back
CTIZAN AD

कविता : आलिङ्गनको आलोक

वि.सं.२०८२ फागुन १६ शनिवार

1.6K 

shares

शशीश्री आचार्य
बौद्ध, कुमारीगाल -काठमाडौं

साँझको सुनौलो
आवरण ओढेर
जब आकाशले
पृथ्वीलाई
अङ्गालो हाल्यो,
त्यसै क्षण तिमी र म
समयको भीड बाट
चुपचाप बाहिर निस्कियौँ
मौनको एकान्त उद्यानतिर।

तिम्रा आँखामा
मधुमासको गहिरो
नीलिमा थियो,
मेरो हृदयमा
अमानुस कम्पनको
अनाहत नाद

हामी शब्द भन्दा अघि थियौँ,
स्पर्श भन्दा पनि सूक्ष्म
कुनै अदृश्य समर्पणमा
तिमी नजिकिँदै जाँदा
हावाले शिरीषका
फूल झारिदियो—
जस्तो कि प्रकृतिले
हाम्रो मिलनको
मौन अभिषेक
गरिरहेको जस्तो

तिम्रो आलिङ्गन
केवल दुई बाहुको बल थिएन,
त्यो त एक मन्त्र–दीक्षा थियो,
जहाँ मेरो अस्तित्व
तिम्रो स्पन्दनमा
विलीन हुँदै जान्थ्यो

हामी
दुई शरीर थियौँ,
तर श्वास एउटै लयमा
बगिरहेको थियो
जस्तो गण्डकीको
सलसल धार
पहाडका काखमा
हराउँदै गएजस्तो

तिम्रा केशका गन्धमा
बसन्तको नव पल्लव थियो,
तिम्रो छातीमा टेकेर
ती मन मुटुका कर्णप्रिय नाद
सुन्दै थिएँ म

लाग्थ्यो
संसारका सबै घडीहरू
एकै क्षणमा
थामिए पनि हुन्थ्यो
त्यो आनन्द
उच्छृङ्खल थिएन,
संयमित दीपशिखा
जस्तै थियो—
त्यहाँ भित्रभित्रै
प्रेमको आरती
बलिरहेको थियो

हाम्रो मिलन
केवल देहको सामिप्यता थिएन,
त्यो त दुई आत्माको
सहस्रार–उद्घाटन थियो,
जहाँ चेतनाका हजारौँ
कमलहरू
एकै साथ फुल्छन्

तिम्रा ओठहरू
माथि कसैले पनि !
मोनालिसाको जस्तो
कथा लेखेनन्,
तर मौन स्पर्शले
जीवनका सबै अभावहरू
क्षणभरमै तृप्त गरिदियो

हामी
एक–अर्कामा
यसरी विलीन भयौँ की !
जस्तो चन्द्रमा
झीलको नीरमा ढल्केर
आफ्नै प्रतिबिम्बमा हराए जस्तो

ती
आनन्दको त्यो चरम बिन्दु
आकाश छुने हुँदैन,
भित्रै
गहिरो समुद्र बनेर फैलिन्छ।
त्यहाँ न शब्द हुन्छ,
न आग्रह—
केवल पूर्णता।

तिमी मेरो काँधमा टेकेर
मौन मुस्कुराइरहँदा
मलाई लाग्थ्यो
प्रेम कुनै आवेग होइन,
यो त परमानन्दको
सूक्ष्म अवतरण हो।
र हामी
त्यही परमानन्दमा
सलसल बगिरह्यौँ
जस्तो अनन्त धारा,
जसलाई कुनै तटले
रोक्न सक्दैन

प्रेम
त्यो क्षणमा
न त उच्च स्वर थियो,
न आँधी—
यो त संस्कारको
सौम्य सुगन्ध थियो,
जहाँ आलिङ्गन
आराधना बन्छ,
र मिलन
मोक्षको झिल्को।
तिमी थियौ,
म थिएँ,
र बीचमा
केवल प्रेम
शुद्ध, उज्ज्वल,
अकल्पनीय वस
हामीलाई त
साधना चाहिन्थ्यो
केवल साधना
प्रेमको भव सागरमा
डुबुल्की मार्ने
एक निमेष अनि समर्पण
आत्मा रूपी शरीरको
भाव र अर्पणको ।

वि.सं.२०८२ फागुन १६ शनिवार ०५:५९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...