कुनै समय नेपालको राजनीतिमा विशेषगरी कम्युनिस्ट धारमा, “गद्दार” भन्ने शब्द सबैभन्दा भारी र डरलाग्दो आरोप मानिन्थ्यो। विचार, संगठन वा जनताप्रति अलिकति पनि डगमगायो भने तुरुन्तै गद्दारको तक्मा झुन्ड्याइन्थ्यो। आज भने अवस्था यस्तो बनेको छ कि गद्दार खोज्न होइन, ईमान्दार भेट्न कठिन भएको छ।
सामान्य अर्थमा गद्दार भनेको देश, समाज, संगठन, विचार र विश्वासलाई सस्तो स्वार्थका लागि बेच्ने व्यक्ति हो। संकटको घडीमा सिद्धान्त छोड्ने, सत्ता देख्नासाथ रङ फेर्ने र लाभ सकिएपछि फेरि अर्को कित्तामा उभिने उभयचर प्राणी नै आजका गद्दारहरू हुन्। यिनीहरू न त पूर्ण कम्युनिस्ट हुन्छन् न त खुला पूँजीवादी; यिनीहरूको धर्म एउटै हुन्छ- जहाँ फाइदा, उतै झुकाव।
कुनै समय केसरजङ्ग रायमाझीलाई गद्दार घोषणा गरियो- कम्युनिस्ट क्रान्तिकारी दर्शन त्यागेर राजाको शरणमा गएको अभियोगमा। तर आज आएर विश्व कम्युनिस्ट घोषणापत्र, पार्टीका विधान र नेताहरूका भाषण एकातिर, अनि व्यवहार अर्कातिर राखेर हेर्दा प्रश्न उठ्छ- रायमाझी मात्रै गद्दार थिए कि उनीभन्दा कैयौँ गुणा दक्ष र परिष्कृत गद्दारहरू अहिले पनि नेतृत्वमा छन्? घोषणापत्र श्रमिकको मुक्ति बोल्छ, नेता भने सत्ताको सौदा गर्छ। विधान समाजवाद लेख्छ, व्यवहार दलाल पूँजीवादभन्दा पनि नाङ्गो देखिन्छ।
आज “गद्दार” शब्द राजनीतिक भाष्यबाट हराउनुको कारण गद्दारको अभाव होइन, अत्यधिक आपूर्ति हो। जब सबै गद्दार हुन्छन्, तब कसलाई गद्दार भन्ने? जब विश्वासघात सामान्य बानी बन्छ, तब त्यसलाई अपराध होइन, राजनीतिक रणनीति मानिन्छ। यही कारण आजको राजनीति आरोप-प्रत्यारोप होइन, मौन समझदारीमा चलेको छ- तँ मेरो गद्दारी नदेख, म तेरो देख्दिन।
राजनीतिमा जब विचार मर्छ, त्यहीँबाट गद्दार जन्मिन्छ। जब सिद्धान्त बोझ बन्छ, त्यहीँबाट स्वार्थ सत्तामा पुग्छ। गद्दार कुनै दुर्घटना होइन; त्यो योजनाबद्ध उत्पादन हो। एक गद्दारले अर्को गद्दार जन्माउँछ र तिनले मिलेर गद्दारीको खेती गर्छन्। यसरी गद्दारी व्यक्ति होइन, प्रणाली बन्छ, संस्कार बन्छ र राजनीतिक योग्यता बन्छ।
आजको नेपाली राजनीति विचारको साधना होइन, अवसरको गणित बनेको छ। यहाँ निष्ठा भाडामा पाइन्छ, प्रतिबद्धता सिजनअनुसार बदलिन्छ र चरित्र परिस्थितिअनुसार अपडेट हुन्छ। सिद्धान्तभन्दा सत्ता ठूलो, मूल्यभन्दा लाभ मीठो र विश्वासभन्दा स्वार्थ सुरक्षित मानिन्छ। यही गणितमा हुर्किएका पात्रहरू नै आजका “नयाँ पुस्ताका” गद्दार हुन् ।जो झण्डा बदल्न लाज मान्दैनन् तर ऐना हेर्न डराउँछन्। अन्ततः प्रश्न अब “को गद्दार हो?” भन्ने होइन। प्रश्न त यो हो- यो राजनीतिमा गद्दार नहुने ठाउँ अझै बाँकी छ कि छैन?
