नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति देवचुली नगरपालिकाले दुःख व्यक्त गर्दै राहत तथा उद्धार अभियानका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
देवचुली नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट ४ लाख रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट थप ४ लाख रुपैयाँ गरी कुल ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाले भोटेकोसी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
प्राकृतिक विपद्का कारण घर, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै नगरपालिकाले प्रभावित परिवारलाई आवश्यक सहयोग तथा विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न देवचुली नगरवासीलाई समेत अपिल गरेको छ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा जारी अपिलमा विपद्को यस दुःखद् घडीमा सबै पक्ष एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार १८:४१ मा प्रकाशित






























