back

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

वि.सं.२०८२ कात्तिक ३ सोमवार

8.7K 

shares

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् । जनयुद्धको अन्तर्राष्ट्रियकरणको शिलशिलामा चेन्नाइबाट युरोप लाग्दै गर्दा पक्राउ परेर कुनैबेला लोकप्रिय कैदी बन्न पुगेका सीपी अर्थात् चन्द्रप्रकाश गजुरेल ‘गौरव’ महासचिवमा चयन भएका हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले बैठकले महासचिवबाट मोहन वैद्य किरणको राजिनामा स्वीकृत गर्दै गौरवलाई महासचिवमा चयन गरेको हो ।

दुई बर्ष यता अस्वस्थ रहेका महासचिव मोहन वैद्य किरणले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिएको राजिनामा स्वीकृत गर्दै १० महिना यता कार्यवाहक महासचिवको काम गरेका गौरवलाई सो पार्टीले महासचिव बनाएको हो । कार्यवाहक महासचिव गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९ देखि कात्तिक १ मा सम्पन्न केन्द्रीय समितिको बैठकले महासचिव गौरवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई छलफलपश्चात आएका सुझाबहरु समेटेर प्रतिवेदनलाई समृद्ध तुल्याउने गरी सर्वसम्मत रुपमा पारित गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ ।

सो बैठकले जेनजी विद्रोहपछि बदलिदो परिस्थितिको ठोस विश्लेषण गर्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बिच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा व्यापक संघर्ष उठाउन पहल गर्ने निर्णय गरेको बताइएको छ ।

को हुन गौरव ?रामेश्वर र टेककुमारीका जेठा छोराका रुपमा २००५ चैत्र २० गते सिन्धुलीको राममाडीमा गोरव जन्मेका हुन् । उनको परिवार मौजावाल थियो । उनका दुई छोरा र दुई छोरी छन् । सबैले बाबुको भूमिगत र क्रान्तिकारी जीवनको अनुभुत गरेका छन् । संस्कृतको शीक्षक घरमै राखेर पढाईएका उनले सिद्धेश्वर प्राबि हुँदै कमला माविबाट २०२१ मा एसएलसी र त्रिचन्द्र कलेजबाट आईएस्सी र बिएस्सी उत्तिर्ण गरेका थिए ।

आइएस्सी पास गरेपछि उनी उनी आफैले पढेको कमला हाई स्कूलमा विज्ञान शिक्षक बन्न पुगे । शिक्षक पेशा अँगाले पनि उनको मुख्य काम जिल्लामा कम्युनिष्ट पार्टी बनाएर संघर्ष अगाडि बढाउन र जिल्ला बाहिर पनि कम्युनिष्ट राजनीतिको विजारोपण गर्नमा केन्द्रीत हुन्थ्यो । सोहि उद्देश्यसहित रामेछापको गौरी शंकर हाई स्कूलमा र दोलखाको जिरीमा स्वीस सरकारको सहयोगमा स्थापित जिरी बहुउद्देश्यिय हाई स्कुलमा सिपीले तीन वर्ष जति पढाए भने सिन्धुलीकै रातमाटाको प्रगतिशिल हाई स्कूलमा पनि छोटो समय पढाए । उनी दिउसो स्कूलमा पढाउँथे, राती राती जनतालाई जम्मा पारेर राजनीतिक क्लासहरु दिने गर्दथे । कम्युनिष्ट विचारको प्रचार गर्न र जनतालाई संगठित गर्न उनले नाटक लेख्ने, खेल्ने, पुस्तकालयहरु संचालन गर्ने, पौढ शिक्षाहरु संचालन लगायतका काम पनि गरेका थिए ।

