काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल जारी छ । बिहीबार विभिन्न १३ समूहका नेताहरुले प्रतिवदेन र मस्यौदामाथि आफ्नो सुझाब राखिरहेका छन् ।
सुझाब राख्ने क्रममा प्रतिनिधिहरुले नेताहरुको अस्वभाविक रुपमा बढ्दो सम्पत्तिमाथि छानबिनको माग गरेका छन् । आन्दोलनबाट उदाएका सामान्य नेताहरु कसरी धनाड्य भए भन्ने प्रश्न प्रतिनिधिहरुको छ ।
प्रतिनिधिहरुले पार्टीभित्र नवधनाड्यको संख्या बढेको र जनतासँगको वर्गीय सम्बन्ध नै टुटेको बताएका छन् । प्रदेश २, गण्डकी र कर्णाली प्रदेशका प्रतिनिधिहरुले माओवादी माओवादीजस्तो नभएको र नेता र कार्यकर्ताको वर्गीय आधार नमिलेको बताएका थिए ।
विशेषतः नेतृत्व तहमा पुगेका र लाभका पदमा बसेका नेताहरुको सम्पत्ति छानबिन नभएसम्म पार्टीभित्र जनताको धारणा स्पष्ट नहुने प्रतिनिधिहरुको भनाइ छ । प्रतिनिधिहरुले निश्चित नेता मात्रै किन लाभको पदमा ? भनि प्रश्न पनि उठाएका थिए ।
वि.सं.२०७८ पुस १५ बिहीवार १३:४८ मा प्रकाशित





























