काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा २०८२ साल पौष १८ गते शुक्रबार भएको घटनाप्रति संघ व्यवस्थापन तथा कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ।
संघका सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि कार्यस्थलमै दुर्व्यवहार तथा कुटपिट गरेको घटनाले नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारी असुरक्षित भएको कर्मचारी पक्षको ठहर छ।
उक्त घटनाको विरोधमा नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संघ व्यवस्थापनसमक्ष छबुँदे माग प्रस्तुत गरेका छन्। मागपत्रमा घटनाको विधिसम्मत छिनोफानो नभएसम्म सञ्चालक वीरबहादुर रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्नुपर्ने, साथै पीडित कर्मचारीसहित सम्पूर्ण कर्मचारीको जिउधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी, संघमा कार्यरत कर्मचारीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न समिति तथा उपसमितिका कार्यकारी भूमिकालाई पूर्ण रूपमा हटाउन, विनियम तथा कार्यविधिमा उल्लेखबाहेकका प्रशासनिक हस्तक्षेप बन्द गर्न माग गरेका छन्। संघका सम्पूर्ण कार्यालयमा रहेका उपसमितिका कार्यकक्ष तत्काल हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।
कर्मचारीहरूको भनाइमा नेतृत्व तहबाट भएको अमर्यादित व्यवहारले संघको छविमा गम्भीर नकारात्मक असर परेको छ। त्यसैले समिति वा उपसमितिमा रहेका कुनै व्यक्ति वा उनी संलग्न सहकारी संस्था कालोसूचीमा परेको, कारबाहीमा परेको वा कानुनी विवादमा रहेको प्रमाणित भएमा कानुनबमोजिम तत्काल निलम्बन तथा बर्खास्त गर्नुपर्ने माग गरिएको छ।
सुर्खेत घटनाले कर्मचारीहरूको मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै मागहरू सम्बोधन नभएसम्म संघका सबै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिने चेतावनीसमेत दिइएको छ। साथै, माग पूरा नभए चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ।
उक्त आन्दोलनका कारण सेवा प्रवाहमा अवरोध भई सदस्य संघ–संस्थालाई पर्न सक्ने असुविधाप्रति व्यवस्थापन पक्ष क्षमाप्रार्थी रहेको कर्मचारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
वि.सं.२०८२ पुस २० आइतवार १४:०८ मा प्रकाशित




























