काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत गर्दै टिजरहरूको शृङ्खला सार्वजनिक गरेको छ। आधिकारिक विवरणहरू अझै खुलाइएको छैन, तर कम्पनीका सूक्ष्म संकेतहरूले प्रविधि पारखीहरूबीच उत्साह र जिज्ञासा बढाएको छ।
सार्वजनिक गरिएको एक टिजरले स्मार्टफोन अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधातर्फ इशारा गरेको देखिन्छ। यसले सम्भवतः अन–डिभाइस एआईमा आधारित इन्टेलीजेन्ट डिस्प्ले लेयर प्रस्तुत हुन सक्ने अनुमान गरिएको छ, जसले प्रयोगकर्ताको प्रयोग शैलीअनुसार कन्टेन्टलाई रियल टाइममा अनुकूलन गर्न सक्नेछ। यस प्रकारको प्रविधिले स्क्रिन ब्राइटनेस, रंग सन्तुलन र दृश्य स्पष्टतालाई परिस्थिति अनुसार स्वतः समायोजन गर्ने अपेक्षा गरिएको छ।
अर्को टिजरले सामसुङको लोकप्रिय नाइटोग्राफी (Nightography) फिचरमा सम्भावित सुधारको सङ्केत गरेको छ। यदि यसमा अपग्रेड गरिएको छ भने, कम प्रकाशमा खिचिने तस्बिर तथा भिडियोको गुणस्तर अझ उन्नत हुने अनुमान गरिएको छ।
यसपटक सबैभन्दा चासो जगाएको विषय भनेको एआई–संचालित अन-स्क्रिन प्राइभेसी हो। उन्नत डिस्प्ले प्रविधि र अन–डिभाइस इन्टेलिजेन्सको संयोजनमार्फत सार्वजनिक स्थानमा स्क्रिन प्रयोग गर्दा संवेदनशील सामग्रीलाई सुरक्षित राख्ने नयाँ प्रविधि आउन सक्ने चर्चा छ। यसले प्रयोगकर्ताको गोपनीयता संरक्षणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
नेपालमा ग्यालेक्सी फ्ल्यागसिप शृङ्खलाको सफलतापछि सामसुङले स्थानीय बजारमा पनि नवप्रवर्तनलाई निरन्तरता दिने रणनीति लिएको देखिन्छ। कम्पनीले दैनिक प्रयोगलाई अझ स्मार्ट, सहज र सुरक्षित बनाउने दिशामा ध्यान केन्द्रित गरेको अनुमान गरिएको छ।
यद्यपि औपचारिक घोषणा हुन बाँकी नै छ, सामसुङ नेपालको पछिल्ला टिजरहरूले चाँडै नै नयाँ प्रविधि सार्वजनिक हुने सङ्केत दिएका छन्। अब सबैको ध्यान कम्पनीले गर्ने औपचारिक अनावरणतर्फ केन्द्रित भएको छ।
वि.सं.२०८२ माघ २९ बिहीवार १३:१९ मा प्रकाशित




