उनी २०२४ मा पार्टी सदस्यता पाएपछि २०३४ मा पुर्णकालीन र २०३७ मा केन्द्रीय सदस्य भएका थिए । चीनमा भएका परिवर्तनले के दर्शाउछ, ऐतिहासीक भौतिकवाद के हो, पेरु क्रान्तिबारे, निवाृचनबारे सहि दृष्टिकोण के हो, तीन महापुरुषको जीवनी लगायत पुस्तक तथा मधु खण्डकाव्य, प्रतिरोध कथासङ्ग्रह, झुल्के घाम (कथासंग्रह) र देशभक्तिमा खडेरी (निबन्धसंग्रह) लगायतका प्रकाशन तथा संजीव, प्रवेश र गौरव उपनामबाट सयौ लेखहरु प्रकाशन, पचासौं अनुवाद र नेपाली संदेश र नेपाली एकता जस्ता पत्रिका उनले संपादन गरेका छन् । २०३९ देखि नै बिदेश बिभागको जिम्मेवारी लिएका उनी २०४८ अघि प्रवास ईन्चार्ज र पछि मध्यमांचल र पुर्वाचंल ईन्चार्जको रुपमा काम गरेका छन । शुरुमा सिन्धुलीका सिन्धु कहलिएका गजुरेल २०४७ मा तत्कालीन मोटो मशालको खुला संगठन नयाँ जनवादी मंचको संयोजक बनि ६७ जिल्लामा समिति निर्माण गर्दै धमाका दिएपछि उनी माओवादी आन्दोलनकै गौरवका रुपमा चिनिएका हुन । माओवादी पार्टी निर्माण हुनुभन्दा पहिले नै ५० प्रतिशत संपति पार्टीकरण गरेका उनले त्यसबाट पनि अपुग हुदा अरु सम्पति बेचेर आन्दोलन र संगठनमा लगानी गरेका थिए ।
गौरव २०४७ मा नेकपा (एकताकेन्द्र) को पिविएम, १० वर्षे जनयुद्धमा बैचारिक नेताको भूमिका, २०६५ मा नेकपा (माओवादी) को सेक्रेटरीयट सदस्य, २०६७ मा एनेकपा (माओवादी) केन्द्रीय समिति सचिव, २०६९ मा नेकपा (माओवादी) को केन्द्रीय उपाध्यक्ष, २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालय सदस्य र २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वरिष्ठ नेता रही काम गरेका थिए । उनी २०६४ सालमा सिन्धुली जिल्ला क्षेत्र नं २ बाट प्रत्यक्षतर्फबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

जेलबाट निस्किदा कमजोरी गरेको आरोप र मध्यपंथी चरीत्र भन्ने बाहेक उनलाई कसैले खोट लगाएको पाईदैन । उनको त्याग, बैचारीक निष्ठा र समर्पण माओवादी सस्कृतिबाट टसमस भएको छैन । माओवादी राजको अत्याधिक चुरीफुरीमा पनि उनी राजकीय जिम्मेवारी बिहीन बनाइए । नमिठो सत्य यो हो की हाल उनी महासचिव हँदा पनि सबै माओवादी समेटेर एकिकृत बनाउने बिषयमा उनको संकिर्णता फराकिएको छैन ।

गौरव उर्फ बिश्व प्रसिद्ध कैदी
माओवादी नेता सीपी गजुरेल गौरव कुनै समय बिश्व प्रसिद्ध कैदीका रुपमा चर्चित थिए । कोलम्बिया देखि कोलम्बोसम्म संसारका ६३ देशमा उनको रिहाईका फोटाले भित्ता सजिएका हुन्थे । नेदरल्याण्ड बसेर माओवादीहरुको संजाल फैलाउने जोशे मारीया शिशोन देखि टर्की, फीलिपिन्स, पेरु तथा युरोपका कम्युनिष्ट पार्टी तथा मोर्चाहरुले उनको जीवन रक्षा तथा रिहाईका लागी धमाका साथ आवाज उठाएका थिए । यतिसम्म हुन्थो की ती पार्टीका बैठकहरुको प्रस्तावमा पनि गौरव पर्दथे भने बैठक अन्तको नारावाजीमा पनि उनको नाम घन्केको हुन्थ्यो । उनी जनयुद्धको उत्तरार्धमा चेन्नाई एअरपोर्टबाट २०६० मा पक्राउ परी २०६३ को शान्ति प्रक्रिया पछिसम्म पनि उनी भारतीय जेलमा ३ बर्ष बसेका थिए । उनीभन्दा वरिष्ठ नेता किरण संगै जेलमा रहदा पनि उनी यो अवधिमा ससारकै लोकप्रिय कैदी बन्न पुगेका थिए ।

