
काठमाडौं । काठमाडौं महानगर पालिकाभित्र क्लबको नाममा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको पाइएको छ । सार्वजनिक सम्पत्तिको संरक्षणको नाममा खुलेका क्लबहरुले उल्टै उक्त सम्पत्तिको दुरुपयोग गरेको पाइएको हो । तर, सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहँदा काठमाडौं महानगरपालिका भने मुकदर्शक बनेको छ ।
स्वतन्त्रबाट महानगरको मेयरमा जितेका बालेन्द्र साहले काठमाडौंलाई सुन्दर बनाउने भनेर फुटपाथ र सार्वजनिक ठाउँमा व्यवसाय गर्नेहरुलाई हटाइरहँदा सार्वजनिक सम्पत्ति नै कब्जा गरेर बसेका क्लबमाथि भने मौनता देखाएका छन् । उनले पटक–पटक प्रश्न उठेको भएपनि त्यता तिर वास्ता गरेका छैनन् ।
साँधुरो मख्खन गल्लीमा क्लबको व्यापार
काठमाडौं महानगरका गल्लीहरु प्रायः साँघुरा छन् त्यसमाथि बाटोको दुवै छेउ र भित्तामा पसल अनी दूई पाङ्ग्रे सवारी साधनपनि भएपछि पैदल यात्री भने यात्रा गर्न झनै कठिन हुने गरेको छ । महानगरकाभित्रको विभिन्न ठाउँमा यस्ता गल्लीहरु छ्यापछ्याप्ती छन् जहाँ सडकका दुई पेटी पसल गर्न प्रयोग गरिएको हुन्छ । उदाहरणका लागि विश्वसम्पदा सुचीमा सुचिकृत स्थानहरुलाई लिन सकिन्छ । जस्तैः पशुपतिनाथ मन्दिर वरिपरिका पसलहरुलाई पनि लिन सकिन्छ ।
काठमाडौं महानगरपालिकाले सडक किनारका पसल तथा फुटपाथ पसलहरु हटाइ रहेको छ । महानगरपालिकाले पसल दर्ता गरेरै खोलिएको सिटी सेन्टर अगाडीका पसलसमेत हटाएको छ । यसरी सडक छेउका पसल हटाउने महानगरपालिकाले विश्वसम्पदा सुचीमा सुचिकृत हनुमान ढोका नजिकै रहेको मख्खन गल्लीको पसलहरु भने देखेको छैन । यस विषयमा समाचार संकलन गर्न गएका संसार न्युज टिमलाई समाचार संकलनमा समेत क्लबका मान्छे हुँ भन्दै अवरोध पुर्याएका छन् ।
महानगरपालिकाको वडा नम्बर २४ को मख्खन गल्लीमा छानो नै हालेर पसल संचालन गरिएको छ । त्यही मख्खन गल्ली नजिकै दूई वटा क्लबहरु महादेव मख्खन क्लब र मख्खन युवा क्लबसमेत रहेका छन् । सार्वजनिक ठाउँमा पसल संचालन गर्न नपाउने नियम भएपनि सो गल्लीमा पसल संचालन गरिएको छ । सो पसलहरु स्थानीय क्लबहरुले नै सञ्चालन गराएका हुन् ।
यस सम्बन्धी हामीले वडा अध्यक्ष विनोद राज भण्डारीसँग बुझ्न खोज्दा उनले स्थानीयले पसल संचालनको अनुमति दिएको भन्दै यस विषयमा आफुले बोल्न नमिल्ने बताएका छन् । उनले यस विषय आफुसँग सम्बन्धित नभएको बताउदै आफ्नो कार्यक्षेत्र त्यसभित्र नपर्ने बताए ।
साँघुरा सडक वा गल्ली छेउछाउ राखिएका पसलले पैदल यात्री भने समस्यामा पारिरहेको छ । मख्खन गल्ली त एक नमुना मात्र हो । नगरपालिकाभित्र यस्ता गल्ली त अनगिन्ती भेटिन्छन् । तर, यस सम्बन्धमा सम्बन्धित नियामक निकायले ध्यान दिन भने जरुरी छ ।