काठमाडौं । नेकपा (एमाले)ले फेरि संसदमा अवरोध गरेको छ । शुक्रबार बसेको संसद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेको विरोधमा एमालेले संसद अवरोध गरेको हो ।
आयल निगमलाई निजीकरण गर्न लागिएको भन्दै अध्यक्ष ओलीले बिहीबारको बैठकमा सरकारको आलोचना गरेका थिए । ओलीको उक्त अभिव्यक्ति आधारहीन र राजनीतिक पूर्वाग्रही भएको भन्दै मन्त्री बडुले आलोचना गरेका थिए ।
मन्त्रीको बडुले अध्यक्ष ओलीको विषयमा टिप्पणी गर्दै गर्दा एमाले सांसदहरुले सुरुमै नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले मन्त्री बडुको अभिव्यक्ति संसद रेकर्डबाट हटाइनुपर्ने माग गर्दै छानबिन समिति गठनको माग गरेका थिए ।
मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेको निरन्तर अवरोध पछि सभामुखले संसद बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
भिडियाेमा हेर्नुहाेस् संसदभित्रकाे झगडा
वि.सं.२०७९ जेठ १३ शुक्रवार ११:५४ मा प्रकाशित






