उनले यसअघि राष्ट्र विप्लवको मुद्दामा २०३५ सालदेखि २०३७ सम्म सिन्धुली, जलेश्वर, मलंगवा, वीरगंज, काठमाडौं सेन्ट्रल जेल, नखु लगायत पछिल्लो चेन्नाई सम्म गरी जेलहरुमा साढे ६ बर्ष जेल जीवन विताएका थिए । खास गरी सिन्धुलीमा पटक पटक सार्वजनिक सुरक्षा ऐन अन्तर्गत उनलाई जेल र हिरासतमा राख्ने गरिएको थियो । २०३६ सालको जनमत संग्रहका दौरानमा सबै राजबन्दीको आम माफीमा काठमाडौँको नखु जेलबाट उनी रिहा भएका थिए । जनयुद्धको बेला २०६० सालमा भारतको चेन्नेइबाट लन्डन जान थालेको बेला एयरपोर्टबाट नै उनी गिरफ्तार भएका थिए । नेपालमा शान्ति सम्झौता र त्यसपछि विकसित राजनीतिक परिस्थितिमा भारतको केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारबाट मुद्दा फिर्ता लिईएपछि उनी जल्पाईगुडी जेलबाट मोहन वैद्य किरणसँगै २०६३ सालमा रिहा भएका थिए ।

प्रचण्ड र गौरवको यस्तो छ कथा
कम्युनिष्ट आदोलनको क्रान्तिकारी धारमा टुटफुट र बिभाजन आएसंगै पार्टीमा टेकनाम परिवर्तनको प्रसंग आउँदा नाम फेर्ने प्रस्तावमा शुरुमा रणधिर र संजीव उपनाम भएका गजुरेलले आफनो नाम ‘प्रचण्ड’ प्रस्ताव गरेका थिए तर ‘बिश्वास’ नामका कामरेडले संजीवको ‘गौरव’ र विश्वासको ‘प्रचण्ड’ नाम ओके गरौं भनेपछि उनीहरुले सहमतिमा नाम बदलेका थिए । यस्तो सहमतिमा अघि बढेका प्रचण्ड र गौरवको आत्मीयता भने पछिसम्म उस्तै नरहेको देखिन्छ । मोटो मशाल कालमै भएको ०४३ बैशाख १४ गतेको सेक्टर काण्डपछि चिसोपन नया रुपले बल्झदै गयो । मोहन बैद्यले २०४५ पछि पार्टी महासचिवमा प्रचण्डको नाम प्रस्ताव गरेपछि स्वभाविक दावीमा रहेका गजुरेलमा चिसो पसेको पनि भनिन्छ । तर नयाँ आधारमा नया एकताको फर्मुलाका प्रणेता प्रचण्डले गौरवको सम्मान गर्दै साथमा लिए । २०४७ को खुला अवस्थामा गौरव बढि चर्चामा पनि ल्याईए । तर यो फर्मुला लामो टिकेन । पार्टीमा बाबुरामको एकतासंगै गौरवलाई पुछने क्रम कम भयो ।

