काठमाडाैं । महामारीको समयमा विश्वका शीर्ष १० धनी व्यक्तिको सम्पत्ति दोबर भएको छ । महामारीले विश्वका धनी व्यक्तिलाई अझ बढी धनी बनाएको र धेरै मानिसहरूलाई गरिबीमा धकेलेको परोपकारी संस्था अक्सफामले जनाएको छ ।
अक्सफामको प्रतिवेदन अनुसार विपन्न मानिसकको आय न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो । तर, सन् २०२० को मार्च यता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुनाभन्दा बढी भएको अक्सफामले बताएको छ ।
डाभोसमा वल्र्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्सफामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । डाभोस बैठकमा हजारौँको संख्यामा व्यापारिक तथा राजनीतिक नेताहरू, चर्चित व्यक्ति, अभियानकर्मी, अर्थशास्त्री र पत्रकारहरू भेला हुने गर्छन् ।
उनीहरू स्विट्जरल्याण्डस्थित स्की रिसोर्टहरूमा भेला भएर छलफल, खानपानसहितका रमाइला भेला र चिनापर्ची गर्ने कार्यक्रममा सहभागी हुन्छन् । यद्यपि, सय साताको लागि तय गरिएको उक्त बैठक यस वर्ष पनि ओमिक्रोन भेरियन्ट देखा परेसँगै लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुँदैछ ।
यो साताको छलफलमा महामारीपछिको सम्भावित बाटो, खोप असमानता र उर्जा सङ्क्रमणको विषय समेटिने जनाइएको छ ।
अक्सफाम जीबी (ग्रेट ब्रिटेन)का प्रमुख कार्यकारी डेनी श्रीस्कन्दराजाले अक्सफामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकर्षण गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए । “यो वर्ष जे भइरहेको छ त्यो मापन गर्न सकिनेभन्दा परको छ,” उनले भने ।
“महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसंख्या लकडाउनको कारण सकसमा छ, अन्तर्राष्ट्रिय व्यापार कम भइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटकहरू कम छन्,” उनले भने, “त्यसको परिणामस्वरूप थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन् ।”
आर्थिक प्रणालीमा केही गहिरो समस्या भएको उनको भनाइ छ ।
अक्सफामको प्रतिवेदन फोब्र्स, विश्व बैंक जस्ता संस्थाको तथ्याङ्कमा आधारित छ । शीर्ष १० धनाढ्यको सम्पत्ति सात खर्ब अमेरिकी डलरबाट १५ खर्ब डलर पुगेको छ । जबकि १६ करोडभन्दा धेरै मानिसहरू दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेका छन् । अक्सफामले महामारी नभएको त्यस्तो अवस्था हुँदैनथ्यो भनेको छ ।
विश्व बैंकले देनिक ५.५० डलरको कमाइको आधारलाई उच्चमध्यम आय भएका देशको गरिबी मापन गर्न प्रयोग गर्छ ।
विश्व बैंकबाट प्राप्त हुने तथ्यांकमा आधारित हुने अक्सफामको प्रतिवेदनले स्वास्थ्यस्याहार, भोकमरी, लैङ्गिक हिंसा र जलवायुका असरले प्रत्येक चार सेकेन्डमा एक जनाको मृत्यु गराइरहेको जनाएको छ । बीबीसीबाट
वि.सं.२०७८ माघ ३ सोमवार ११:५७ मा प्रकाशित





























