back
CTIZAN AD

कविता : श्रमिक

वि.सं.२०८३ वैशाख १९ शनिवार

567 

shares

अलख निरन्जन लोहार
टीकापुर, कैलाली हाल : भारत

आफ्नो पौरखले सिँचेर जगमा, मोती उमार्छन् जहाँ,
तातो आरनमा बसेर सहजै, लोहा पगाल्छन् यहाँ,
पैदा गर्छ सबै सबै किसिमका ,जो बन्छ उत्पादक,
ज्यामीका भरमा सदा श्रमिकका, बाँच्दैछ सारा युग ।१।

जोत्छन् नित्य किसान साथ छ हलो,राँगा र गोरु जसै,
हाँस्छन् खित्खित साथमा रहरमा,पानी र माटो तसै,
भर्दै प्यार अपार झैँ हृदयमा, नौला गरा सिञ्चन,
रोप्दै बीज भविष्य निम्ति रसिला ,गर्छन् धरा सिर्जन ।२।

चल्दैछन् दिनरात उत्सुक बनी,थाक्दैछ धेरै हियो,
हेर्दा भोक तमाममा घरभरी, ठोकिन्छ बन्दै बियो,
उस्तैछन् अझ धेर मालिकहरू,हुन् दासनै ठान्दछन्,
सामन्ती जनले सदा गरिब यी,जुत्ता जसै मान्दछन् ।३।

जो जस्का श्रम सीपमा भुवन यो,चल्दैछ रातोदिन,
खेप्छन् दु:ख सधैँ तिनै जनहरू,अन्याय गर्छन् किन ?
मेट्नै पर्दछ आज यी श्रमिकको,दुर्भाग्य लेख्ने मसी,
चिन्नेछन् श्रम सीप शुद्ध जसले ,बन्नेछ सच्चा कसी ।४।

जागौँ है सब काम पूजन गरी, बुझ्नेहरू हो सब,
व्यर्थै फाल्नु हुँदैन लौ समय यो,लागौँ न जुट्दै अब,
सेवा सादरको सदैव गहना,आदर्शको जीवनी,
ज्यामीको श्रम सीप रक्त पसिना, बन्नेछ सञ्जीवनी ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५७ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...