back
CTIZAN AD

वाह ! मन्त्रीहरूको सम्पत्ति

वि.सं.२०८३ वैशाख ३ बिहीवार

3K 

shares

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को झलक देखे। सम्पत्ति विवरण पढ्दै जाँदा कसैले जिब्रो टोके। कसैले आँखा मिचे । अनि कसैले त सीधै ‘र्‍यार’ छाडे । संम्पती विबरण पढेर अंकहरू होइन कुनै दन्यकथाको खजाना गनिरहेका छन।

कतिपयले मन्त्रीहरूसँग भएको सुनको परिमाण सुन्दा नै चित खाए। अझ केहीले त आफ्नो घरमा भएका सबै गहना एकैचोटि लगाएर आफैँलाई समेत तराजुमा राखेर तौले। तौलदा थाहा पाए- मन्त्रीहरूको सुनसँग तुलना गर्न खोज्नु भनेको आकाशलाई हातले नाप्नुजस्तै रहेछ।

आफूलाई निकै धनी ठान्नेहरू पनि खिस्सिक्क परे। आफ्नै हैसियतमा गर्व गर्नेहरू मन्त्रीहरूको सम्पत्ति विवरण देखेपछि केहीबेर मौन भए। मानौँ उनीहरूको “धनीपन” को शब्दकोश नै पुरानो भइसक्यो र अब नयाँ संस्करण मन्त्रीहरूकै जीवनकथाबाट लेखिनुपर्ने भयो।

कतिले मन्त्रीहरूको बैंकमा थुप्रिएको रकम र सेयरमा लगानी गरिएको पैसाको हिसाब-किताब गर्न औँलै भाँचेर बसे। दुबै हातका औँलाले पनि पुगेन र अन्ततः खुट्टाका औँलासमेत जोडेर गन्नु पर्‍यो। त्यतिबेला मात्रै थाहा पाए खुट्टाका औँला चप्पल अड्काउन मात्रै होइन  “राष्ट्रिय स्तरको हिसाव” गर्न पनि काम लाग्दारहेछन्।

कतिपयले त मन्त्रीहरूसँग भएको सुन तोलाबाट धार्नीमा रूपान्तरण गरेर बुझ्ने प्रयास गरे। मानौँ सुन होइन ठूलो रागोको मासुको हिसाव तोलामा नापजोख गरे जस्तो। जति रुपान्तरण गर्‍यो उती जटिल। अन्त्यमा निष्कर्ष निस्क्यो – यो त हाम्रो दिमागको सिलेबसभन्दा बाहिरको पाठ रहेछ!

साँचै भन्नुपर्दा यति ठूलो हिसाब-किताब साधारण जनताले गर्न सक्ने कुरा नै रहेन। यो त त्यही स्तरको गणित हो जहाँ अंकहरू होइन पद, पहुँच र अवसरले गुणा-भाग गर्छन्। यो सम्पत्ति विवरणले एउटा कुरा त प्रष्ट पार्‍यो- हाम्रो देशमा गरिब र धनीबीचको दूरी लाख वा करोडले होइन मन्त्रीस्तरीय हैसियतको कल्पनाले नापिन्छ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देशभरि एक किसिमको “भावनात्मक भूकम्प” नै आयो। डाह र ईर्ष्याको भूकम्प। कतिपयले आफ्नै रिक्तता र तिक्तताको अनुभव गर्दै आफूलाई नै कटघराबाहिर उभ्याएर खिन्नता प्रकट गरे। अनि के चाहियो  आफ्नो कुण्ठा मन्त्रीहरूमाथि पोख्ने सिलसिला सुरु भयो । मानौँ उनीहरू सम्पत्तिका मात्र होइन जनताको सबै असन्तोषका पनि आधिकारिक भण्डार हुन्।

कतिपयले त सम्पत्ति कमाउनु नै अपराध हो जस्तो ठानी क्रोध र आक्रोशका झर्रा सामाजिक सञ्जालमा ठोके। स्टाटस, कमेन्ट र रियाक्सनको बाढी आयो। यस्तो लाग्थ्यो, देशको अर्थतन्त्र भन्दा धेरै त फेसबुककै वाल चलायमान भएको छ।

