।
वि.सं.२०८३ भदौ ११ बिहीवार २०:१६ मा प्रकाशित






























