युनिभर्सिटी अफ टेक्सास एट एल पासोको नेपाली विद्यार्थी समाजले डन हस्किन्स रिक्रिएशन सेन्टरमा अगस्ट २३ शनिबारको दिन भव्य तीज मनाएको छ ।
बालबच्चाहरुको लागि फेश पेन्टिङ र बलून ट्विस्टिङ, नवअगन्तुक विद्यार्थीहरुलाई प्राकृतिक गुलाबको फूल दिएर मुस्कान सहित स्वागत, सम्पूर्ण भुपु बिद्यार्थी समाजका कार्यकारी सदस्यहरुलाई मायाको चिनो र सम्मान दिईएको थियो । तीज कार्यक्रम सफल बनाउन सम्पूर्ण तवरले लाग्ने विद्यार्थी समाजलाई सामाजिक, आर्थिक, र साँस्कृतिक सहयोग गर्नुहुने नेपाली समुदायका सदस्यहरुलाई मायाको चिनो, माया र सम्मान, नेपाली नानीबाबुहरुको नाचगान, दर खाने कार्यक्रम, जेष्ठ नागरिकहरुलाइ सम्मान समेत गएिको थियो । यसका अलवा कार्यक्रममा भव्य नाचगान भएको थियो ।
उक्त कार्यक्रम कुशल व्यवस्थापन र अत्यन्तै सुन्दर तरिकाले सन्चालन गरेकी विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले शुरुमै कार्यक्रममा उपस्थित एल पासो समुदायका दुई अभिभावक धर्म भुसाल र देउ नारायण न्यौपानेलाई अगाडी बोलाउँदा तालीको वर्षा भएको थियो । लगत्तै वहाँ अभिभावकज्यूहरुकै हातबाट नवाअगन्तुक विद्यार्थीहरुले रातो गुलाब, सहयोगी मनहरु र भुपु विद्यार्थी समाजका सदस्यहरुले नेपालको झण्डा भएको पिन लिदै गर्दा सहभागी सम्पूर्ण व्यक्तिहरुले विद्यार्थी समाजले गरेको काम प्रति निकै नै प्रशंसा गरेका थिए । कार्यक्रममा पाएको मायाले नेपालबाट पि एच डी गर्न अमेरिका पुगेका विद्यार्थीहरुका आँखा रसाएका थिए । यो कार्यक्रममा बोल्दै नेपाली विद्यार्थी समाजका सँस्थापक सचिव डा कमल न्यौपानेले बिगतमा आफूहरुले गरेको योगदानको फल लाग्दै गरेको देख्दा आफू निकै हर्षित भएको बताएका थिए ।
कार्यक्रममा एरिना भुसाल, अनश्रुता पौडेल र रितिका कोइरालाले ’तीजको रहर आयो बरिलै’ गीतमा संयुक्त नाच र गोरख तुलाचनको अङ्ग्रेजी, नेपाली र स्प्यानिश गीतमा फुर्तिलो प्रस्तुती दिंदै गर्दा उपस्थित सबै दङ्ग पर्दै नानीबाबुहरुलाई नेपाली सँस्कार सिकाएकोमा एल पासोबासी नेपाली समुदायले अभिभावकहरुलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता दिन शुभकामना पनि दिएका थिए । एल पासो समुदायकी अभिभावक शुस्मा कार्कीले कार्यक्रमलाई ’टेन आउट अफ टेन’ भन्दै आगामी दिनमा पनि विद्यार्थी समाजलाई सहयोग गर्न तत्पर रहेको बताएकी थिईन् । एलपासो बासी नेपाली समुदायले विद्यार्थीहरुलाइ गरेको अथाह माया, साथ र सहयोग नै यसको मेरुदण्ड रहेको विद्यार्थी समाजका अध्यक्ष पूर्णचन्द्र भुसालले बताएका थिए । समाजका कोषाध्यक्ष सन्जिब निरौलाले नेपाली समुदायबाट नै कार्यक्रमको प्रमूख आर्थिक सहयोग जुटेको बताएका थिए ।
उपाध्यक्ष अम्बिर खड्काले एल पासोमा नेपाली समाजको एकता अमेरिकामा नै उदाहरणीय बन्दै गएको र नवगठित विद्यार्थी समाजको कार्यकालमा यो अझै झाङ्गिदै गएको बताएका थिए । रेनुका खतिवडाको विद्यार्थी समाजप्रति गरेको निशुल्क र निस्वार्थ सेवा देखेर सबैले प्रशंसा गरेका थिए । विद्यार्थी समाजका डक्युमेन्टरियन रोशन कँडेलले तीन दर्जन तीज गीत आफैले किनेर आफै डिजे को भुमिकामा बसी सबैलाई भरपुर मनोरन्जन पनि दिन भ्याए भने माहोल तात्दै जाँदा सबै जना जुरुक जुरुक उठेर र बसेर नाचेको देखेर बिदेशीहरु पनि चकित परेको र्दश्य हेर्न लायक थियो । विद्यार्थी समाजका अति नै सक्रिय र सहयोगी सदस्यहरु शोभा लुईंटेल र नगेन्द्र कार्की, नेपाली सारीमा सजिएकी अमेरिकी समुदायकी सहभागी मरिस्सा बोन्ड, खानाको व्यवस्थापन गरेका राज कुमार बराल, रामजी भुसाल र मिनप्रसाद शर्माको आतिथ्य सत्कार तथा नमूना घिमिरेको सक्रियता उत्कृष्ट रहेको थियो ।
वि.सं.२०८२ भदौ ९ सोमवार ११:१५ मा प्रकाशित
