सम्पत्तिमा शक्ति हुन्छ- शक्तिमा भक्ति जन्मिन्छ। भक्ति अन्ततः आसक्तिमा परिणत हुन्छ। हाम्रो राजनीति यही त्रिकोणीय चक्रमा घुमिरहेको जस्तो देखिन्छ। यहाँ विचारभन्दा पनि “वित्तीय वैभव” ले नै दर्शनको ठाउँ लिएको छ र सिद्धान्तहरू त केवल भाषणका लागि सजाइएका फूलझैँ भएका छन्। राष्ट्रपतिले जुक्ति लगाएर जोगाइएको संविधानको बाटो हुँदै हुँदाखानेहरूको रोजाइबाट हुनेखानेहरू नयाँ अनुहारका रूपमा उदाए। अहिले तिनै हुनेखानेहरूको सम्पत्ति देखेर हामी किन चित खाने? आखिर हामीले रोजेका अनुहारहरू हुन्-फरक केवल यति मात्र हो उनीहरूले अवसरलाई सम्पत्तिमा बदले र हामीले आशालाई निराशामा।

सम्पत्ति कमाउनु क्षमता हो। यो लगभग “राष्ट्रिय सत्य” जस्तै स्थापित भइसकेको छ। जसले कमाए उनीहरूसँग क्षमता थियो त्यसैले कमाए। फरक कुरा के भने- कमाएको पनि खुलेआम देखाए। पारदर्शिताको यस्तो चम्किलो उदाहरण त दुर्लभ नै मान्नुपर्छ। सम्पत्ति होइन नैतिकताको प्रमाणपत्र नै सार्वजनिक गरिएको हो!

थोरै कमाउनेहरूले पनि विगतमा कमाएको देखाएका छन्। कतिपयले त भविष्यमा कमाइने सम्पत्तिसमेत आजै देखाउने अद्भुत दूरदर्शिता प्रदर्शन गरेका छन् जस्तो लाग्छ। यस्तो “अग्रिम सफलता” देखाउने कला साँच्चै प्रशंसनीय छ। सपना मात्र होइन सपनाको ब्याजसमेत पहिल्यै हिसाबमा राखिन्छ। नआएको आम्दानीलाई पनि विवरणमा राख्न सक्ने आत्मविश्वास सबैसँग कहाँ हुन्छ र?

पहिलेकाहरूले भएको पनि लुकाए। अहिलेकाहरूले नहुँदासमेत देखाए। यही नै सुशासनको नयाँ परिभाषा हो क्यारे! पारदर्शिता अब यस्तो स्तरमा पुगेको छ कि वास्तविकता र सम्भावनाबीचको सिमाना नै धमिलिएको छ। एउटा कुरा भने पक्का छ यत्रो विधि सम्पत्ति कमाउन त उनीहरूले पक्कै पनि ठूलै काम गरेका हुनुपर्छ। कुखुराको चल्ला बेचेर, बाख्राको पाठा बेचेर वा गुट्खा बेचेर कमाएको सम्पत्ति त पक्कै होइन। यो त त्यस्तो स्तरको उपलब्धि हो जहाँ सामान्य व्यवसायले हैन “असाधारण अवसर” ले नै चमत्कार गर्छ!

अब प्रश्न उठ्छ- यति धेरै कसरी कमाए? यसको उत्तर त हिजो सत्तामा बस्नेहरूलाई नै सबैभन्दा राम्रोसँग थाहा होला। आखिर आज बिहान उठेर साँझसम्मै यत्रो सम्पत्ति त बनेको होइन होला नि! यो त वर्षौँदेखि बग्दै आएको “मेहनतको पसिना” हो- जसले बिस्तारै जमिन सिंचाइ गर्दै आज यस्तो हरियाली ल्याएको छ। अझ रोचक त के छ भने- यही समाजवादी क्रान्तिको नारा बोकेर, टुप्पी कसेर हिँडेका वीरहरू सम्पत्ति बढ्दै जाँदा के हेरेर बसे? कि क्रान्तिको नजर त्यतिबेला कमजोर थियो कि सम्पत्तिको चमक यति तेज थियो कि आँखा नै झिम्किन्थ्यो? कि क्रान्ति आफैँ पनि कुनै “लाभांश” को प्रतीक्षामा थियो?

