काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा उत्साहजनक व्यापार गरेका छन् । बीमा कम्पनीहरुबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु बीमा कम्पनीहरूले कुल २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् ।
शिखर इन्स्योरेन्स अग्रस्थानमा, सिद्धार्थ प्रिमियर पछ्याउँदै
तथ्यांक अनुसार व्यवसायका आधारमा शिखर इन्स्योरेन्स निर्जीवन बीमा बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । शिखरले पुस मसान्तसम्ममा दुई अर्ब ७७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ, जसले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी (सलिको) ले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।
पुस महिनाको ब्यापारको स्थिति
पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो महिनामा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स देखिएको छ । उसले ३४,७६९ वटा बीमालेख जारी गरेको छ । तर, बीमाशुल्कका आधारमा भने पुस महिनामा पनि शिखर इन्स्योरेन्सनै अगाडी देखिएको छ । उसले ६२ करोड ५८ लाख रुपैयाँसहित अगाडि देखिएको छ ।
लघु बीमाको बढ्दो प्रभाव
निर्जीवन बीमा कम्पनीबाहेक केहि समय अगाडीमात्र सञ्चालनमा आएका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले पनि बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेका छन् । पुस मसान्तसम्ममा यी चार कम्पनीले कुल ६२ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स १६ करोड २९ लाख रुपैयाँसहित अग्रस्थानमा देखिएको छ ।
पछिल्लो समय बीमा सचेतना बढ्दै जाँदा र अनिवार्य गरिएका बीमा क्षेत्रका कारण व्यवसायमा वृद्धि देखिएको प्राधिकरणको विश्लेषण छ ।
वि.सं.२०८२ माघ १६ शुक्रवार १७:१५ मा प्रकाशित






























