काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले २०८३ भदौ ११ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन सहयोग गरिएको बैंकले जनाएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति बैंक परिवारले दुःख व्यक्त गर्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १०:११ मा प्रकाशित






