जनयुद्धकालका जिम्मेवारीमा पनि एक अर्काप्रति खोट लगाउने प्रवृति देखियो नै । पार्टीका आन्तरिक दस्तावेजमा कुनै न कुनै प्रकारले त्यस्ता बिषय र घटनाक्रम उल्लेख छन् । जनयुद्ध पछिको शान्ती प्रक्रिया, सेना समायोजन, जिम्मेवारी बाँडफाँड लगायतमा कुनैन कुनै प्रकारले भिन्न मत राखेका गौरवले किरणसंगै २०६४ साउन काठमाडौँको बालाजु विस्तारित बैठक, २०६५ पुसमा भएको भक्तपुरको खरिपाटी बैठक र २०६७ मंसिरमा गोरखाको पालुङटारमा भएको विस्तारित बैठकमा प्रचण्डको बिरोध नै गरे । २०६९ असारमा विद्रोह गरी असार ५ गते क्रान्तिकारी माओवादी नामको पार्टी गठन गरेका किरण र गौरवले पार्टी फुटको औचित्यतता कागजमा बाहेक गर्न सकेका छैनन् । जनविद्रोहको नीति लिएर माओवादीबाट अलग भएको १३ वर्ष बितिसक्दा विद्रोहको झिल्को बाल्न नसकेको आरोप उनीहरुलाई छ । संगै बिद्रोह गरेका बिप्लव र प्रकाण्ड तथा एकता गरेका धर्मेन्द्र बास्तोलाहरु अहिले संगै छैनन् । कैयो अपमान सहँदा पनि गौरवले किरणको मर्यादा गरिरहे । झण्डै ४५ वर्षपछि गौरवलाई उनै किरणले महासचिव पद हस्तान्तरण गरेका छन् ।

चुनौती र संभावनामा गौरव
पार्टीको खुला सगठनमा नेतृत्व गरेका गौरवले बिजय शर्माको नामबाट नेपाली एकता समाज भारत, नयाँ जनवादी मंच नेपाल र पछिल्लो पटक देशभक्त जनगणतान्त्रीक मोर्चाको अध्यक्ष सम्हाले । यतिबेला उनी पार्टी महासचिव बनेका छन । माओवादी धारका मुख्य संस्थापक उनी माओवादका ब्याख्याता पनि हुन् । जनयुद्ध लडेका किरण, गौरव, शुदर्शन, प्रतिक,बसन्त, सागर (दिनेश शर्मा),अटल लगायतको माओवाद मान्ने एक पंक्ति तथा मोहनबिक्रमकालीन रामसिह श्रीश, परी थापा, सिताराम तामाङ लगायतको माओ बिचार भन्ने अर्को पंक्ति गौरवले नेतृत्व गरेको पार्टीमै छ । त्यसबाहेक क्रान्तिकारी माओवादीका नेताहरुलाई अझै आदर्श ठानेर एकता गनुपर्छ भन्ने नेकपा (माओवादी केन्द्र) भित्रको बिशाल क्रान्तिकारी पंक्तिले पनि गौरवको आगामी अपिल चासो र सावधानीपूर्वक हेरिरहेको छ । एकतामैत्री सभ्यतामा जाँदा गौरवले हिजोको भन्दा बढि गौरव पाउने र साँघुरो हुदै जाँदा अर्को सीपी (सीपी मैनाली) बन्ने खतरा उत्तिकै छ । तर धेरै मानिस चाहिरहेका छन् गौरवको गौरव गाथा क्रान्तिको बाकी काम सम्पन्नतामा जोडिनेछ । गौरवका चालहरुले कस्तो छाल पैदा गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।

 

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार १२:५७ मा प्रकाशित

Himalayan Life AD
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

काठमाडौँ । नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो...

नेपालको सन्दर्भमा विकास अर्थशास्त्रको अर्थराजनीतिक आयाम

नेपालको सन्दर्भमा विकास अर्थशास्त्रको अर्थराजनीतिक आयाम

विकास अर्थशास्त्र कम आय भएका (विकासशील) देशहरूमा आर्थिक वृद्धि र...

के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

एकै किसिमको स्वाद, गन्ध र स्वरूप भएका मुलामा तात्विक भिन्नता...

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

खाद्य तथा पोषण मानव जीवनको लागि अति महत्वपूर्ण वस्तु हो...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...

बिहारको निर्वाचन र नेपालमा प्रभाव

बिहारको निर्वाचन र नेपालमा प्रभाव

भारतको बिहार राज्य अहिले पुनः एउटा निर्णायक राजनीतिक मोडमा प्रवेश...