काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले कायम रहेको सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
अग्राधिकार सेयरधनीलाई प्रस्ताव गरिएको ८.२५ प्रतिशत लाभांश सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ। दुवै लाभांशमा लाग्ने करसमेत समावेश छ।
बैंकका अनुसार हाल साधारण सेयर पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, अग्राधिकार सेयर पुँजी रु. २ अर्ब रहेको छ।
प्रस्तावअनुसार अग्राधिकार सेयरधनीका लागि कुल रु. ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा र साधारण सेयरधनीका लागि रु. १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण हुनेछ।
बैंकको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएम नेटवर्कमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
वि.सं.२०८३ भदौ १२ शुक्रवार ०९:५६ मा प्रकाशित






























