काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि मनोनयनको मिति नजिकिँदै जाँदा को उम्मेद्वार हुने भन्ने दौड सुरु भएको छ । जसमा मुख्यगरी कांग्रेस, एमाले, एकीकृत समाजवादी र लोसपाले चाहना राखेको छ ।
नेपाली कांग्रेस माओवादी केन्द्रसहितको समर्थनमा राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ भने एमालेले सकेसम्म आफ्नै नभए एकीकृत समाजवादीलाई अगाडि सार्ने तयारी गरेको छ । यस्तोमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरलाई सम्भावित उम्मेदवारको रुपमा अघि सारेको छ ।
मतभारका हिसाबले सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्र निर्णायक शक्ति भएको कारण दलहरुले निर्णय लिन सकेका छैनन् । तथापी, कसलाई उम्मेदवार बनाउने भन्ने दौड भने सतहमै देखिएको छ ।
अहिले खासगरी माओवादी केन्द्र कांग्रेसलाई नै राष्ट्रपति दिएर जानेगरी खुल्न थालेको छ भने एमाले सकेसम्म आफ्नै नभए एकीकृत समाजवादीलाई अगाडि सार्ने तयारी गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अनौपचारिकरुपमा प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले पार्टी एकतासहितको प्रस्ताव नेपाललाई गरेका छन् । तर, एकीकृत समाजवादीलाई दिने औपचारिक निर्णय भने एमालेले लिइसकेको छैन । तथापी, एसका अध्यक्ष माधव नेपाल अन्य दलको सहमति जुटाउन भने दौडधुपमै देखिएका छन् ।
बताइएअनुसार ओलीले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सामु एमाले उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम पेश गरेका छन् ।
माधव नेपालको नामप्रति सकारात्मक भएपनि माओवादी केन्द्र पूर्ण सहमत भने देखिएको छैन । पार्टी एकता नै गर्नेगरी तयारीमा एमाले देखिएपछि माओवादी पछि हटेको हो । यसबीच माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसलाई साथ दिने बचन दिएको विषय पनि बाहिरिएको छ ।
माओवादी केन्द्रले स्वयम् कांग्रेस सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएका छन् । तर, कांग्रेसभित्र कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने भइसकेको छैन ।
वि.सं.२०७९ फागुन १० बुधवार १८:३३ मा प्रकाशित






























