यो ऐन चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित गर्ने कानुनमा मात्र सीमित रहेन, बरु नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, व्यावसायिक, प्रविधिमैत्री तथा आर्थिक रूपमा दिगो बनाउने दीर्घकालीन मार्गचित्रका रूपमा स्थापित भयो। भारत, चिन लगायत बिभिन्न देशहरु सङ्ग ‘चलचित्र सम्झौता’ भए सङ्गै अन्तर्राष्ट्रिय चलचित्र सहकार्य तथा सहनिर्माण (Co-production) का लागि कानुनी आधार तयार भएकोले विदेशी लगानी आकर्षित गर्ने, अत्याधुनिक प्रविधि र सीपको आदान प्रदान गर्ने तथा नेपाली चलचित्रलाई विश्व बजारसम्म विस्तार गर्ने अवसरहरू सिर्जना भए।
विशेषगरी विशाल दर्शक र बजार भएका छिमेकी मुलुक चीन र भारतसँग चलचित्र सहकार्य तथा वितरणको वातावरण निर्माण भएपछि नेपाली चलचित्रले अन्तर्राष्ट्रिय प्रदर्शन र OTT प्लेटफर्म मार्फत नयाँ बजारमा पहुँच विस्तार गर्न थाल्यो। यसबाट नेपाली चलचित्रको आम्दानी घरेलु बजारमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय बजारबाट समेत बढ्न थाल्यो। भारतमा नेपाली भाषी समुदाय तथा दक्षिण एशियाली दर्शकमाझ नेपाली चलचित्रको नियमित प्रदर्शनले नयाँ व्यापारिक सम्भावना सिर्जना गर्यो र आम्दानीको आकार निकै बढ्न थालयो ।
अन्तर्राष्ट्रिय बजार विस्तार सँगै दर्शकको रुचिअनुसार गुणस्तरीय चलचित्र निर्माण हुन थाले, नेपाली चलचित्रले अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा बजारमा आफ्नो उपस्थिति बलियो बनायो र स्वदेशमा पनि नेपाली चलचित्रप्रति दर्शकको विश्वास क्रमशः बढ्दै गयो। परिवारसँगै बसेर चलचित्र हेर्ने संस्कृतिको विकास हुन थालेपछि नेपाली चलचित्रको दर्शक विस्तार भयो, सफल चलचित्रको संख्या बढ्यो र लगानी सुरक्षित हुने चलचित्रहरूको अनुपात पनि उल्लेखनीय रूपमा वृद्धि हुन थाल्यो।
नेपाल सरकारले कला, अझ बिशेष गरी चलचित्रलाई अन्तरास्ट्रीय जगतमा जस्तै ‘सफ्ट पावर’ को रुपमा स्वीकारेकोले फिल्म मार्केटको स्थापना, पटकथा विकास कोष सञ्चालन, स्क्रिप्ट ल्याब, निर्देशक तथा निर्माता रेसिडेन्सी कार्यशाला, विभिन्न प्रदेशमा आर्ट तथा फिल्म रिसोर्स सेन्टर स्थापना, चलचित्र लगानी कोष निर्माण तथा प्रभावकारी परिचालन, नेपालमा आयोजना हुने प्रभाबकारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, मास्टरक्लास तथा अनुसन्धानमूलक सिर्जनात्मक कार्यक्रमहरूको सञ्चालनमा सरकारको सहकार्य र प्राथमिकताले नेपाली चलचित्र क्षेत्रमा नयाँ सिर्जनात्मक ऊर्जा थप्यो। यसले गुणस्तरीय कथा, सशक्त पटकथा, सक्षम निर्देशक, दक्ष निर्माता तथा अन्तर्राष्ट्रिय स्तरका चलचित्र निर्माणका लागि आवश्यक वातावरण तयार गर्यो।
चलचित्र उद्योगको आर्थिक तथा व्यावसायिक पक्षलाई सुदृढ बनाउन निर्माता, वितरक तथा चलचित्र व्यवसायीहरूका लागि मार्केटिङ, अन्तर्राष्ट्रिय वितरण, चलचित्र बिक्री, बौद्धिक सम्पत्ति संरक्षण, डिजिटल अधिकार व्यवस्थापन तथा OTT प्लेटफर्मसम्बन्धी तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन भए । यसबाट चलचित्रको व्यापारिक दायरा विस्तार भयो, लगानीको जोखिम घट्यो, नयाँ अन्तर्राष्ट्रिय बजार खुल्दै गए र डिजिटल माध्यमबाट प्राप्त हुने आम्दानी उल्लेखनीय रूपमा बढ्न थाल्यो।
