
काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुलाई अन्तराष्ट्रिय विमानस्थलबाटै ट्रयाकिङ गर्नुपर्ने माग गरिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद प्रदीप पौडेलले बैदेशिक रोजगारीमा गएका युवाहरुले कतिपयले अकालमा ज्यान गुमाउनु परेको अवस्था तथा वर्षौसम्म उनीहरुको अवस्थाबारे जानकारी नपाउँदा परिवार र राष्ट्रलाई नै समस्या परेको भन्दै यस्तो माग गरेका हुन् ।
उनले विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरु विपद्मा पर्दा सरकारले समन्वय गर्न नसकेको बताउँदै मलेसियामा रोजगारीका लागि पुगेका यमलाल परियारले त्यहि ज्यान गुमाएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गर्दापनि ल्याउन नसकेको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।
‘कतिपयको मृत्यु हुन्छ तर उसको बारे परिवार वा सरकारलाई जानकारी हुँदैन । कतिपयको मृत्यु भएको वर्षौपछि मात्रै जानकारी हुने गरेको स्थिति रहेको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टदेखि नै ट्रयाकिङ गरिने व्यवस्था गरियोस्,’ सांसद पौडेलेले भने, ‘उ कहाँ गएको हो, गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ सम्झौता अनुसारको रोजगारी पायो कि पाएन ? काम गर्ने सन्दर्भमा उ विरामी पर्यो कि, दुर्घटनामा पर्यो कि ? कुनै भवितव्यमा पर्यो कि त्यसको ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’
वि.सं.२०८० असार १३ बुधवार १२:०७ मा प्रकाशित