काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’ ले देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ रहेको र यिनको संरक्षण, प्रवद्र्धन तथा विकास गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले तमु समुदायको पर्व तमु ल्होसारका अवसरमा आज बिहान शुभकामना दिँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएकाले नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि रहेको बताएका छन् ।
‘तमु समुदायमा नयाँ वर्षको आगमनको खुशियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होछारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्दछ । यो समुदाय सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको छ ।’ अध्यक्ष प्रचण्डद्धारा जारी शुभकामनामा भनिएको छ ।
जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यवद्धता अपरिहार्य रहेको बताउँदै अध्यक्ष प्रचण्डले नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको समेत बताएका छन् ।
वि.सं.२०७८ पुस १५ बिहीवार ०९:४२ मा प्रकाशित





