यस निराशाजनक राजनीतिक मरुभूमिभित्र पनि केही अपवादहरू अझै बाँकी छन्। गाउँ-बस्ती, समाज र नेतृत्वको तल्लो तहमा आज पनि गद्दारीलाई रोग सम्झेर टाढा राख्ने, इमान्दारितालाई अपराध नमान्ने केही कार्यकर्ताहरू जीवित छन्। तर उनीहरू राजनीति होइन, लगभग तपस्या गरिरहेका छन्। किनकि उनीहरूको आवाज यति झिनो छ कि मञ्चसम्म पुग्नुअघि नै हराउँछ, पहुँच यति कमजोर छ कि सत्ताको ढोकासम्म पुग्दा ताला लागिसकेको हुन्छ। उता गद्दारीलाई सीप, योग्यता र रणनीति बनाएकाहरू भने सत्ता र मञ्च दुवैमा यसरी छाएका छन् मानौँ राजनीति नै उनीहरूको निजी सम्पत्ति हो। यही असन्तुलनले आजको नेपाली राजनीतिलाई रोगी मात्र होइन, दीर्घरोगी बनाइरहेको छ।
अब मौन बस्ने होइन, स्पष्ट बोल्ने समय आएको छ। गलत पात्र र विकृत प्रवृत्तिको तथ्यमा आधारित, निर्भीक र कठोर आलोचना गरौँ। भावनाको भेलमा बगेर होइन, विचार, व्यवहार र इतिहासको तराजुमा जोखेर निर्णय गरौँ। भोट हाल्दा हरेक सार्वभौम नागरिकले आफ्नो विवेक प्रयोग गरोस्, किनकि गलतलाई समर्थन गर्नु पनि गद्दारीकै अर्को रूप हो।
कुनै व्यक्ति कुनै राजनीतिक दलप्रति आकर्षित हुनु वा त्यसको सदस्य बन्नु सामान्यतः कुनै सपना, कुनै विश्वास र कुनै आशाबाट सुरु हुन्छ। दलले अँगालेको दर्शन ठीक लाग्छ, सिद्धान्त सुन्दर देखिन्छ, नीति-कार्यक्रम जिम्मेवार जस्तो लाग्छ र नेतृत्व अरूभन्दा केही ईमान्दार होला भन्ने हुन्छ। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालहरू सही दिशामा अघि बढ्लान् भन्ने विश्वासमै मानिसहरूले दलसँग आफ्नो समय, श्रम र भविष्य जोड्छन्। तर यो विश्वास टिक्ने कि नटिक्ने भन्ने कुरा कागजमा लेखिएका सिद्धान्तले होइन, नेतृत्वको चरित्रले तय गर्छ, जुन कुरा अहिले सबैभन्दा सस्तो बनेको छ।
आज राजनीतिक दलको मूल्याङ्कन घोषणापत्रले होइन, नेताको अनुहार र उसको पलपल बदलिने बोलीले गरिन्छ। नेतृत्व आदर्शवान् छ कि छैन भन्ने प्रश्न अब हास्यास्पद बनेको छ। इमान्दार र नैतिक छ कि छैन भन्ने जाँच त झन् अप्रासंगिकजस्तै भएको छ। जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने कुरा त भाषणको सजावटमा सीमित छ। व्यवहारमा भने एउटै मापदण्ड चल्छ- सत्ता छ कि छैन? छ भने सबै ठीक, छैन भने सबै गलत।
राजनीतिक दर्शन फेरिरहने टोपी होइन, बदलिरहने मोजा होइन र राजनीतिक नेतृत्व रंगमञ्चमा भूमिका बदल्दै हिँड्ने कलाकार पनि होइन।
वास्तवमा कुनै पनि राजनीतिक दलको आत्मा भनेको उसले अँगालेको राजनीतिक दर्शन हो। तर आज दर्शन आत्मा होइन, बोझ बनेको छ। व्यवहारमा लागू गर्नुपर्दा दर्शन झिकेर दराजमा थन्क्याइन्छ। नेतृत्व र कार्यकर्ताको चरित्रमा दर्शन प्रतिबिम्बित हुनु त परै जाओस्, कहिलेकाहीँ दर्शन पढिएको थियो कि थिएन भन्नेमा नै शंका लाग्छ। वर्ग र समुदायको हितको कुरा भाषणमा गरिन्छ, व्यवहारमा भने स्वार्थको पहिला रक्षा हुन्छ। यही नै आजको दलगत राजनीतिमा देखिएको नग्न यथार्थ हो।
