अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई – जोगाई राखौ, युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मुल नारा सहित अमेरिमा रहेका मगरहरुले मगरहरुको राष्ट्रिय पर्व “माघे संक्रन्ति पर्व २०२६“ भव्यरुपमा मनाएका छन् ।
मगर संघ अमेरिका मातहतका च्याप्टरहरुको आयोजनामा विभिन्न ९ राज्यमा ‘माघे संक्रन्ति पर्व २०२६’ भब्य रुपमा मनाएका हुन् ।
‘माघे संक्रन्ति पर्व २०२६’ जनवरी ११ का दिन मगर संघ अमेरिका इलिनोई च्याप्टरको आयोजनामा सिकागो शहरबाट सुरु भएर जनवरी १८ मा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको आयोजनामा बोस्टन शहरबाट टुङगिएको छ ।

सन् २००४ मा स्थापना भएको मगर संघ अमेरिका मगर संस्कार संस्कृतिको संरक्षण, सम्वद्र्वन र पुस्तान्तरणको अभियानमा निरन्तर लागिरहेको मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरले बताए ।
मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा जनवरी १६ को दिन न्युयोर्क शहरमा करिब हजार हाराहारीको मगर तथा गैरमगरहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको हो । माघीको मौलिक परम्परागत संस्कार संस्कृतिको प्रदर्शन र चर्चित गायक जगदिश समाल मगर र गायिका सगिता थापा मगरको सांगेतिक प्रस्तुति रहेको थियो ।
न्युयोर्क राज्य सम्बद्व सांसदहरु र अन्य जिम्मेवार ब्यक्तिहरुको आतिथ्यता, नेपाल आदिवासी जनजाति महासंघ र यस संघ सम्बद्व जातिय संस्थाहरु तथा मगर संघ अमेरिका न्युयोर्क च्याप्टर संग भाईचारा राख्नु हुने बिभिन्न संघ संस्थाहरुको उपस्थितिमा माघे संक्रान्ति २०२६ भब्य रुपमा मनाए ।

मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा जनवरी १७, २०२६ को दिन डलास, टेक्सासमा भब्य रुपमा सम्पन्न भयो । कौराह, सालैज्यु, सोरठी, मारुनी, हु¥रा लगायत बिभिन्न मगर संस्कृतिमा मगर र गैर मगर समुदाय झुमेका थिए । मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरको आतिथ्य र टेक्सासमा स्थापित बिभिन्न संघ संस्थाको उपस्थितिमा ’’माघे संक्रान्ति २०२६’’ सम्पन्न भयो । सो अवसरमा चर्चित गायक मिलन लामा, संगिता थापा मगर, बसन्त बिश्वकर्मा लगायत कलाकारहरुको सांगेतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले डलासमा नेपाली समुदायले गरेको अहिले सम्मकै उत्कृष्ट र धेरै संख्यात्मक सहभागिता रहेको कार्यक्रम भनेर मगर एकताको खुलेर तारिफ गरे ।
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा जनवरी १७, २०२६ कै दिन बिबिध मगर संस्कृति झल्काउने कार्यक्रम गर्दै “माघे संक्रान्ति २०२६” मनाएका छन् । वेस्टमिनिस्टर सिटी स्थित नेपाली सांस्कृतिक केन्द्रमा नेपाल आदिवासी आयोगका सदस्य डा. मिन श्रीष मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मगर मौलिक सांस्कृतिक प्रस्तुति संगै मगर मौलिक परिकारमा मगर तथा गैर मगर समुदाय दिल खोलेर रमाए ।

मगर संघ अमेरिकामा बिभिन्न जिम्मेवार सम्हाल्दै निरन्तर संस्थामा योगदान दिएका मगर संघ अमेरिका केन्द्रीय समितिका निवर्तमान सल्लाहकार तथा मगर संस्कृतिक केन्द्रका सदस्य सचिब लछुमन राना मगर, मगर संघ अमेरिका केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण थापा मगर र निवर्तमान केन्द्रीय उपाध्यक्ष टेक बहादुर थापा मगरलाई सम्मान गरिएको थियो ।
मगर संघ अमेरिका डि.एम.भी च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ को दिन बाल्टिमोर शहरमा भब्य रुपमा सम्पन्न भयो । मगर बाल कला प्रदर्शनी संगै सुरु भएको “माघे संक्रान्ति २०२६” बिबिध मगर संस्कृति झल्काउने प्रस्तुति सहित मौलिक मगर परिकारमा उपस्थिति रमाएका थिए ।
मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ को दिन बोस्टन शहरमा “माघे संक्रान्ति २०२६” हर्षोल्लासका साथ मनाए ।
कार्यक्रममा बिशेष प्रस्तुति स्वरुप नेपाल र नेपालीको मौलिक पन तथा पहिचान बोकेको पन्चेबाजा र मयुर नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सबैलाई मगरको पहिचान खुर्पेटो अंकित मायाको चिनो प्रदान गरिएको थियो । मगर संघ अमेरिका न्युजर्शी च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ को दिन न्युजर्शीका मगरहरुले भब्य रुपमा ‘माघे संक्रान्ति २०२६’ मनाए ।
संस्कार संस्कृतिको पुस्तान्तरणको सवालको रुपमा कार्यक्रममा उपस्थित बालबालिकाहरुलाई माघे संक्रान्ति बारेमा जानकारी दिइएको थियो ।
मगर संघ अमेरिका पेन्सिलभेनिया च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ को दिन पिÞmलाडलपिÞmया शहरमा चेलीबेटी पुजेर बिभिन्न मगर संस्कृति प्रस्तुतिका साथ मनाए ।
यसैगरी मगर संघ अमेरिका क्यालिफोर्निया च्याप्टरले सोहि दिन मगर संस्कार संस्कृतिको प्रस्तुति संगै भलिबल प्रतियोगिता गरेर ‘माघे संक्रान्ति २०२६’ मनाए ।
माघे संक्रान्ति आदिमकालदेखि मगर समुदायले आ–आफ्नो थाकथालोमा बिभिन्न तवरले मान्दै आएका थिए ।
मगर संघ अमेरिका मातहत अमेरिकाको बिभिन्न राज्यमा नेपाल सरकारले माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरेको सालदेखि विधिवत रुपमा मनाउदै आइरहेको छ ।
मगर समुदायले माघे संक्रान्ति चेलीबेटी पुज्ने, तारा हानेर ग्रहदशा जाँच्ने, पितृहरुलाई सम्झने, दिबंगत चेलीबेटीहरुको सम्झनामा पुतली बनाएर सेलाउन जाने, इस्ट आफन्त भेट, मिठो मसिनो पकाएर खुसियालीका साथ मनाउने पर्व हो ।
प्राचीनकालमा मगरहरुको कृषि र सिकारमा आधारित जीवनशैली थियो , वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्राएर ढुक्क भएको समय माघे संक्रान्ति पर्छ । माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ ।
माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न जमिन मुनि फलेको कन्दमुल, सखरखण्ड, तरुल खाने चलन मगर समुदायमा छ ।
वि.सं.२०८२ माघ ११ आइतवार ०८:०७ मा प्रकाशित