विश्वविद्यालय, फिल्म स्कुल तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी छात्रवृत्ति, फेलोसिप, अनुसन्धान तथा युवा फिल्ममेकर विकास कार्यक्रम सञ्चालन गरिए। यसले नयाँ पुस्ताका लेखक, निर्देशक, निर्माता तथा प्राविधिकहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्दै चलचित्र उद्योगमा दक्ष र सक्षम पुस्ता विकास गर्ने आधार तयार गर्यो। साथै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय ब्रान्डिङ, विश्वका प्रमुख फिल्म फेस्टिभल, फिल्म मार्केट तथा OTT प्लेटफर्महरूमा नियमित सहभागिता सुनिश्चित गरियो, जसले नेपालको कला, संस्कृति, भाषा र मौलिक कथाहरूलाई विश्वमञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्यायो।
नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यका रूपमा विकास गर्न One-Stop Film Commission, Tax Rebate तथा Cash Rebate, Cash subsidy जस्ता नीतिगत व्यवस्थाहरू लागू गरिए। त्यससँगै छायांकन अनुमति प्रक्रियालाई सरल, पारदर्शी र छिटो बनाइयो। परिणामस्वरूप विदेशी चलचित्रहरूको छायांकन नेपालमा उल्लेखनीय रूपमा बढ्यो, पर्यटन, होटल, यातायात, निर्माण, सेवा तथा स्थानीय रोजगारीमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्यो र विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय वृद्धि भयो।
आधुनिक चलचित्र प्रविधिलाई प्राथमिकतामा राख्दै VFX, CGI, Dolby Atmos, Color Grading, Animation, Virtual Production तथा Post-production जस्ता क्षेत्रमा अत्याधुनिक फिल्म प्रशिक्षण केन्द्रहरू स्थापना भए। दक्ष प्राविधिक जनशक्ति उत्पादन हुन थालेपछि विदेशमा निर्भरता घट्दै गयो, उत्पादन लागत कम भयो र नेपाली चलचित्रको प्राविधिक गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भएको र नेपाल ठुला र बिकसीत देश चाइना र भारतको बिचमा भएकोले विश्वको ब्यबसायिक रणनितिमा नेपाल पर्न थाले पछी यो देश अन्तरास्ट्रीय चलचित्रको पनि ‘हब’ बनेको छ ।
त्यसैगरी, नियमित Box Office प्रणाली, Audience Research तथा चलचित्र उद्योगसँग सम्बन्धित तथ्याङ्कको व्यवस्थित संकलनलाई संस्थागत गरियो। तथ्यमा आधारित नीति निर्माण, दीर्घकालीन योजना, लगानी विश्लेषण तथा बजार अनुसन्धानका आधारमा चलचित्र उद्योगलाई अझ पारदर्शी, योजनाबद्ध, उत्तरदायी र लगानीमैत्री बनाउने वातावरण निर्माण भयो।
समग्रमा, चलचित्र बिकास बोर्ड को कुसल नेत्रित्वको कारण चलचित्र शिक्षा देखि अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि, लगानी, बजार विस्तार, डिजिटल रूपान्तरण, पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति र रोजगारी सिर्जनासम्मका सबै पक्षलाई समेट्ने दीर्घकालीन विकासको स्पष्ट आधार तयार गर्यो। प्रभावकारी कार्यान्वयन, सबै सरोकारवालाबीचको सहकार्य र दृढ संस्थागत प्रतिबद्धताका कारण नेपाली चलचित्र उद्योगले राष्ट्रिय सीमाभन्दा बाहिर आफ्नो पहिचान स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्र बजारमा आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्ने नयाँ युगको सुरुवात गरेको खुशीमा हुर्रे ‘‘.. हत्तेरिका ! निन्द्रा खुलिहाल्यो नि ”
(सपनाको कथा- भाग ३ बाट)
वि.सं.२०८३ साउन ४ सोमवार ११:२५ मा प्रकाशित
