कुरा यत्ति हो- सम्पत्ति कमाउने क्षमता सबैमा हुँदैन। कसैसँग श्रम गर्ने क्षमता हुन्छ, कसैसँग सहने क्षमता। अनि केही भाग्यमानीहरूसँग चाहिँ “कमाउने” असाधारण क्षमता हुन्छ। मार्क्सवादको “अतिरिक्त मूल्य (Surplus Value)” को हिसाब–किताब गर्‍यो भने त नाफा नै हुँदैन, कमाइ नै देखिँदैन। व्यवहारमा भने समीकरण अर्कै देखिन्छ जहाँ सिद्धान्त किताबमै बस्छ र कमाइ खातामा।

हिजो राजनीति पेशा मात्र थिएन—यो त राम्रो अर्थआर्जनको भरपर्दो माध्यम थियो। एक कट्टा जमिन र दुई तोला सुन हुनेहरूले पनि राजकीय जीवनशैली अपनाउने कला सिकिसकेका थिए। घर बनाउन काठ किन्न सकिन भनेर रोइलो गर्नेहरू हाछ्युँ आयो कि विदेशमा उपचार गराउने हैसियतमा पुगिसकेका थिए। भ्रष्टाचारको थुप्रोमै आरामसँग बसेर “भ्रष्टाचारमा शून्य सहनशीलता” को गफ दिनेहरूको दम्भ त अझै सगरमाथाको उचाइ जत्तिकै उँचो छ। कुरा यति मात्र हो- उचाइ बढेपछि जमिनसँगको दूरी पनि त्यत्तिकै बढ्दो रहेछ।

हिजो गाउँबाट बाजेको लगौटीले जाँघ बाँधेर चप्पलले धुलो उडाउँदै शहर पसेकाहरूलाई सम्झिँदा अहिलेका मन्त्रीहरूको सम्पत्ति खै के सम्पत्ति र! यो त इतिहासको ब्याजमा लगौटी टाईमा रूपान्तरण हुँदाको जत्तिको पनि देखिएन। अझै पनि दृश्य उस्तै छ- हुटिट्याउले आकाश थामेको जस्तो, तर आकाश भने आफ्नै हिसाबले फैलिँदै गएको छ।

मन्त्रीहरूको सम्पत्ति देखेर म त अत्यन्तै खुशी छु, मनै हलुका भएको छ। कम्तीमा मलाई शासन गर्ने शासकहरू झोले–झ्याम्टे छैनन् भन्ने सान्त्वना त मिल्यो ! कंगाल र दरिद्रताले लखेटिएका, अभावको अँध्यारोमा हराएका, नुन-तेलको जोहो गर्नै नसक्ने, सीमान्तकृत र विपन्न, खल्ती हावाले भरिएका होइनन् हाम्रा मन्त्रीहरू। आखिर, मन्त्रीको इज्जत हाम्रो इज्जत हो, राष्ट्रको शान हो, जनताको मान हो, हैन र?

के गरिबलाई शासन गर्ने पनि गरिबै चाहिन्छ? हिजो गरिबले गरिबका लागि शासन गर्दा आफू त बिस्तारै गरिबीबाट मुक्त हुँदै गए तर जनतालाई मुक्त गराउन समय नै पुगेन। अब धनी मन्त्रीहरू आएपछि त सिधै गरिबी निवारण र समृद्धि एक्सप्रेसमै चढेर आउनेछ जस्तो लाग्छ, स्टेसनमा कुर्नै नपर्ने!

त्यसैले म खुशी छु। मन्त्रीहरूले आफू कसरी धनी हुनुभयो भन्ने ‘टिप्स एन्ड ट्रिक्स’ जनतालाई सेयर गरिदिनुभयो भने त झन् राम्रो। देशैभरि “मालामाल मास्टरक्लास” चल्नेछ र जनताले पनि खल्ती मात्रै होइन बैंक ब्यालेन्स फुलाउने कला सिक्नेछन्।

अन्त्यमा, सम्पत्तिको स्रोत त बिस्तारै खुल्दै जाला त्यो पनि कुनै ‘सस्पेन्स सिरिज’ जस्तै एपिसोड-एपिसोडमा। अहिले त मन्त्रीहरूको सम्पत्ति गन्नु भन्दा पनि उनीहरूको अहिलेसम्मको गति र मति हेर्दा “थुईक्क” भन्नु पर्ने अवस्था आएको छैन।  जनता पनि मन्त्री जस्तै धार्निमा सुन र करोडमा धन गन्ने हैसियतमा पुग्ने छौ। तर शासन चाँही नेपालीलेनै गर्नु पर्दछ।

 

वि.सं.२०८३ वैशाख ३ बिहीवार ०९:२५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...