नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८ शनिबारको दिन भव्य रुपमा दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण एल पासोबासी नेपाली समुदायलाई साँस्कृतिक एकताको मालामा बाँधेर नेपाली मन र नेपाली पनलाई ताजा राख्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाली समुदाय एल पासोको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले सम्पूर्ण नेपाली समाजलाई स्वागत गर्दै नानीहरु एरिना भुसाल, अनश्रुता पौडेल र रितिका कोइरालालाई आँफैले तयार गरेको नाच प्रस्तुत गर्न मन्चमा बोलाएपछि माहोलमा अत्यन्तै रौनकता थपिएको थियो । त्यसलगत्तै कमला आचार्यले आफ्नै स्वरमा बजारमा रहेको देउसी भैलो भट्याएर आफू नाच्दै उपस्थित सबैलाई नचाएकी थिइन ।
कमला आचार्य, राधा बश्याल र लिलाधर बश्याललाई भर्खरै नेपालबाट आउँदा बिदेशी ठाउँमा कस्तो लागि रहेको छ त ? भनेर विद्यार्थी समाजका उपाध्यक्ष अम्बिर खड्काले सोधेको प्रश्नमा उनीहरुले ‘नेपाली पन त बिदेशमा झन धेरै पोखिँदो रहेछ भनेर सबै सहभागीलाई धन्यवाद र आशिर्वाद दिएका थिए । लगत्तै विद्यार्थी समाजका अध्यक्ष पूर्णचन्द्र भुसालले अत्यन्तै सुन्दर रुपमा देउसी भैलो भट्याए भने समाजकी सक्रिय सदस्य शोभा कुईंकेलले दान दक्षिनाको लागि आव्हान गरिन् । माहोललाई रमाईलो राख्न नेपाली समाजका अगुवाहरु शुसिल भुसाल, सुश्मा कार्की, रमेश आचार्य र विद्यार्थी समाजका धेरै सदस्यहरुले फटाफट गोजीबाट डलर निकाली मन फुकाएर भैलो दान गरे । त्यसलगत्तै बिदेशी भूमिमा नेपालीपन झल्काउन नेपाली भजन गुन्जायमान गराउने उद्देश्यले लिलाधर बश्याल तथा मिनप्रसाद शर्मा, रामजी भुसाल बाट भजन टुक्का राखियो । विद्यार्थी समाजका कोषाध्यक्ष संजिव निरौला र डक्युमेन्टरियन रोशन कंडेलले पहिलो पटक विद्यार्थी समाजको कार्यक्रममा उपस्थित अतिथिहरुसँग अनुभुति शेयर गरेका थिए ।
कार्यक्रम सफल बनाउन विशेष सहयोग गरेकी नमूना घिमिरेले भेन्यू बूकिङ र खाना व्यवस्थापन गरीन् भने सजावट सामाग्रीको ब्यवस्थापनका लागि जुटेका सहयोगी हातहरु दीपा सिलवाल, हरि आचार्य, दिव्य दर्पण अधिकारी, रोशन कंडेल, रेनुका खतिवडाको सहयोगलाई विद्यार्थी समाजले प्रशंसा गरेको थियो । आफ्नो व्यस्त समयका बाबजुद सम्पूर्ण विद्यार्थी समाजका साथीहरु एवं नेपाली समाजले देखाएको सहभागिता र सक्रियताप्रति सबैले प्रशंशा गरेका थिए ।
वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:०८ मा प्रकाशित

























