भैरहवा (रुपन्देही) । उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज यहाँ मृत्यु भएको हो ।
सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उहाँ आक्रोसित देखिएका थिए ।
‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उहाँको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतःयो कारणले…’ भन्दै गर्दा उहाँ ढल्नुभएको र तुरुन्तै अस्पताल पुर्याउँदा उहाँको निधन भइसकेको भन्ने दुःखद समाचर सुन्न परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।
सो कार्यक्रममा करिब तीन मिनेट मात्र मन्तव्य राख्न भ्याएका उपाध्यक्ष गौतम अकस्मात ढलेपछि करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उनको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
वुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको टर््ेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उनले श्रमिक तथा मजदुरकै पक्षमा बोलेको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए ।
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:१६ मा प्रकाशित



























