कठमाडौं । सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको शुक्रवार बसेको बैठकले तीनै निकायको निर्वाचनको विषयमा संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने बताएको छ ।
आगामी निर्वाचनका लागि मिति तोक्ने विषयमा छलफल गर्न शुक्रवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका विषयमा संविधानविद्हरुसँग छलफल गरेर अगाडि निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
‘स्थानीय निकायको निर्वाचनलाई कसरी संविधानको भावना र मर्म अनुसार यसबारमो गम्भीर रुपले छलफल भएको छ,’ बैठक लगत्तै पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले भने, ‘संविधान र कानुनमा केही कुराहरु दुविद्या छ त्यो दुविद्यालाई कसरी हटाउने भन्ने बारेमा पनि छलफल भएको छ ।’
उनले बैठकमा स्थानीय सरकारलाई कसरी प्रभावकारी र मजबुत बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर रुपमा छलफल भएको बताउँदै नेपालको संविधानले पाँचवर्ष स्थानीय सरकारका पदावधिको परिकल्पना गरेको हुनाले तीनै तहमा कुन मितिलाई पाँचवर्षको मान्ने भन्ने विषयमा थप छलफलको अनवस्यकता भएको बताए ।
प्रवक्ता कार्कीले तीनैतहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्ने विषयमा पनि छलफल चलेको र एक÷दुई दिनमै यो छलफल निष्कर्षमा पुग्ने समेत बताए ।
वि.सं.२०७८ माघ ७ शुक्रवार २१:४१ मा प्रकाशित




























