back
CTIZAN AD

दलित भएकै कारणले गर्दा दूध बिक्री गर्न गाह्रो

वि.सं.२०८० भदौ २९ शुक्रवार

636 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् ।

सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ ।

दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताए । दैनिक १० लिटर दूध उत्पादन गर्ने गरेको बताउँदै उनले बिक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको भने । चन्द्रबहादुरले छिमेकीले दूध बेचेर वार्षिक लाखौँ कमाउने गरे पनि आफूहरुको दूध बिक्री नहुँदा आम्दानी गर्न नसकेको दुखेसो पाखो। जातीय छुवाछूत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको उनकोे भनाइ थियो ।

“दलित समुदायले उत्पादन गरेको दूध बिक्री नहुँदा धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दूध बिक्री हुन्छ”, विकले भने, “यहाँ हामी सात घर परिवार छौँ । सबैले पाँच–१० लिटर दुध दैनिक उत्पादन गर्छन् । उत्पादन भएको आधा दूध बिक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो । नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने ?”

गाउँमा आफूहरुले उत्पादन गरेको दूध अरूको सँग मिसाउँदा गाडी दुर्घटना हुन्छ भन्ने गरेको उनले सुनाए । दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयवासीले दूध नकिन्ने उनकोे भनाइ थियो । दूध बिक्री नभएपछि अचेल भैँसीपालन पनि कम गर्न थालेको विकले बताए ।

चन्द्रबहादुर जस्तै बागलुङमा धेरै दलित समुदायका घरपरिवारले उत्पादन गरेका दूध बिक्री हुँदैन । जिल्लामा सञ्चालित दुग्ध सहकारीमा बारम्बार दूध मिसाउनका लागि आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसानको भनाइ थियो ।

दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरा लगायतका वस्तुहरु बिक्री हुने गरे पनि दूध बिक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताए । सरकारले डेढ दशकअगाडि छुवाछूतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्दै आएको उनले गुनासो पोखे ।

दूध उत्पादक सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँ–गाउँबाट सहकारीले सङ्कलन गरेर ल्याएको दूध आफूहरुले बिक्री वितरण गर्दै आएको बताए । गाउँबाट सहकारी संस्थाहरुले क–कसको दूध ल्याउँछन् भन्ने जानकारी नभएको भन्दै सबै समुदायको दूध आफूहरुले बिक्री गर्दै आएको उनकोे भनाइ थियो । दूध उत्पादन, प्रशोेधन र बजारीकरण गर्दै आएको सङ्घले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमले बताए ।

उनका अनुसार दुग्ध उत्पादक सङ्घमा हाल १४ दुग्ध सहकारी संस्था आबद्ध रहेका छन् । दैनिक दुई हजार पाँच सय लिटर दूध बिक्री वितरण हुने गरेको र सङ्घमा झन्डै एक हजार पाँच सय कृषक आबद्ध रहेको गौतमले जानकारी दिए । सहकारीले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेको उनले बताए ।

अध्यक्ष गौतमका अनुसार मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ । बिक्री नभएको दूधबाट दही, पनिर, छुर्पी लगायतका परिकार बनाई बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ ।

अध्यक्ष गौतमले भने, “हामीले सबैको दूध राख्छौँ, गाउँ–गाउँका सहकारी संस्थाले क–कसको दूध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी सङ्घमा आबद्ध भएका जनसुकै किसानको दूध हामीले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पु¥याउँछौँ, बिक्री वितरण गरेर बाँकी रहेको दूधलाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने गरेका छौँ ।”

बागलुङमा सबैभन्दा बढी दूध उत्पादन काठेखोला गाउँपालिकाका साथै बागलुङ र जैमिनी नगरपालिकामा हुने गरेको छ ।

 

वि.सं.२०८० भदौ २९ शुक्रवार १५:०० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...