काठमाडौं । करेन्ट लागेर विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको छ ।
नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका–१३ मुदनपुराका १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पंखा पल्टिएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाही, गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका–४ हरिहरपूर बस्ने ६५ वर्षीय निम बहादुर भुसालको पनि सोमबार राति करेन्ट लागेर मृत्यु भएको छ ।
आफनो घर पछाडी रहेको टिनको पालीमा विद्युतको तार टुटेको देखेपछि मर्मत गर्न गएका उनी करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:०० मा प्रकाशित






























