दमौली । स्रष्टा पदयात्रा काठमाडौको आयोजनामा तनहुँको प्रसिद्ध व्यासगुफादेखि पर्यटकीय नगरी बन्दीपुरसम्म पदयात्रा सुरु भएको छ ।
विभिन्न जिल्लाका साहित्यकारको सहभागितामा धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल बन्दीपुरसम्म पदयात्रा सुरु भएको हो ।
व्यासगुफामा आज आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रामा सहभागी साहित्यकारलाई विदाई गर्दै साहित्यका माध्यमबाट व्यास क्षेत्रको प्रचारप्रसार गरिदिन आग्रह गरेका छन् । व्यास, पराशर, छाब्दीवाराही, तनहुँसुर, गलेखामकोटको संरक्षण र उजार गर्ने अभियानमा नगरपालिका क्रियाशील भएर लागेको बताउँदै उनले भने, “सांस्कृतिक र साहित्यिक पक्षको संरक्षण गर्न प्राज्ञसभा गठनको प्रक्रिया अगाडि बढाएका छौ ।”
व्यासका अध्येता काशीनाथ न्यौपानेले श्रीकृष्ण द्वैपायनको रुपमा २८ औं व्यासको जन्म दमौलीमा भएको प्रमाण रहेको भन्दै यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको बताए । व्यासभूमि दमौलीको प्रचारप्रसारका लागि लागेपनि यसको विकास हुन नसकेकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकामा उनले जोड दिए ।
व्यासगुफा र बन्दीपुरको पर्यटन, संस्कृति, पुरातत्व महत्वको प्रचारप्रसार गर्ने उद्देश्य सहित पदयात्रा सुरु भएको हो । विसं २०७३ सालमा सुरु भएको स्रष्टा पदयात्राको तनहुँको श्रृङ्खला ५७ औं हो । स्रष्टा पदयात्राले काठमाडौबाट यो अभियान सुरु गरेको मन्दिरा मधुश्रीले जानकारी दिइन् । उनले भनिन् , “नयाँ नयाँ ठाउँ पुगेर रचना सिर्जना गर्ने र त्यसलाई पुस्तकमार्फत् प्रचारप्रसार गर्ने उद्देश्यसहित स्रष्टा पदयात्रा सुरु गरेका हौ ” ।
रासस/फाइल फोटो
वि.सं.२०७९ वैशाख ३ शनिवार १५:२४ मा प्रकाशित






