राजनीतिक दर्शन फेरिरहने टोपी होइन, बदलिरहने मोजा होइन र राजनीतिक नेतृत्व रंगमञ्चमा भूमिका बदल्दै हिँड्ने कलाकार पनि होइन। दर्शन र चरित्र त स्थायी, दृढ र जिम्मेवार हुनुपर्छ। तर आजका धेरै नेताहरू घडीको सुईझैँ विचार बदलिरहेका छन्- बिहान समाजवाद, दिउँसो यथार्थवाद, बेलुका सत्ता-समझदारी। यही बहुरूपता नै आजको राजनीतिमा सबैभन्दा ठूलो योग्यता बनिसकेको छ।
राजनीतिमा स्पष्ट विचार, स्थिर अडान र सिद्धान्तप्रतिको निष्ठा नेतृत्वको मेरुदण्ड हुनुपर्ने हो। तर आजको राजनीतिमा मेरुदण्ड होइन, रबरको जस्तो लचकता खोजिन्छ। “यता पनि ठीक, उता पनि ठीक” भन्ने उभयचर प्रवृत्ति अब अपवाद होइन, मूलधार बनेको छ। नेताहरू परिस्थितिअनुसार विचार, बोली र अडान बदल्छन्-आज समर्थन, भोलि विरोध; सत्ता हुँदा राष्ट्रवाद, सत्ताबाहिर हुँदा लोकतन्त्र; पद हुँदा मौन, पद गुमेपछि क्रान्ति।
यस्तो राजनीतिमा गद्दार छुट्याउने प्रश्न निरर्थक हुन्छ। किनकि यहाँ गद्दारी कुनै विचलन होइन, संरचना हो। अपवाद होइन, अभ्यास हो। जब गद्दारी नै सामान्य बन्छ, तब इमान्दार व्यक्ति या त हास्यास्पद ठहरिन्छ, या खतरनाक। शायद यही कारण आजको राजनीतिमा गद्दार खोजिँदैन किनकि गद्दार नहुने ठाउँ खोज्नै गाह्रो भइसकेको छ।
उभयचर राजनीतिमा सिद्धान्त बोझ हो, स्वार्थ नै सबैभन्दा ठूलो दर्शन। यहाँ राजनीतिक दल, विचार र दर्शन सत्ता चढ्ने भर्याङ र फाइदा कमाउने औजार मात्र बनेका छन्। दर्शन टोपी वा मोजाजस्तै फेर्ने वस्तु होइन भनिन्छ तर आजका धेरै नेताहरूले त्यसलाई रुमालजस्तै खल्तीबाट झिकेर, मन नलागे फ्याँकिदिन्छन्।
यस उभयचर प्रवृत्तिको सबैभन्दा ठूलो क्षति जनताले बेहोरेको छ। आज जे बोलेको छ, भोलि त्यहीँ कुरा आफैँ खण्डन गर्ने नेतृत्वप्रति जनता कसरी भरोसा गरून्? लोकतन्त्र स्पष्ट विकल्प, स्पष्ट अडान र स्पष्ट जवाफदेहितामा टिकेको हुन्छ। तर उभयचर राजनीतिले सही-गलत, समर्थन-विरोधका रेखाहरू मेटाएर सबै कुरा ‘मैले भनेको नै ठीक’ भन्ने दलदलमा गाडिदिन्छ। यस्तो राजनीति साहसको होइन, डरको उपज हो; सिद्धान्तको होइन, अवसरवादको खेती हो। सही ठानेको कुरामा दृढ भएर उभिन नसक्नु र जोखिम लिन नचाहनु नै यसको मूल पहिचान हो। इतिहासले सम्झने नेताहरू सिद्धान्तका लागि लड्नेहरू हुन्, सिट र सुविधाका लागि धार फेर्नेहरू होइनन्। तर आज इतिहास होइन, सत्ता नै पाठ्यपुस्तक बनेको छ।
अब आसन्न प्रतिनिधि सभाको निर्वाचनतर्फ नजर घुमाऔँ। उम्मेदवार मनोनयनको दृश्य हेर्दा लाग्छ-यो चुनाव होइन, राजनीतिक सर्कस हो।
बिहान शौचालय जाँदा नेपाल सद्भावना पार्टीका अनिलकुमार झा थिए; फर्कँदा नेपाली कांग्रेसमा रूपान्तरण भइसकेका रहेछन् र बोनसमा रौतहट–१ को टिकट पनि हात परेको छ। विचार परिवर्तन यति छिटो हुन्छ भन्ने कुरा विज्ञानले होइन, नेपाली राजनीतिले प्रमाणित गरेको छ।
पूर्व सांसद बृजेशकुमार गुप्ताको राजनीतिक यात्राले त नेपाली राजनीतिलाई लाजै लाग्ने बनाएको छ। २०५६ मा राप्रपा, २०६४ मा तमलोपा, २०७४ मा एमाले र अहिले नेकपाको ‘तारा’ लिएर कपिलवस्तु-२ मा उम्मेदवारी। लाग्छ, एक जुनीमै सबै दलका चुनाव चिह्न प्रयोग गरेर राजनीतिक पुनर्जन्मको चक्र पूरा गर्न चाहन्छन्।
