back
CTIZAN AD

सिप हुँदाहँदै पनि विदेशीनु पर्ने कस्ताे बिडम्बना !

वि.सं.२०८१ फागुन २७ मंगलवार

633 

shares

कमलामाई । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरुमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरु हतारोमा छन्, कोही गफमा मस्त पनि । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदै छन्, पुजन बस्नेत ।

पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा छन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्घर्ष अनुसारको कमाई भने छैन ।

पुजनले जिल्लामै केही गर्ने मनसायले अघि बढ्न नखोजेका पनि हाेइनन्  । आफ्ना साथीसँग मिलेर स्थानीय रूपमा केही काम गर्ने प्रयास पनि गरे । तर, लगानीको अभाव भयो । बैङ्कहरूले कर्जा पत्याएनन्, परिवारको आर्थिक अवस्था कमजोर थियो । तपाईंसँग सीप छ, आफ्नै व्यवसाय थाल्न सक्नुहुन्छ नि  भन्ने हाम्राे प्रस्नमा पुजनले मुस्कुराउँदै भने, “लगानी छैन । बिना धितो बैङ्कले कर्जा पनि दिँदैन । विदेश गएर पैसा कमाउँछु, अनि फर्केर यहिं व्यवसाय गर्छु ।”

रोजगारीका लागि विदेसिनु उनको रहर नभएर बाध्यता बनेकाे छ । उनले देशमै रोजगारीको प्रयास नगरेकाे पनि कहाँ हो र ! स्थानीय तहमा आइटी अफिसरका लागि आवेदन दिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा भने जति पैसा बुझाउन नसक्दा अनुत्तीर्ण गराइयो ।

“एक पटक होइन, पटक–पटक पैसा मागियो । एउटा पालिकामा आठ लाखसम्म मागियो । मैले कहाँबाट ल्याउनु त्यति पैसा ?” उनले चियाको चुस्की लिँदै भने, “त्यसैले अब विदेश जाँदैछु ।” जागिरमा लाग्न शक्तिमा भएकाहरुको सिफारिस वा घूस चाहिने तीतो अनुभव उनले निराश हुँदै सुनाए ।

हुन त, पुजनले जिल्लास्थित एक संस्थामा सीपअनुसारको काम गरिराखेकै पनि छन् । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उनीमा नैराश्यता भित्रिएको छ । बिहानदेखि राति अबेरसम्म काम गर्नुपर्छ । तोकिएको रु १० हजार मासिक तलब पनि समयमा पाइँदैन । यसले आफ्नो व्यक्तिगत जीवन निर्वाह गर्न पनि उनलाईलाई धौधौ हुन्छ ।

पुजनका धेरैजसो साथीहरू पहिल्यै विदेशीइसेकेका छन् । कोही अस्ट्रेलिया, कोही अमेरिका त कोही खाडी मुलुकमा छन् । पुजनले पनि विदेश जाने प्रक्रिया पूरा गरिसकेका छन् । उनी अब केही दिनमै इटाली जाँदै छन्। सीप भएका, केही गर्ने जोस भएका तर अवसर नपाएका पुजनजस्तै युवाहरू जिल्लाभित्र कम छैनन् । देशभित्र अवसर खोज्न धाइरहेका छन्,  तर जब भ्रष्टाचार, सिफारिस र राजनीतिक चलखेलको सामना गर्नुपर्छ, उनीहरू हार खाएर विदेसिन बाध्य हुन्छन् ।

यो केवल एकजना युवाको  मात्र कथा होइन । यो त देशमा नै केही गर्छाैं भन्ने हुटहुटी भएका लाखौँ युवाको साझा व्यथा हो । यसैका कारण विशेषगरी जिल्लाको ग्रामीण क्षेत्रमा बिहानै धारामा पानी भर्ने, खेतबारीमा जाने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवाहरु देखिँदैनन् । सुनसान देखिन्छन् गल्लीहरू । सहरको उज्यालो सपना बोक्ने युवाहरु प्रायः यहाँ भेटिँदैनन् । कोही पढ्न हिँडेका छन् त कोही रोजगारीको खोजीमा छन् । कोही भने भोलिकाे अनिश्चित यात्राबारे सोचिरहेका भेटिन्छन् ।

एक्काइस वर्षीया सविना दनुवार पनि यस्तै यात्राको दोबाटोमा उभिएकी छिन् । अहिले बिबिएस दोस्रो वर्षमा अध्ययन गर्दैछिन उनी, तर उनको पढाइ निरन्तर रहने कि अधुरै छोड्ने भन्ने अन्योलता उस्तै छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले सुनाइन्।

सविनाका साथीहरू पनि पुजनकै जस्ताे कोही अस्ट्रेलिया गइसके त कोही दुबई । उनीहरूसँग बेलाबेला कुराकानी हुन्छ । “विदेश गएर दुःख गरे पनि यहाँभन्दा कमाई राम्रै छ,” भन्ने उनीहरूको भनाइले सविनालाई पनि त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।

“सिन्धुलीमा जागिरका अवसर सीमित छन् । जहाँ अवसर छ, त्यहाँ सिफारिस चाहिन्छ, घूस चाहिन्छ । मसँग न त बलियो स्रोत छ, न त पैसा,” सविनाले भनिन् ।

आफ्नो ठाउँमा आयआर्जन गर्ने अवसर नभेटेकी सविनालाई परिवारले विवाह गर्न दबाब दिइरहेका छन् । तर उनलाई आफ्नो खुट्टामा आफैँ उभिएर त्यो निर्णयमा पुग्ने सोच्च छ । पढ्दै, कमाउँदै गर्न कठिन सङ्घर्ष गरिरहेकी सविना अब विदेश जाने तयारीमा छिन् । पुजन र सविना त  प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा बग्रेल्ती खुलेका शैक्षिक परामर्स दाताहरूका कार्मायालयमा विद्यार्थीको भीडभाड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पाँच वर्षको अवधिमा २८ हजार ६५२ जना युवाले राहदानी बनाएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७ देखि २०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सिन्धुलीका संयोजक विजय दाहालका अनुसार गएको दुई वर्षयता बर्सेनि १० हजार युवा जिल्लाबाट पलायन भैसकेका छन् ।

वैदेशिक रोजगारी र पढाइको सिलसिलामा विदेश गएका युवाको  तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए तापनि  फर्किएकाहरुको तथ्याङ्क ती निकायसँग छैन । सुरक्षित आप्रवासन केन्द्र सिन्धुलीका अनुसार १६ वर्षयता रोजगारीका लागि विदेश गएकाहरुमध्ये १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । एघार वर्षयता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भएर फर्किएका छन् । यसरी फर्किएकाहरूले विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेर झनै पिडित भएकाे पाइएको छ ।

सरकारले देशमै रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेसिन बाध्य छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेका अनुसार सरकारले सीप भएकाहरुलाईसमेत उचित अवसर प्रदान गर्न सकेको छैन । उत्पादनमूलक क्षेत्र सीमित हुनाका साथै सरकारले उद्योग, कलकारखाना, व्यापार–व्यवसाय तथा निजी क्षेत्रलाइ प्रोत्साहित गर्ने नीति प्रभावकारी ढङ्गले लागू गर्न नसक्दा रोजगारीको अभाव झन् चर्किएको देखिन्छ । स्थानीय सरकारले पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि विशेष खालका कार्यक्रमहरु सन्चालन गरेको पाइँदैन । “सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण र प्रोत्साहन दिएको भए देशभित्रै रोजगारीको अवसर वृद्धि हुने थियो । तर त्यसो हुन नसक्दा, स्वदेशमा रोजगारी नपाएर युवाहरू विदेसिन बाध्य छन्,” युवा नेता घिमिरेले भने ।

देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको बुझाइ छ । उत्पादनमूलक उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्नसके सीप भएका युवा विदेसिने बाध्यता कम हुने पनि उनकाे बुझाइ छ । हालै तीनपाटन गाउँपालिका–१ बेलघारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर बेलुका सिन्धुलीमाडी आइपगेका महामन्त्री गगनकुमार थापाले समय सान्दर्भिक विषयमा युवाहरुसँग संवाद गरे । सहभागीहरूले बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका र समाजमा देखापरेका समस्याहरुका बारेमा सुनाएका थिए ।

महामन्त्री थापाले बेरोजगारी समस्याले युवाहरु विदेसिनु बाध्यता रहेका कुरालाई केन्द्रमा राखेर कांग्रेसले अब एक वर्षसम्म ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने जानकारी गराए ।

“रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने कांग्रेसको योजना छ । जसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुनेछ । राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगार केन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान चलाउँदैछ ।” थापाले भने ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसको योजना छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैदेशिक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्यलगायत छन् ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन भन्नेबारे अध्ययन नभएको बताए ।

आइतबारै कांग्रेसले ‘मिसन रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको उद्घोष गरेको छ । के कांग्रेसको यो अभियानले प्रतिनिधि पात्रहरु पुजन र सविना जस्ता युवाहरु विदेसिनुको बाध्यता, बेरोजगारी र यसले समाजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ला त ? याे प्रस्नकाे जवाफको खोजीमा धेरै युवा पर्खिएका छन् ।

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...