बारा-२ मा जसपा नेपालका आत्मराम साहले राति कस्तो सपना देखेछन्, बिहान उठ्दा जसपालाई लात हानेर आजपातिर सुइँकुच्चा ठोकेका छन्। फाराम भर्दा पार्टीको नाम होइन, मनस्थिति लेखिएको देखिन्छ। उता प्रदीप यादव- हिजो जसपा, आज एमाले। मानौँ राजनीतिक दल कुनै रेस्टुरेन्ट हो, जहाँ मेनु हेरेर ‘आज यो खाउँ’ भन्ने सुविधा हुन्छ। पार्टी फेरिन्छ, पात्र उही।
२०५३ मा राप्रपाका मोहम्मद इस्तियाक राई २०६३ मा मधेशी जनअधिकार फोरम हुँदै आज खाँटी एमाले बनेका छन्। नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य बनेका रहबर अन्सारीले पनि रेस्टुरेन्ट फेरेका छन्-अब रास्वपाको स्वाद चाख्दैछन्।
रुपन्देहीबाट कांग्रेसको टिकट लिन काठमाडौं आएका प्रमोद कुमार यादवलाई टिकट ढिलो भएपछि एमालेको टिकट बोकेर फर्किएको खबर पनि छ। बसको स्लीपर सिट पाएपछि जमिनमै सुत्ने सिद्धान्त त्यागिएझैँ, सत्ताको सुविधा देखिएपछि विचार आफैँ ओइलाएको छ।
नेकपाका नेता एवं पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी सत्ता भन्ने नशा यति गहिरो लागेछ कि पार्टी, सिद्धान्त र नैतिकता सबैलाई थन्क्याएर दाङबाट बागी उम्मेदवार बनेका छन्। क्रान्ति, वर्गसंघर्ष र जनताको कुरा भाषणमा मात्र सीमित रहेछ; व्यवहारमा भने कुर्सी नै अन्तिम लक्ष्य रहेछ।
त्यसैगरी, नेकपाकै सुदूरपश्चिमका नेता भरत न्यौपानेले उम्मेदवारी दर्ताकै दिन पार्टी “राजनीतिक रूपमा स्खलित” भएको ज्ञान प्राप्त गरेछन्। संयोग कस्तो भने, जबसम्म टिकटको सम्भावना थियो, तबसम्म पार्टी ठीक; टिकट नपाएपछि मात्र पार्टी स्खलित देखिने! यस्ता ‘छिटो बिउँझिने क्रान्तिकारी’ हरू आजको राजनीतिका जीवन्त नमुना हुन्।
महिला उम्मेदवारहरूको सूची हेर्दा ‘समावेशिता’ र ‘समानुपातिक प्रतिनिधित्व’ भन्ने शब्दहरू पोस्टर र घोषणापत्र सजाउने नारा मात्र भएको प्रस्ट हुन्छ। व्यवहारमा भने महिलालाई भोटको औजार र प्रचारको सजावट बनाइएको छ। देखाउने दाँत र खाने दाँत फरक हुने प्रवृत्तिको यसभन्दा नाङ्गो उदाहरण सायदै पाइन्छ। महिलाको सहभागिता बढायौँ भनेर गर्व गर्ने क्रममा एउटै परिवारबाट दुई जना महिला उठाएर महिलामाथि उपकार गरेको पनि देखिन्छ। मानौँ राजनीति कुनै वंशानुगत सम्पत्ति हो।
आजको नेपाली राजनीतिलाई विचार होइन, अवसरवादले चलाइरहेको छ; सिद्धान्त होइन, स्वार्थले निर्देशन दिइरहेको छ। गद्दारी अब अपवाद होइन, सामान्य चरित्र बनेको छ। यस्ता चरित्रहरूलाई सहनु भनेको राजनीतिलाई अझै कुहिन दिनु हो।
त्यसैले अब मौन बस्ने होइन, स्पष्ट बोल्ने समय आएको छ। गलत पात्र र विकृत प्रवृत्तिको तथ्यमा आधारित, निर्भीक र कठोर आलोचना गरौँ। भावनाको भेलमा बगेर होइन, विचार, व्यवहार र इतिहासको तराजुमा जोखेर निर्णय गरौँ। भोट हाल्दा हरेक सार्वभौम नागरिकले आफ्नो विवेक प्रयोग गरोस्, किनकि गलतलाई समर्थन गर्नु पनि गद्दारीकै अर्को रूप हो।
वि.सं.२०८२ माघ १० शनिवार ०९:२३ मा प्रकाशित




























